ब्लगबिहीबार, बैशाख २६, २०७०

पर्दामा आमा बन्दा

haribansha acharya

सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें ।

त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो । दोहोरीमा केटा र केटी हुनुपर्नेमा मैले बूढा–बूढी राखौं भनेर प्रस्ताव गरें ।

मदन दाइले बूढाको स्वरमा गाउनुभयो, मैले बाल्यकालदेखि साँचेर राखेको त्यही छिमेकी आमैको स्वरले गाएँ । पछि सुन्दा गजब लाग्यो ।

त्यही दोहोरी गीतमा बूढीआमै बनेर मञ्चमा नाच्दा सबैले मन पराए । मेरो जीउडाल अग्लो भएकाले साडी लगाउँदा ताल न बेतालको भकारी जस्तो देखिए पनि ढाड कुप्रो पार्दा बूढीआमै सुहाउँदो भयो ।

स्वर पनि बूढीआमैको बनाउँदा अझ् सुहायो । पछि त्यही गेटअपमा माओवादी सशस्त्र युद्धको कथा समेटेर गणेश रसिकको ‘घरबेटी आमा, आँगनमा देउ न मलाई बास…’ भन्ने पुरानो गीतको लयमा गाउँदा दर्शक रोएका थिए । गीत र नाचले मात्र चित्त नबुझेर पछि ‘आमा’ टेलिफिल्म नै बनायौं ।

त्यो सिरियलमा संविधानसभाको चुनावअघि मरेकी एक जना आमैले बल्ल–बल्ल नेपालमा आएको यस्तो ऐतिहासिक अवसरमा भोट खसाल्न फिर्ता जान पाऊँ भन्दै स्वर्गमा विद्रोह गर्छिन् ।

उनले ठूलो खल्लीबल्ली मच्चाएपछि सबै धर्मका देवताको बैठक बसेर संविधानसभाबारे सोधपुछ गर्छन् । एक भागको त्यो सिरियल संविधानसभा के हो भनेर नेपाली जनमानसलाई बुझाउन सफल भयो ।

पछि जातीय सद्भाव, सुव्यवस्था, शान्ति प्रक्रिया आदि कुरालाई समेटेर १५ भागको लामै सिरियल बनायौं, सबैले मन पराए । त्यसमा मेरो भूमिका बूढीआमाकै थियो ।

आमाको भूमिका गर्नु भने एकदमै कठिन थियो, जस्तो कि आमा हुन गाह्रो हुन्छ । भारतमा कमल हसनले महिलाको सजीव भूमिका गर्दा मिडियाहरूले धेरै चर्चा गरेका थिए ।

नेपालमा भने मिडियाको आँखा नै सानो भएकाले होला, मैले गरेको आमाको सार्थक भूमिकाबारे त्यति चर्चा भएन । एउटी महिला, त्यो पनि ८० वर्षकी आमाको ‘फिलिङ्स’सहित अभिनय गर्नु आफैंमा गाह्रो काम थियो ।

किनभने, हाउभाउ र अनुभव व्यक्त गर्ने आमाहरूको तरीकालाई उमेर र ठाउँले फरक पारिरहेको हुन्छ । एउटा सन्तान पाएकी शहरबजारकी उमेरदार आमाको अभिनय हो भने उति गाह्रो हुँदैनथ्यो होला ।

अथवा वृद्ध नै भए पनि शहरकी हुन् भने सेतो विग लगाए पुग्थ्यो होला । तर, गाउँकी बूढीआमैले ढुङ्ग्री, लाछा, बाह्रहाते गुन्यूँ लगाउँछिन् । मैले धेरैबेर ढुङ्ग्री लगाउँदा कान दुख्थ्यो ।

टाउकोमा विगसहित मेकअप गरेर दिनभरि छायाङ्कन गर्दा एकदम गाह्रो हुन्थ्यो । खिच्दा जति कुप्रो पर्‍यो उति राम्रो, तर ढाड दुखेर हैरान हुन्थें । लगातार दुख्न थालेपछि रु.१८ हजार खर्च गरेर स्क्यानिङ नै गर्नु पर्‍यो ।

तर, मेरो सिरियल हेरेका बूढीआमैहरूले समेत भेट्दा ‘कस्तो ठ्याक्कै गर्न सकेको’ भन्थे, मलाई ठूलो सन्तुष्टि मिल्थ्यो । मैले गरेको अभिनयमध्ये सबभन्दा राम्रो चरित्र पनि यही हो ।

निर्वाचन आयोगले हरेक पटक विज्ञापन बनाउँदा यही चरित्र खोज्छ। भर्खरै एउटा विज्ञापनमा पनि ‘आमा’ नै बनेको छु ।

सात वर्षको हुँदा बुबा र ११ वर्षमा आमा गुमाउनु परे पनि छिमेकी आमैले मलाई आमाको अभिनय गर्ने आधार बनाइदिइन्। बाल्यकालको छापले गर्दा आमाको भूमिका निर्वाह गर्न सफल भएँ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>