रमझमशनिबार, बैशाख २८, २०७०
परम्परागत गीतसंगीतमा झुमा
संगीतमा अम्मर गुरुङ र चण्डी काफ्लेकी यी चेली भन्छिन्, “खासमा म आफ्नै जातीको परम्परागत संगीतको अन्वेषणमा थिएँ ।” टिपीकल नेपाली गीतमा उच्च गायकीको लागि प्रशंसित झुमा अम्बर गुरुङको एकल संगीतमा संयोजन भइसकेको अल्वमको तयारी छाडेर यता लागेकी थिइन् । खासाम मा उनले लिम्बू भाषाका गीतहरुलाई त्यही मौलिकतामा गाएकी छन्, अरुले जस्तो मुलधारको नेपाली संगीतमा नजोडी । त्यसो गर्दा मौलिक मेलोडी र मर्म जोगीएको उनले बताईन् ।
खासाम को अर्थ सभ्यता हो । यो अल्वम उनले लामै अध्ययन, अनुसन्धान पछि तयार गरेकी छन् । यसमा पालाम, हाक्पारे, ख्याली जस्ता मौलिक भाकादेखि लिम्वु समुदायको जन्मदेखि मृत्युसम्मको संस्कारका लयहरु छन् । यसलाई उनी ठेट नेपाली लय भन्न मन पराउछिन्, किनभने यी नेपालभित्रका नेपाली सम्पदा हुन् ।
किरात जनजीवनमा लयको अहम् भूमिका हुन्छ । खासामले लिम्वु वस्तीका चौतारा र बिसौनीहरुका संगीतसंगै मुन्धुमको लय समातेको छ । मृत्युपछि आत्मा अतृप्त भएर दुःख नपाओस्न,देओस् भनेर गाइने साम्सोधा मुन्धुम, शोक गीत सिमेरीङ जस्ता लिम्बु सभ्यताका गीतसंगीत खासाम मा छन् । ताप्लेजुङ ढुंगेसाघुकी यी झुमाले तेह्रथुमतिरका फेदाप्पे, पाचथर–इलामतिरका चारखोले र ताप्लेजुङतिरको तम्मरखोले पालामहरु गाएकी छन् । लिम्बू जातिको सांस्कृतिक–सांगीतिक सुगन्धमा अरु केही नमिसाई जस्ताको तस्तै उतार्ने कोसिस गरेको उनले बताईन् । नया“ पुस्ताको निम्ती यो नेपालको इन्द्रेनी सभ्यताको अभिलेख हुने उनको धारणा छ ।
अल्वमका सबै गीतमा टयाम्कोली, दमाहा, यलम्बर बाजा, एकतारे, पात बाजा, च्याब्रुङ, झ्याम्टा, विनायो, बासुरी बजाईएको छ । शास्त्रीय गायनकी विद्यार्थी झुमाले आफुलाई मुन्धुमका जानिफकार यासेली योङहाङले संस्कृतीको गहिराईमा पुग्न सघाएको खुलाईन् । उनी भन्छिन्, “संगीत क्षेत्रमा लागेकी मलाई बल्ल केहि अर्थपुर्ण काम गरेँजस्तो लागेको छ ।”
-ऋषिराम कट्टेल