अर्थ/बजारआइतबार, बैशाख २९, २०७०
पत्याएनन्, बाँसको जस्ता
बाँसको मान्द्रोबाट जस्ताको जस्तै छाना बनाउन झपा चन्द्रगढी–३ मा ६ वर्षअघि खुलेको बाँस कारखाना ६ महीनादेखि बन्द छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ह्याबिटाट इन्टरन्यासनल’ को रु.५ करोड र गैरसरकारी संस्था सहारा नेपालको रु.३ करोड गरी रु.८ करोडमा खुलेको यो उद्योग उत्पादन बिक्री नभएर बन्द भएको हो ।
बाँस खेती गर्ने किसान र कारखानामा काम गर्ने मजदूर गरी दुई हजार जनालाई रोजगारी दिलाउने महत्वाकांक्षा राखेर कारखानामा लगानी गरेको सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्र गिरी भन्छन्, “बाँसका उत्पादन वातावरण मैत्री भएको र बाँसलाई काठ र जस्ताको विकल्पमा प्रयोग गर्न सकिन्छ भनेर उपभोक्तालाई बुझाउन सकिएन ।”
चीन, भियतनाम, कम्बोडिया र भारतका कतिपय ठाउँका घरमा बासको यस्तै छानो प्रयोग भए पनि झपाका उपभोक्ताले जस्ताभन्दा केही महँगो पर्ने यो नयाँ वस्तुलाई विश्वास गरेनन् । रंग नलगाएको जस्ताको प्रति स्क्वायर फिट रु.११०, रंगीनको प्रति स्क्वायर फिट रु.१२५ पर्नेमा बाँसको छानालाई प्रति स्क्वायर फिट रु.१३५ पर्छ ।
बाँसका जस्ता बिक्री नभएर थन्किएपछि बाँसका सजावट सामग्री, कपाल बाँध्ने चिम्टी, पेपर वेटर, ट्रे, पेनदानी, झयाल र ढोका बनाएर कारखानालाई पुनर्जीवन दिने योजनामा रहेका सहारा नेपालका प्रबन्ध निर्देशक गिरी भन्छन्, “पहिलो उत्पादनले बजार नपाए पनि हामी हारेका छैनौं, चल्ने उत्पादन लिएर बजारमा आउनेछौं ।”
बाँसको यो नयाँ उत्पादनले बजार पाउने विश्वासमा सहारा नेपालले झापाका पाँचवटा सामुदायिक वन समितिलाई दशहजार बाँसका बिरुवा वितरण गरेको थियो ।
बन्द हुनुअघिसम्म कारखानाले किसानले बनाएको मान्द्रो किन्थ्यो । चारवटा मान्द्रो खप्ट्याई त्यसमा ‘रेजिनझेल’ लेपन गरेर सुक्खा बनाई एकसय ५२ डिग्री तापक्रममा मेसिनमा तताएपछि बाँसको जस्ता बन्थ्यो ।
जसलाई जस्ता जस्तै बनाउन खोल्साको आकार दिने अर्को मेशिनमा पेलिन्थ्यो । यस्तो जस्ताको छानाले २५ वर्ष घामपानी थेग्न सक्ने भए पनि उपभोक्ताले नपत्याएको सहारा नेपालका प्रबन्ध निर्देशक गिरी बताउँछन् ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
