Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
छैन चैन - Himalkhabar.com

अर्थ/बजारसोमबार, बैशाख ३०, २०७०

छैन चैन

हिमालखबर

नटराज कलेक्सन रुपैडिहाका महेन्द्रकुमार जयसवाल ।

मीना शर्मा

माओवादी हिंसात्मक द्वन्द्वबाट पिल्सिएर सीमावर्ती भारतीय शहरहरूमा पलायन भएका नेपाली व्यापारीमध्ये धेरैले राम्रो प्रगति गरेका छन् । तिनैमध्ये पर्छन्, अहिले रूपैडिहामा जमेका अनिल अग्रवाल (४३) र महेन्द्रकुमार जयसवाल (४८) को परिवार । नेपालगञ्जमा राम्रै कारोबार गरिरहेका यी दुई परिवार हिंसाको चपेटाबाट थप ध्वस्त नहुन रूपैडिहा गएर लगभग शून्यबाट काम थालेका थिए ।

अहिले उनीहरूले करोडौंको व्यापार र पूँजी बनाएका छन् । पहिले उद्योगमा रहेको अग्रवाल परिवार अहिले जयसवाल जस्तै ट्रेडिङमा जमेको छ ।

यो प्रगतिका बीचमा उनीहरू सन्तुष्ट भने छैनन् । आर्थिक प्रगति भए पनि एकातिर उनीहरूले सुरक्षित महसूस गर्न सकेका छैनन् भने, अर्कोतिर पाँच किलोमिटरको दूरीमा आफ्नै शहर नेपालगञ्ज छ । त्यसमाथि, रूपैडिहामा उनीहरूलाई समृद्ध बनाउने ग्राहक नेपाली नै हुन्, जसलाई नेपालगञ्जमै किनमेल गराउने सम्भावना छँदैछ । दुवै परिवार सकेसम्म चाँडो नेपालगञ्ज फर्किन चाहन्छन्, तर नेपालको लम्बिंदो राजनीतिक संक्रमणले बढाएको चन्दा असुली र बन्द–हडतालबाट त्रस्त छन् ।

अग्रवाल परिवार

रुपैडिहास्थित शान्तिस्टोरका सञ्चालक अनिल अग्रवाल, व्यापारमा ब्यस्त ।

नेपालगञ्जमा जय नेपाल आयल मिल सञ्चालन गरिरहेको अनिल अग्रवालको परिवारले २०४८ सालमा सुर्खेतमा तेल पठाएका व्यक्तिको हत्या भएपछि कारोबारमा कठिनाइहरूको सामना गर्नुपर्‍यो ।

२०४९ सालमा भारतको रूपैडिहामा पनि भारु ७५ हजारको किराना पसल थालेका अग्रवाल परिवारले माओवादी द्वन्द्व शुरू भएपछि नेपालगञ्जको व्यापारमा रु.६० लाख गुमायो । त्यसबाट निराश भएर रूपैडिहा पलायन भएको यो परिवारको शान्ति स्टोरमा अहिले सहयोगी नै ४३ जना छन् ।

परिवारका जेठा छोरा अनिल अग्रवाल भन्छन्, “नेपागञ्जमा डुबेको ६० लाख नयाँ व्यापारबाट धेरै अघि उठाइसक्यौं, तर द्वन्द्वकाल सकिएर पनि फर्कन सकेका छैनौं ।”

रूपैडिहाको स्टेशन रोडमा अग्रवाल परिवारले सञ्चालन गरेको शान्ति स्टोरमा ९५ प्रतिशत ग्राहक नेपाली नै हुन्छन् । अहिले भारु ४ करोडका मालिक बनेका अनिल रूपैडिहामा नेपाली ग्राहककै कारण व्यापार फस्टाएको बताउँछन् । द्वन्द्व र बन्द–हडतालको मारमा परेको बेला नेपालगञ्ज नछाडेको भए अहिले आफ्नो कारोबारको नामोनिसान नहुने बताउँदै अनिल भन्छन्, “तर, यो स्टोर नेपालगञ्जमा भएको भए अर्कै सन्तुष्टि हुनेथियो ।”

किराना सामानबाट शुरू भएको शान्ति स्टोरमा कपडा, खाद्यान्न लगायतका घरायसी सामान र निर्माणका सामग्रीको थोक र खुद्रा कारोबार हुन्छ । सबै सामान एकैठाउँमा पाएपछि नेपाली ग्राहक आफ्नो स्टोरमा एकीकृत भएको उनी बताउँछन् ।

अग्रवाल परिवारले भाडामा बसेको घरजग्गालाई आगामी २०८३ सालसम्मको लागि लिजमा लिएका छन् । “हामी नेपालमा राजनीतिक स्थिरताको पर्खाइमा छौं”, अनिल भन्छन्, “त्यो हुनासाथ जुनसुकै बेला व्यापार आफ्नै देशमा सार्छौं ।”

अनिल भारतमा सामान सस्तो हुने ठानेर रूपैडिहामा ओइरिने नेपाली ग्राहकलाई नेपालगञ्जमै रोक्ने उपाय खोजिरहेका छन् । मूल्यको एकरूपता र सबै थोकको प्राप्यताबाट त्यसो गर्न सकिने उनले सोचेका छन् । यी कुराका साथै बन्द–हड्ताल र चन्दा असुली नहुने हो भने नेपालगञ्जमा व्यापार राम्ररी चल्ने उनको धारणा छ ।

रूपैडिहा आउँदाजाँदाको भाडा, समय र अन्य झ्ञ्झ्टको हिसाब गर्ने हो भने नेपालगञ्ज कता हो कता सस्तो हुने उनी बताउँछन् । “नेपालमा भारतीय उत्पादन १० प्रतिशत महँगो भए पनि बहुराष्ट्रिय कम्पनीका सामान सस्तो हुन्छ”, अनिल भन्छन्, “भारतमा सस्तो पर्छ भन्ने मानसिकतामा परिवर्तन ल्याउन पनि हामी नेपालगञ्जमै डिपार्टमेन्टल स्टोर चलाउन चाहन्छौं ।”

जयसवाल परिवार

माओवादी द्वन्द्वको समयमा रु.२८ डुबेपछि २०६० मा रूपैडिहा हिंडेका महेन्द्रकुमार जयसवाल यहाँ पनि त्यो समस्याबाट जोगिएनन् ।

रूपैडिहाको व्यापारले उनलाई उकास्न त उकासेकै छ, तर ढुक्कले काम गर्न नपाएको उनले बताए । “जहाँ सामान पठायो माओवादीले कब्जा गरी ‘पैसा देऊ कामदार फिर्ता लैजाऊ’ भन्दै हैरान पारेका थिए”, जयसवाल भन्छन्, “यहाँ पनि तीन वर्षअघि गोदाममा आगो लगाएर भारु २२ लाखको कपडा जलाइदिए ।”

नेपालगञ्जमा रहँदा उनी कोकाकोला, टुबोर्ग, काल्सवर्ग, भोड्का, चाउचाउ लगायतका सामानको डिलर थिए । त्यो व्यापार डुबेपछि पलायन भएका उनी अहिले नटराज कलेक्सन्सका मालिक छन् ।

गोदाममा कसले आगो लगाइदियो भन्ने थाहा भए पनि यहीं बसेर व्यापार गर्नुपर्ने भएकाले स्थानीयसँग दुश्मनी मोल्न नसकेको पीडा जयसवालले सुनाए । “रूपैडिहा व्यापारको हिसाबले राम्रो भए पनि बाहिरिया भनेर हेप्छन्”, जयसवाल भन्छन्, “अनावश्यक रूपमा उचो स्वर सुनाउँछन् ।”

आफ्नो पसलमा आउने ९९ प्रतिशत ग्राहक नेपाली भएकाले तिनैका लागि नेपालगञ्ज फर्केर व्यापार गर्न चाहेको उनले बताए । सात लाख भारुबाट शुरू भएको उनको कलेक्सन्समा अहिले करोड हाराहारीको सामान छ । रूपैडिहामा नेपाली ग्राहकका कारण आफूहरूको व्यापार राम्रो भए पनि स्थानीय व्यापारीको व्यापार नराम्रो भएको असरस्वरूप हिंसाको शिकार हुनुपरेको जयसवालको अनुभव छ ।

१० कामदारका साथ कपडाको थोक र खुद्रा व्यापार गरिरहेका जयसवाल मध्य र सुदूरपश्चिमका सबै जिल्लामा सामान पठाउने गरेको बताउँछन् । “ती ठाउँका ग्राहकलाई सम्झ्ँदा आजै नभए भोलि नै नेपालगञ्ज फक्र्यौं जस्तो लाग्छ”, उनले भने ।

अबको दुई वर्षभित्र नेपाल फर्कने योजनामा रहेका जयसवाल पनि भारतमा सामान सस्तो पर्छ भन्ने नेपालीको सोच भ्रम मात्र भएको बताउँछन् । नेपालको राजनीतिक अवस्था सम्झ्ँदा भने जयसवालको टाउको दुखेर आउँछ । कम पढेका र योजना नभएका व्यक्तिहरूको हातमा परेर देश बिग्रिएको भन्दै उनले आक्रोश व्यक्त गरे, “त्यसको मारमा हामी काम गर्ने मानिसहरू परेका छौं ।”

उनका अनुसार, भारतमा सस्तो पाइने भनेको खाद्यन्न र काँचो कपडा मात्र हो । घ्यू, ल्वाङ, सुकुमेल, मिठाई, बिस्कुट र बहुराष्ट्रिय कम्पनीका सबै सामान नेपालमा नै सस्तो हुने बताउँदै उनले नेपालीहरूले पैसाको हिसाब नजानेर मात्र भारतमा सस्तो पाइन्छ भनी ठानेको बताए ।

“जसले जे ठाने पनि सामान नेपालमै सस्तो हुन्छ”, जयसवाल भन्छन्, “नेपालको समस्या भनेको बन्द–हड्ताल र चन्दा असुली मात्र हो, त्यसलाई रोक्ने सरकार आउने बित्तिकै व्यापार उतै चल्छ, बेरोजगारी घट्छ र राष्ट्रिय अर्थतन्त्र बलियो हुन्छ । नेताहरूले खै सोचेको ?”

नेपालमा अझै उस्तै

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ ।

उद्योग–वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ द्वन्द्वको समयमा भारत पलायन भएका नेपाली व्यापारीहरू लामो राजनीतिक अस्थिरताका कारण स्वदेश फर्कन नसकेको बताउँछन् ।

उनले नेपालगञ्जमा घर भए पनि बाध्यतावश यहाँको कारोबार बन्द गरेर रूपैडिहा गएका व्यापारीले त्यहाँ भोगिरहेको पीडा आफूलाई थाहा भएको बताए ।

उनका अनुसार, रूपैडिहामा नेपाली व्यापारीहरूले निरन्तरको असुरक्षा र विदेशी हुनुको हेपाइ सहनु परेको छ । “उनीहरूको व्यापार पनि नेपालीकै कारण चलेको छ”, अध्यक्ष श्रेष्ठ भन्छन्, “त्यसबाट उत्पन्न स्थानीय व्यापारीको इष्र्याको शिकार भएका नेपाली व्यापारीहरू यतै फर्कन चाहन्छन्, तर यताको राजनीतिक अस्थिरता उस्तै छ ।”

नेपालमा राजनीतिक अस्थिरता लम्बिंदा यताका अरू व्यापारी पनि व्यापारका लागि भारतमा रकम जम्मा गर्न थालेको उद्योग वाणिज्य संघ नेपालगञ्जका निवर्तमान उपाध्यक्ष नन्दलाल वैश्यले बताए ।

नेपालगञ्जको नन्कुराम होलीराम थोक कपडा पसलका मालिक वैश्य भारतका नेपाली व्यापारीहरू विभिन्न कारणले यतै फर्कन खोजिरहे पनि नेपाली ग्राहकको भारतमा किनमेल मोह र नेपालको राजनीतिक अशान्तिका कारण यताका व्यापारीहरू उता जान चाहिरहेको बताउँछन् ।

१०० रूपैयाँभन्दा माथिको सामानमा भन्सार लगाउने र राजनीतिक अवस्थामा सुधार आउने हो भने नेपाली ग्राहक र व्यापारी दुवैले स्वदेशमा कारोबार गर्ने वैश्यको विश्लेषण छ । उनी भन्छन्, “अचम्म के छ भने, तेस्रो देशबाट नेपाल हुँदै भारत जाने सामान पनि नेपालीहरू उतै गएर किन्छन् ।”

उनका अनुसार, भारतीय व्यापारीहरू नेपाल आएर किनेको सामान रूपैडिहामा नेपालीलाई नै बेच्छन् । नेपाल आउने भारतीय सवारी साधनले सुविधा फारम भरे जस्तै उनीहरूले नेपालमा गरेको किनमेलको पनि फारम भराउने हो भने भन्सार नतिरी कति सामान जाँदो रहेछ भन्ने हिसाब निस्कने वैश्यले बताए ।

“सामान नेपाली बजारमै सस्तो हुन्छ भन्ने चेतना बढाउनु जरूरी छ”, वैश्य भन्छन्, “ठगीको कुरा गर्ने हो भने रूपैडिहामा एक किलोमा ९०० ग्राम मात्र हुन्छ । थानको काँचो कपडाको त कुरै नगर्नुस् ।”

हिमालको २९ बैशाख-५ जेठ अंकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>