रमझमआइतबार, जेठ २१, २०६९

समृद्ध बन्दैछ नेपाली नाटक

हिमालखबर

गुरुकुलमा मञ्चन भएको 'अग्नीको कथा'मा सरिता गिरी र निशा शर्मा। तस्बीर:अनुशील

डम्बर शमशेरको नाति भएकाले बालकृष्ण समले सानैदेखि दरबारका नाट्यशालामा उर्दू, हिन्दी नाटकहरू हेर्न पाए। सम फगत राणाजी मात्र नभई नाट्य विधाका एक उम्दा प्रतिभा पनि भएकाले उनीभित्र मौलिक नेपाली नाटकको चाहना बढ्दै गयो। यसरी उनले १९९५ सालमा दरबार हाईस्कूलमा मञ्चन गरेको मुकुन्द-इन्दिरा नेपाली रङ्गमञ्चको इतिहासमा पहिलो आधुनिक नाटक हुनपुग्यो।

बालकृष्ण समले १९९५ सालमा दरबार हाईस्कूलमा मञ्चन गरेको मुकुन्द-इन्दिरा ।

त्यसबेला दरबार हाईस्कूलका विद्यार्थी रहेका संस्कृतिविद् सत्यमोहन जोशी समले गरेका विभिन्न प्रयोगहरूको नेपाली नाट्यकर्ममा अति महत्व रहेको बताउँछन्। १९९९ सालमा समले लेखेको ऊ मरेकी छैन मा मिथकको पुनर्व्याख्या र विनिर्माण छ। २००७ को स्वास्नीमान्छे नाटकमा स्वैरकल्पनाको बेजोड प्रयोग छ। समका रङ्गशिल्पलाई विद्यावारिधिको शोध बनाएकी डा. सावित्री मल्ल कक्षपति भन्छिन्, “समजीले नेपाली नाटकलाई विषयवस्तु र प्रस्तुतिको विविधतासँगै निरन्तर प्रयोगको परम्परा दिनुभएको छ।”

श्यामदास वैष्णब

प्रविधि नाटक
सामान्यतया स्थापित मान्यताहरूमाथि नयाँ आयाम थप्ने कार्यलाई प्रयोग मानिन्छ। प्रयोगवादी नेपाली नाटकमा विद्यावारिधि गरिरहेका अशोक थापाका भनाइमा, नवीन पक्षहरूको खोजबाट शास्त्रीय मान्यता तोड्नु प्रयोग हो। यस हिसाबले नेपाली नाट्यक्षेत्रमा नवीन धारणासहितको मञ्चनलाई प्रयोगशीलता भनेर बुझिन्छ।

आधुनिकता शुरू भएको साढे सात दशकको अवधिमा नेपाली रङ्गमञ्चमा अनगिन्ती नाट्यप्रस्तुतिहरू भएका छन्। यस बीचमा अनेकन् नाट्यशैली र धारहरू स्थापित भए। बालकृष्ण समपछि नेपाली नाटकमा प्रविधिमार्फत भिन्न धारको खोजी श्यामदास वैष्णवले गरे। नाट्यकर्मी वैष्णवले गीति नाटक, रेडियो नाटक र रेकर्डेड स्टेज नाटक आदिको नयाँ-नयाँ अभ्यास गरे। वैष्णव भन्छन्, “हाम्रो पालामा नाटकका नयाँ कुरा सिक्ने र हेर्ने ठाउँहरू दुर्लभ थिए, तर स्वाध्यायन र प्रयासबाट धेरै कुरा भए। प्रयोगका दृष्टिले नेपाली रङ्गमञ्च अहिले समृद्ध भइसकेको छ।”

विज्ञान नाटक
साहित्यकार तथा नाट्यकर्मी सरुभक्तले २०३५ सालमा युवा नाटक परिवार (युनाप) स्थापना गरेर पोखरामा कोलाज, गोलार्द्धको कालो आकाश, ताण्डव नृत्य र अजम्बरी भ्वाइलिन् लगायतका दर्जनौं प्रयोगधर्मी नाटकहरू प्रदर्शन गरे। चालीसको दशकमा अभिनय र निर्देशनमा सक्रिय सरुभक्तले सिरुमारानी, मलामी, वरै लगायतका

सरुभक्त

नाटकहरूमा लोक र आधुनिक नाट्यतत्वको फ्युजन गरे भने इतिहासभित्रको इतिहास मा शून्य वाद देखाए। नाटकमा यन्त्रमानवको प्रयोग गर्ने पनि सरुभक्त नै हुन्। इथर, निमावीय र असमय अमौसम जस्ता नाटकले नेपाली रङ्गमञ्चमा विज्ञान नाटकको सुरुआत भयो। नेपाली रङ्गमञ्चको इतिहास नै प्रयोगबाट विकसित भएको ठान्ने सरुभक्त भन्छन्, “नाटकलाई गति दिन प्रयोग रुचाइन्छ।”

सडक नाटक
आधुनिक नेपाली नाटकमा भएका प्रयोगहरूमध्ये सडक नाटक लाई सबभन्दा लोकप्रिय भन्दा अतिशयोक्ति हुँदैन। नेपालमा सडक नाटक शुरू गरेको श्रेय अशेष मल्ललाई जान्छ। उनले पहिलो पटक २०३९ सालमा हामी बसन्त खोजिरहेछौं सडक नाटक प्रस्तुत गरेका थिए। मल्लका धेरैजसो सडक नाटक राजनीतिक चेतका छन्। उनका स्टेज नाटकहरूमा प्रयोगवादको प्राधान्य छ।

सुनिल पोखरेल

सडक नाटक भारतमा नुक्कड नाटक, रूसमा ब्लु बुज थिएटर, जर्मनीमा वर्कस थिएटर र बेलायतमा रेड प्लेयर्स को नामले नेपालमा भन्दा अगाडि लोकप्रिय भएका थिए। मल्ल भन्छन्, “मितव्ययी नाटकको खोजीसँगै नेपालमा सडक नाटक आएको हो।”

कचहरी नाटक
२०५८ सालबाट सुनील पोखरेलले नेपाली रङ्गमञ्चमा कचहरी नाटक भित्र्याए, जसलाई पछिल्लो समयको उपलब्धि मान्न सकिन्छ। कचहरी नाटक खास गरेर स्थानीय जनताको समस्यामा केन्द्रित हुन्छ र यो चोक, आँगन जुनसुकै स्थानमा पनि मञ्चन गरिन्छ। कचहरी नाटकमा समाजका विभिन्न समस्याहरूलाई नाटकको विषय बनाएर कलाकार र दर्शकबीच विचार मन्थन गरेर समाधान खोजिन्छ।

नेपाली रङ्गमञ्चमा माथि उल्लिखित बाहेकका विभिन्न नाट्य प्रयोगहरू पनि हुँदैआएको देखिन्छ। कथा मञ्चन, निबन्ध मञ्चन, मल्टिमिडियाको प्रयोग, धारावाहिक नाटकको प्रयोग, लीलाप्रविधियुक्त, छायाँ नाटक आदि थप प्रयोगका उदाहरणहरू हुन्। समालोचक प्रा. केशवप्रसाद उपाध्याय भन्छन्, “तर, कुनै पनि प्रयोग राम्ररी स्थापित हुन कम्तीमा एकदशक लाग्छ।”
नेपाली नाटकको प्रयोगधर्मी परम्परामा २०५७ मा भित्रिएको आवाजरहित संकेत नाटकलाई पनि ज्योतिपुञ्ज साइन थिएटरले निरन्तरता दिएको छ। संकेत नाटकमा सांकेतिक भाषाको प्रयोगबाट कथानक बुझाइन्छ।

सडकदेखि सर्वनामसम्म

अशेष मल्ल


२०३२ सालमा तुँवालोले ढाकेको वस्ती नाटक लिएर काठमाडौं आएका धनकुटाका अशेष मल्ल एक महीनाको प्रदर्शनपछि यतै अडिए एमए पढ्न। पढाइसँगै मूर्दावादमा उठेका हातहरू, समाप्त असमाप्त लगायतका नाटक मञ्चनमा उनले अजेलिया रञ्जितकार, गोविन्दसिंह रावत, किशोर पहाडी, शान्ता शाक्य लगायतका साथीहरूले साथ पाए। पञ्चायतकालीन त्यो नाट्यकर्ममा अशेष प्रहरीको तारो पनि बनिरहे। तर, बीपी कोइरालाको विचारबाट प्रभावित अशेष रङ्गमञ्चलाई प्रजातन्त्रको पक्षमा उभ्याउने मिसन बनाएर अगाडि बढी रहे।

यसबीचमा २०३६ साल आयो जुन बेला भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल आदिले सडक कविता आन्दोलन शुरू गरे। त्यसमा अशेषले कविताहरूलाई मञ्चन गरे। यही क्रममा उनले २०३८ चैतमा सर्वनाम नाट्य समूह खोले। त्यो बेला नाटक खर्चिलो विधामा पर्थ्यो। अशेषले काठमाडौंमा बाँच्न परिवार नियोजनदेखि प्राकृतिक प्रकोपसम्मका विकासे नाटकहरू मञ्चन गरे। त्यसबेला उनी खुला चौरमा नाटकहरू मञ्चन गर्थे, तर ती सडक नाटक थिएनन्। अशेष भन्छन्, “यसपछि नै मेरो दिमागमा सडक नाटकको अवधारणा आयो र कीर्तिपुरमा हामी वसन्त खोजिरहेछौं मञ्चन गरें।”

आज सडक नाटक नेपाली रङ्गमञ्चमा एउटा सार्थक विधा बनेको छ। साढे तीन दशक लामो नाट्ययात्रामा उनले धेरै उतारचढाव भोगे। उनीसँग धेरै रङ्गकर्मीहरू जोडिए र छुट्टिए पनि। अशेष भन्छन्, “अहिले दुःख गरेर सर्वनाम नाटकघर बनाएका छौं। यसमा सबै रङ्गकर्मीका नाटक निरन्तर भइरहोस्।”

-कृष्ण शाह यात्री

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>