टिप्पणीआइतबार, बैशाख २९, २०७०
आयोजनाहरु केवल ‘कागजी गौरव’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘राष्ट्रिय गौरवका आयोजनाको अनलाइन मोनिटरिङ गर्ने कम्प्युटरी प्रणाली विकास गरेको’ जनाउ गोरखापत्र मा छापिएको २२ वैशाख एक महीना पुग्यो ।
कम्प्युटरले हेरेपछि पुगिहाल्छ भन्ने उत्तरआधुनिक अभिप्रेरणाले होला, सरकारले यी आयोजनाहरूमा प्रमुख चाहिं राखेनछ ।
१७ वटा ‘राष्ट्रिय गौरव’का आयोजनामध्ये सिक्टा सिंचाइ र बूढीगण्डकी जलविद्युत् बाहेक अरूलाई कामु या निमित्तले जेनतेन धानिरहेका छन् । उनीहरूले महत्वपूर्ण निर्णय गर्न नसक्दा ती आयोजनाहरूले आशा जगाउन सकिरहेका छैनन् ।
जलविद्युत्, सिंचाइ, खानेपानी, सडक, विमानस्थल र रेलमार्ग सम्बन्धी बढी लागतका आयोजनाहरूलाई ‘राष्ट्रिय गौरव’को सूचीमा राखिएको छ ।
राष्ट्रिय विकास र समृद्धिको कार्ययोजना—२०६९ लागू हुँदा ‘राष्ट्रिय गौरव’ को पगरी पाएका यी आयोजनाहरूमा पैसाको दुःख हुन नदिने ताजा प्रतिबद्धता प्रधानन्यायाधीश नेतृत्वको सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले २७ चैतमा जनाएका छन् ।
नगद ओइराउँदैमा विकास आयोजनाहरू सफल हुँदैनन् भन्ने फालाफाल उदाहरण आफ्नो ठाउँमा छँदैछन् ।
गर्दा हुने आयोजना
सिंचाइ अन्तर्गत सिक्टा, रानीजमरा, कुलरिया र बबईलाई सुनिरहुँ जस्तो लाग्ने ‘राष्ट्रिय गौरवको आयोजना’ भनिएको छ । यी मध्ये सिक्टा सिंचाइ २०३२ सालबाटै शुरू भएको आयोजना हो ।
धन्न, २०६१ सालमा उदाएका ‘देखिने राजा’लाई यो आयोजना पंचायतको मानसपुत्र जस्तो लागेर डरपोक कर्मचारी तहलाई ‘नडराइ’ अगाडि बढ्न आदेश दिएकाले सिक्टामा राम्रैसँग बजेट बग्न पायो । करीब चार दशक लामो यात्रामा सिक्टाको रु.७ अर्ब ४४ करोड ७६ लाख अनुमानित लागत बढेर रु.१२ अर्ब ८० करोड पुगेको छ ।
यो आयोजनामा असंख्य नेताजी, गणित सिंचाइमन्त्री, सचिव, सह–सचिव र महानिर्देशकज्यूहरूले आ–आफ्ना कारिन्दा–कार्यकर्तालाई रोजगारीको सुअवसर दिएका छन् । सिक्टाको काठमाडौंस्थित युनिट कार्यालयले नै पनि एकाध सय होनहारलाई ‘पौरखी’ बनाएको छ । सिक्टाले अझै गर्न नसकेको चाहिं बाँकेका खेत हराभरा पार्ने काम मात्र हो ।
दुई दशक समय कम भएर होला, मेलम्ची आयोजना पनि काठमाडौं र सिन्धुपाल्चोकवासीका लागि गौरव गर्न लायक बनेको छैन । चिनियाँ ठेकेदारहरू ‘जोगीको घरमा सन्न्यासी पाहुना’ भएकाले २८ किलोमिटर सुरुङ खन्नुपर्ने यो आयोजना चार किमीको अँध्यारोमा हराएको छ ।
भोलिदेखि नै देश झिलीमिली होला झैं गरी शुरू गरिएको माथिल्लो तामाकोशी, बूढीगण्डकी र पश्चिम सेती जलविद्युत् आयोजना पनि ‘भट्मास खाएकी बुहारी’ जस्ता भएका छन् । माथिल्लो तामाकोशीमा तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टले खुबै चुरीफुरी देखाएका थिए ।
यो आयोजनाका लागि बिष्टले अहोरात्र पसिना बगाइरहेको खबरको मूल त्यतिबेलाका छापाहरूमा फुटेको थियो । बूढीगण्डकीको चर्चा चाहिं बाबुराम भट्टराईले आफ्नै ‘श्री हनुमानजी’लाई त्यसको प्रमुख बनाएपछि भसक्कै सेलाएको छ ।
सडकमा मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, फास्ट ट्रयाक र तीनवटा उत्तर–दक्षिण करिडरलाई ‘राष्ट्रिय गौरवको आयोजना’ भनिएको छ । …………. को …………. लाई …………… को ……….. सँग जोड्ने मध्यपहाडी लोकमार्गमा १० वटा ठूला ‘सिटी’ पनि बसाउने भनिएको छ ।
यो लोकमार्गको धेरै भागमा डोजरले हिउँदे ‘ट्रयाक’ पनि खोलेको छ, हरेक बर्खामा बाढीपहिरोलाई सजिलो पार्ने गरी । सजिलो जग्गाविज्ञहरूलाई पनि भएको छ । उनीहरू लोकमार्गले छोएको गाउँ–गाउँ पुगेर ‘जतासुकै घडेरी, घरैभरी सटर’ नारा कार्यान्वयन गरिरहेका छन् । उनीहरूको सफलतासँगै भावी शहरहरू काठमाडौंजस्तै भद्रगोल बन्नेछन् ।
सरकारले बाराको निजगढ, रूपन्देहीको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि ‘राष्ट्रिय गौरव’को आयोजना भनेर प्रचार गरेको छ । भारत र चीन हेरेर फर्केलगत्तै १८ वैशाखमा भाषण ठोक्न इटहरी पुगेका माओवादी अध्यक्ष पुष्पकमल दहालले पूर्वाञ्चलमा अर्को एकथान अन्तर्राष्ट्रिय विमानस्थल थपिदिएका छन् ।
दाहालले भोलि कुर्सी पाएभने त्यो पनि ‘गौरव’ को सूचीमा चढ्ला । र, चढाउलान् पनि, किनभने यी सब हामी नेपालीले पूरा गर्न सक्ने र सक्नै पर्ने सपना हुन् । खानेपानी, सिंचाइ, सडक, बिजुली, विमानस्थल लगायतका नेपाली आयोजनाहरूलाई थरीथरीका सरकारले बनाउन झेली कार्यान्वयन गरेकाले मात्र नेपालीले पूरा गर्न नसकेका हुन् । योजना बनाएर देशले गर्व गर्न सक्ने गरी कार्यान्वयन गर्नेहरूको जय होस् ।