टिप्पणीशुक्रबार, जेठ ३, २०७०
मदनको विरासत रोजौं
आगामी संविधानसभा निर्वाचनमा आफ्ना चुनावी मुद्दा लिएर सहभागी हुने दलबीच दुईपक्षीय र बहुपक्षीय गठबन्धन हुने संभावना छ ।
तर, मूल रूपमा भने दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र एकीकृत (माओवादी) बीचको पेचिलो द्वन्द्वले गठबन्धन निर्माणलाई प्रभावित पार्नेछ ।
विचार, राजनीति, संगठन र जनमत आदि सबैमा यी दुईबीच प्रतिस्पर्धा हुने हुँदा यो स्वाभाविक पनि हो ।
त्यसैले, एमाले वा एमाओवादीमध्ये एक रोज्न नेपाली कांग्रेस, अन्य वामघटक र मधेशवादी लगायतका सबै दल बाध्य हुनेछन् । बीचमा बस्न कोही पाउने छैनन् ।
घृणा, असहिष्णुता र घात/ प्रतिघातले विगत निर्वाचनमा बज्रपात बेहोर्न विवश एमालेका नेता र कार्यकर्ताहरू यो पटक एकता, पहलकदमी र सक्रियताबाट अब्बल हुन चाहन्छन् ।
मदन भण्डारीको विरासत र पुष्पकमल दाहालको हिरासत रोज्दा जनताको मत एमालेको पक्षमा पर्ने निश्चित छ । उपयोगितावाद, छलछाम, असहिष्णुता र हैकमवादको मार्ग–चित्रबाट प्रचण्डको हिरासत पुगिने हुनाले जनताको छनोटमा त्यो पर्ने कुरै आएन।
एमाले र एमाओवादीको तुलना
दुई पार्टीका दस्तावेजहरूको तुलनात्मक अध्ययन गर्ने हो भने बहुलवाद, लोकतन्त्र र शक्तिपृथकीकरणको सिद्धान्तमा एमाले र एमाओवादीबीचको फरक भेट्न गाह्रो पर्दैन ।
मानवअधिकारको रक्षा, आवधिक निर्वाचन, संविधानको सर्वोच्चता, विधिको शासन, वैधानिक प्रतिपक्ष र शान्तिप्रति एमालेको प्रतिबद्धतामा प्रश्नै उठ्दैन भने एमाओवादीका दस्तावेजहरू त्यसबारे मौन छन् ।
एमाले जनताको जनवादी अधिनायकत्व चाहन्छ भने एमाओवादी पार्टीको नोकरशाहीतन्त्र ।
बहुलवादको सट्टामा अधिनायकवाद, लोकतन्त्रको विकल्पमा उग्रवामपन्थी हैकमवाद, शक्तिपृथकीकरणको सिद्धान्तको विकल्पमा एक नेतामा शक्तिको अति केन्द्रीकरण एमाओवादीका सिद्धान्त हुन् ।
मानवअधिकारलाई मुलाको मुरली झै बजे बजाउने नत्र चपाउने उसको दोधारे चरित्र छ।
संविधानको सर्वोच्चता सट्टामा स्वेच्छाचारिता, विधिको होइन पार्टीको शासन, आवधिक निर्वाचनको विकल्पमा सत्ता कब्जा एमाओवादीका विश्वास हुन् ।
हिंसामा आफ्नो भविष्य देख्नु र वैधानिक प्रतिपक्षको अस्तित्व स्वीकार नगर्नु एमाओवादीका विशेषता हुन् । एमाओवादी सामाजिक सद्भावको साटो जातीय विद्वेषको आधारभूमि खडा गर्दैछ र क्षेत्रीय असन्तुलन निम्त्याउँदैछ ।
संकीर्णता रगतमै मिसिएकाले एमाओवादीको शब्दकोशमा लचकता कतै भेटिंदैन । प्रतिस्पर्धामा भविष्य नदेखेको उसले सत्ता कब्जालाई गायत्री मन्त्र बनाएको छ ।
छलछामलाई एमाओवादी नेताहरूले प्राणवायु बनाएका छन् । उत्प्रेरणा होइन बलजफ्ती, फरकमतको सम्मान होइन पर निन्दा, एकताका लागि इमान्दारी होइन भेदनीति मान्ने उसले शक्तिको स्रोत जनता पनि मान्दैन । त्यही भएर ऊ अझै जनआधारित कार्यकर्ता पार्टी बन्न सकेको छैन।
मदन भण्डारीको विरासत
मदन भण्डारीले राजनीतिमा निष्ठा र विनयलाई स्थान दिएर एमाले कार्यकर्तालाई दीक्षित तुल्याएका थिए । प्रचण्डले भने सस्तो लोकप्रियतालाई प्राथमिकता दिएका छन् ।
ढाँटको राजनीति बहुदलीय जनवादी संहिताभित्र नपर्ने हुँदा एमालेलाई संवेदनशील मुद्दामा खेल्नु छैन । एमाओवादी नेताहरू संवेदनशील मुद्दा उछाल्न ठेक्का पाए झै गर्छन् ।
त्यही भएर राष्ट्रकै जीवनलाई गाह्रो–अप्ठ्यारो पार्न सक्ने मुद्दामा एमाओवादी शक्ति आर्जनको सुन्दर अवसर देख्छ ।
त्यसैले यो चुनाव मदनको विरासत रक्षा गर्ने र प्रचण्डको हिरासत अरू बलियो बनाउनेबीचको द्वन्द्व हुनेछ । उग्रवामपन्थीसँग असावधान हुँदै खेलबाड गर्दा लोकतन्त्र, जनता र राष्ट्रकै लागि महँगो हुने अनुभव हामीले पाइसकेका छौं ।
भण्डारीको विरासतको रक्षा गर्न सक्दा मात्र उग्रवामपन्थी अधिनायकवादको खतरा टार्न सकिन्छ भन्ने बुझनुपर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
