Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दलालका भरमा खाडी पुग्ने चेलीहरूको बेहाल - Himalkhabar.com

रिपोर्टआइतबार, जेठ २१, २०६९

दलालका भरमा खाडी पुग्ने चेलीहरूको बेहाल

हिमालखबर

-सुशीला बुढाथोकी र मीना शर्मा

• साउदी अरब पुगेको ६ महीनापछि ५ माघ २०६८ मा काठमाडौं फर्केकी सुनसरी झुम्का-५ की किसुनवती सरदारलाई आउन नपाई सुत्केरी व्यथाले अस्पताल लैजानु पर्‍यो। दलालहरूले उनलाई गर्भवती नभएको झुठो मेडिकल रिपोर्ट बनाएर पठाएका थिए।

• अशोक राई नामको दलालद्वारा बलात्कृत ललितपुरकी शान्ति लामा (माथिको तस्बीर) ले कुबेतमा काम गर्दागर्दै छोरी पाएर गएको माघमै नेपाल फर्किनु पर्‍यो।

• घरेलु काम गर्न भदौमा साउदी अरब पुगेकी बागलुङ मल्म-६ की गंगा सुनारले १ फागुनमा आत्महत्या गरिन्। नक्कली पासपोर्टमा गएकीले काठमाडौंमा उनको शव बुझन पति सुरेशले प्रशस्त कानूनी झ्मेला बेहोर्नु पर्‍यो।

• चितवन भण्डारा-२ का तिलक थापाले मानसिक सन्तुलन गुमाएर २०६७ कात्तिकमा लेबनानबाट फर्केकी पत्नी विनिताको उपचारमा धेरै ऋण बोक्नु परेको छ।

• सोलुखुम्बु फाप्लुका रमन विक तीन वर्षअघि झापाकी रीता सुनार को पासपोर्टमा कुबेत गएकी पत्नी सन्तमायाको अवस्था बुझिदिन हारगुहार गरिरहेका छन्। श्रीमती फोनमा रुने गरेको सम्झ्ँदै उनी भन्छन्, “बसेको घरमा फोन गर्दा गइसकी भन्छन्, अब कहाँ खोज्नु?”

• सुर्खेत लाटीकोइली-९ की प्रेमा राना पाँच वर्ष घरभित्र बन्दी अवस्थामा काम गरेर २०६७ चैतमा लेबनानबाट रित्तोहात फर्किन्। प्रेमा भन्छिन्, “मलाई शेरबहादुर लामा भन्ने दलालले बेचेको रहेछ।”

दलालका भरमा खाडी पुग्ने महिलाका कथा-व्यथा देशैभरि छरिएका छन्। घरेलु कामदारको रूपमा खाडी जान चाहने महिलालाई त्यता पठाउन दैनिक सयौं दलाल श्रम विभागको कोठाचोटा गर्छन्। पहिला अवैध रूपमा भिजिट भीसा वा तेस्रो मुलुक हुँदै पठाउनेहरू अहिले वैध रूपमा व्यक्तिगत श्रम स्वीकृति मा पठाउँदै छन्। उनीहरू केसम्म गर्छन् भन्ने कुरा काठमाडौं कमलपोखरीको एउटा घरमा नरबहादुर खड्काले थुनेर राखेका ६ महिलाको ८ वैशाखमा भएको उद्धारले देखाउँछ। पत्नीको खोजी गर्दै काठमाडौं आएका झापा तोपगाछी-३ का नारायणप्रसाद न्यौपानेले प्रहरी गुहारेपछि तिनको उद्धार भएको थियो।

हिंसाको डरलाग्दो रूप
अरूकहाँ आश्रय लिइरहेकी शान्ति लामाका अनुसार अशोक राईले उनलाई कोठामा बोलाई जबरजस्ती गरेर कसैलाई नभने छिट्टै विदेश पठाइदिने आश्वासन दिएका थिए। यसरी कुबेत पुगेर मालिककहाँ काम गर्दागर्दै सुत्केरी भएकी शान्ति १६ दिनकी छोरीसहित नेपाल फर्किन्। “अशोकले कहिलेकाहीं फोन गर्छ र छोरी मेरै हो भन्छ, भेट्दैन”, उनी भन्छिन्, “खोज्दै हिंड्न सक्दिनँ।”

गएको कात्तिकमा साउदी अरबमा कपिलवस्तुकी एक घरेलु कामदार सामूहिक बलात्कारपछि नेपाली दूतावास नजिकै फालिएकी थिइन्। झापाकी कुमारी दाहाल र विराटनगरकी वेदमाया कार्की केही महिनाअघि साउदी अरबबाट अर्धचेत अवस्थामा नेपाल आइपुगे। अवैध रूपमा बसेका विदेशीलाई फर्काउन कुबेतले जून २०११ मा आममाफी दिंदा सम्पर्कमा आएका १३०० नेपालीमध्ये १५ जनासँग बाबुविहीन बालबालिका छन्। यी महिलाको अवस्थाले वैदेशिक रोजगारीको नाममा नेपाली महिलाको यौन शोषणको चित्र देखाउँछ।

आफूमाथि आइलागेको समस्या बाहिर ल्याउन नसक्ने वर्गका यी महिलाको अवस्था कतिसम्म भयावह छ भने उनीहरू मर्ने, मारिने र हराउनेमा नपरेकोमा भाग्यमानी ठान्छन्। २०६८ जेठमा कुबेत पुगेकी गोर्खाकी दुर्गा चुनारालाई मालिकले पिटेर फालिदिएका थिए। प्रहरीको सहयोगमा दुई दिन अस्पताल र एक महीना नेपाली दूतावासमा बिताएकी उनी २२ भदौमा नेपाल फर्किन्। काठमाडौं विमानस्थलमा ओर्लंदा उनको खुट्टामा चप्पलसम्म थिएन। दुर्गा भन्छिन्, “धन्न, जिउँदै आउन पाइयो। कुबेतमा त दुश्मन पनि नजाओस्।”

कमजोर सामाजिक-आर्थिक अवस्थाका यस्ता धेरै महिला रहर, बाध्यता र दलालहरूको उक्साहटमा व्यक्तिगत भीसामा घरेलु कामदार बनेर खाडी मुलुक जान्छन्र अधिकांश कहालीलाग्दो समस्या बोकेर फर्किन्छन्। दलाललाई रु.४० हजार बुझाएर २०६८ साउनमा दुबई गएकी बाराकी मुना अधिकारी भन्छिन्, “बिहान ३ देखि राति ११ बजेसम्म काम गर्नुपर्थ्यो, ८०० दिनार (रु.१६,०००) तलब हुन्छ भनेकोमा ६०० मात्र दिए। भाग्यले फर्कन सकंे।”

वैदेशिक रोजगारीमा गएका महिलाको उद्धारमा क्रियाशील गैर-सरकारी संस्था पौरखीकी मञ्जु गुरुङ विदेशबाट पीडित भएर फर्केका महिला आफ्नै देशमा आइपुगेपछि पनि असुरक्षित हुनेगरेका बताउँछिन्। उनका अनुसार दैनिक सरदर १० जनाको संख्यामा आइपुग्ने ती महिला विमानस्थलमै ढुकेर बस्ने दलालहरूको जालमा परेर लुटिनेदेखि बन्धक यौनकर्मी बन्नेसम्मको जोखिममा पर्छन्। “कति महिलाको मानसिक अवस्था ठीक हुँदैन, जसले जता भन्यो उतै जान्छन्”, गुरुङ भन्छिन्, “कसैको पासपोर्ट र ठेगाना नक्कली हुँदा घरपरिवारलाई सम्पर्क गराउन गाह्रो हुन्छ।”

नेपालमा दैनिक वैदेशिक श्रम स्वीकृत लिने २००० जनामध्ये करीब १५० महिला हुन्छन्। लैंगिक समानता र सशक्तीकरणका लागि राष्ट्रसंघीय निकाय युएन वुमनले गत वर्ष गरेको एक अध्ययन अनुसार, अहिले १११ नेपाली महिला कुबेत, साउदी अरब, मन र लेबनानका कारागारमा छन्। ८२ जनाले उतै आत्महत्या गरेका छन् भने ३१ बेपत्ता छन्। उद्धार गरेर नेपाल फर्काइएका २८२० मध्ये ४१५ मानसिक सन्तुलन गुमाएका, ८६ अनिच्छित गर्भ बोकेका र ३२ बालबच्चासहित आएका छन्।
कामको सामान्य जानकारी र जोखिम नबुझ्ी विदेशिने महिलाहरू को कहाँ कस्तो अवस्थामा छन् भन्ने जानकारी कसैलाई छैन। धेरैजसो डरलाग्दो यौनहिंसा र श्रमशोषणको शिकार बनेका छन्। कैयौं महिला हराएका छन्। वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेकामध्ये अधिकांश महिला साक्षर मात्र छन्। युएन वुमनकी कार्यक्रम विशेषज्ञ सरु जोशीका अनुसार खाडी मुलुक जाने नेपाली महिलाहरू भाषा, स्थानीय संस्कृति र काम नजानेर हिंसामा पर्छन्। हिंसामा परेर फर्कने कैयौं महिलाको परिवार आर्थिक, मानसिक संकटमा परेको र पारिवारिक जीवन ध्वस्त हुनपुगेको छ।

वैधानिकताको अलमल

वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिन श्रम विभागमा लामवद्ध महिला

वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार दलालले कानून विपरीत पठाउन थालेकाले सरकारले कानूनी दायरा र सरकारी रेकर्डमा ल्याउन व्यक्तिगत श्रम स्वीकृति दिन थालेको हो। तर, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ यसलाई समस्या पर्दा हेर्ने दायित्वबाट पन्छिने बहाना बताउँछन्। अन्य रोजगारीमा जाने व्यक्तिको लागि वैदेशिक रोजगार व्यवसायी संस्थाले विदेशी कम्पनी वा एजेन्सीसँग करार गरेका हुन्छन्। तर, व्यक्तिगत श्रम स्वीकृतिमा घरेलु काममा जाने महिलाले त्यस्तो करार आफैंले गर्ने र यसो गर्दा रोजगार व्यवसायीले जिम्मेवारी नलिने हुनाले महिलाहरू झ्न् असुरक्षित भएका छन्।

नेपालले इराक बाहेक खाडीका आठ देश इरान, कुबेत, साउदी अरब, युएई, कतार, मान, बहराइन र लेबनानमा वैदेशिक रोजगार खुला गरेको छ। यीमध्ये मन, बहराइन र लेबनान जस्ता दूतावास नभएका देशमा समेत व्यक्तिगत श्रम स्वीकृतिमा घरेलु कामदार पठाइएका छन्। वैदेशिक रोजगार सुधार उच्चस्तरीय कार्यदलका संयोजक डा. गणेश गुरुङ भएका दूतावास र नियोगमा पनि कर्मचारी तथा स्रोतसाधनको अभाव रहेको बताउँछन्। नेपाली नियोगहरूलाई कामदारको लाश ल्याउन समेत समस्या छ।

सरकारले ५००० भन्दा बढी कामदार पठाइएका मुलुकमा श्रम सहचारी नियुक्त गर्नुपर्नेमा राजनीतिक भागबण्डाको विवादले गर्नसकेको छैन। घरेलु काममा जाने धेरैजसो महिलाको दूतावासमा पहुँच हुँदैन। ठूलै घटना भएपछि मात्र उसले चाल पाउँछ र स्वदेश फर्काउन पहल गर्छ। यौन शोषण र शारीरिक-मानसिक यातनामा परेका, गर्भवती भएका वा छोराछोरी जन्मिएका महिला समेत त्यसै फर्किन बाध्य हुन्छन्।

घरेलु काममा जाने नेपाली कामदारलाई व्यवस्थित गर्न २०६७ मा ल्याइएको कार्यविधिले साउदी, युएई र कुबेतमा कामदार पठाउँदा उसले पाउने तलब, बीमा, रोजगारदाताको आर्थिक-सामाजिक अवस्था, कामदारको वासस्थान, सञ्चार सम्पर्क, सम्बन्धित निकायको सहमतिपत्र र उसको हकमा दूतावासले गर्नसक्ने कामको विवरण पेश गर्नुपर्ने मापदण्ड तोकेको छ। पछिल्लो समय तालिम र दूतावासको स्वीकृतिपत्र पनि खोज्न थालिएको छ। “तर, कार्यविधिले सामाजिक सुरक्षामा मात्रै ध्यान दिएकाले काम गर्न गाह्रो छ”, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तामाङ भन्छन्, “यसका लागि छुट्टै मापदण्ड चाहिन्छ।”

विभागका महानिर्देशक भट्टराई व्यवसायीहरू संस्थागत रूपमा महिला कामदार पठाउनै इच्छुक नभएको बताउँछन्। व्यवसायीहरूको भनाइ भने सरकारले कामदार पठाउने अनुमति नै दिन नचाहेको भन्ने छ। वैदेशिक रोजगार व्यवसायी संघकी केन्द्रीय सदस्य तथा जब ट्रयाक म्यानपावर कम्पनीकी संचालक आशा लामाले दुबईको लागि पटक-पटक अनुमति माग्दा संस्थागत प्रक्रिया शुरू नभएको भनेर पन्छाइएको बताइन्। उनी भन्छिन्, “सरकारले नियम-कानून लागू गरेर नराम्रालाई कारबाही र राम्रालाई प्रोत्साहन गर्नुपर्नेमा वैधानिकताको अलमल सिर्जना गरेको छ।”

पौरखीकी अध्यक्ष गुरुङ भने दलालमार्फत व्यक्तिगत स्वीकृतिमा पठाउँदा धेरै फाइदा हुनेहुँदा म्यानपावर कम्पनीले संस्थागत मागपत्र ल्याउनै नचाहेको बताउँछिन्। “दलालहरूले टिकट, खानेबस्ने र उपचार सुविधा छ भनेपछि चाँडै पैसा कमाउने चक्करमा परेका महिलाहरू सहजै जालमा फँस्छन् र रु.४०-५० हजार बुझाइहाल्छन्”, गुरुङ भन्छिन्, “कतिपय दिदीबहिनी अरूले दुःख पाएको सुनेर वा देखेर पनि आफू चाहिं राम्रो ठाउँमा परुँला भन्ने कामना गर्दै विदेशिन्छन्।”

सबैतिर असुरक्षित
सन् १९९८ मा कुबेत पुगेकी सिन्धुपाल्चोककी कानी शेर्पाले घरमालिकको यौन दुर्व्यवहार खप्न नसकेर आत्महत्या गरेकी थिइन्। खाडी जाने नेपाली महिलाको अवस्था अहिले पनि बदलिएको छैन। महिलाहरू संस्थागत वा व्यक्तिगत जुनसुकै रूपमा घरेलु काममा गए पनि सुरक्षित नहुने लेबनानको अनुभवले बताउँछ। सन् २००८-१० को बीचमा लेबनानमा घरेलु काममा गएका १९ नेपाली महिलाले आत्महत्या गरेका थिए। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले तीमध्ये १२ जना संस्थागत र सात जना व्यक्तिगत रूपमा गएको पाएको थियो। साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डे त लेबनान र खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारमा व्यक्तिगत श्रम स्वीकृति दिनै नहुने बताउँछन्।

आप्रवासी अधिकार सम्बन्धी सन्धि अनुमोदनको विश्वव्यापी अभियानले दुई वर्षअघि गरेको एक अध्ययनले खाडी मुलुकमा हरेक साता ४ देखि ६ र कुबेतमा दुई दिनमा एक घरेलु कामदारले आत्महत्या गर्ने गरेको देखाएको थियो। ह्युमन राइट वाचको विश्व प्रतिवेदन २०१० मा खाडी क्षेत्रमा कार्यरत अधिकांश विदेशी कामदारले श्रमशोषण, यातना र यौन आक्रमण सहनुपरेको उल्लेख छ। नेपाल राष्ट्रिय मानवअधिकार आयोगकी समाधिक्षक पद्मा माथेमा वैदेशिक रोजगारीका नाममा महिला बेचबिखनको नयाँ क्षेत्र खुलेको बताउँछिन्। “जानुअघि वैदेशिक रोजगार र गइसकेपछि बेचबिखन भएको छ”, माथेमा भन्छिन्।

खाडीमा कतिपय महिला कामदारलाई यौन शोषणकै लागि लैजाने गरिएको वैदेशिक रोजगार क्षेत्रका जानकारहरू बताउँछन्। पीडित महिलाले आत्महत्या गरेको, भाग्दा सामूहिक बलात्कार वा हत्या भएको र मालिकले बेपत्ता बनाएको समाचारहरू आइरहन्छन्। खाडीमा विशेषगरी साउदीको श्रम बजारको अवस्था नसुधि्रएकोमा कामदार पठाउने देशहरू असन्तुष्ट छन्। युनाइटेड अरब इमिरेट्सको अनलाइन समाचार साइट इमिरेट्स२४७डटकम का अनुसार, फिलिपिन्सले घरेलु कामदारको तलबवृद्धि, छुट्टै वासस्थान, निःशुल्क खाना, साथमै पासपोर्र्ट, दूतावाससँग नियमित सम्पर्क र स्वास्थ्योपचार जस्ता शर्त राखेको छ। इन्डोनेसिया र फिलिपिन्सले साउदीको अनुदार नीतिका कारण कामदार पठाउन छाडेपछि यता नेपालमा माग बढेको उच्चस्तरीय कार्यदलका संयोजक डा. गुरुङ बताउँछन्। “साउदीले ५००० महिला कामदार पठाए पुरुषको कोटा २० हजार बढाइदिने प्रस्ताव गरेको छ”, डा. गुरुङ भन्छन्।

घरेलु कामदारसँग सम्बन्धित कानूनी व्यवस्था नभएका खाडी मुलुकले त्यस्ता कामदार मालिकको अधीनमा रहने परम्परागत कफाला प्रणाली अपनाएका छन्, जसअनुसार कामदारले आफूखुशी मालिक फेर्न पाउँदैनन् भने मालिकले जेसुकै काम लगाउन, तलब रोक्न र पासपोर्ट जफत गर्नसम्म पाउँछन्; अत्याचार सहन नसकेेर भागेका कामदार स्वतः अवैध हुन्छन् र दलालको किनबेचमा पर्छन्। लेबनानमा नेपाली महिलाको आत्महत्याको छानबीन गरेको संसदीय समितिको प्रतिवेदनले लेबनान र खाडी मुलुकमा राम्रो काम र आकर्षक पारिश्रमिकका नाममा नेपाली महिलाहरूको बेचविखन तथा यौन उपयोग भइरहेको उल्लेख गरेको छ।

बिना तलब श्रम गर्नेहरूको पीडा बेग्लै छ। लेबनानमा त्यसै गर्न बाध्य प्रेमा भन्छिन्, “म शारीरिक रूपमा पीडित नभएकाले कसैले उद्धार गर्नुपरेन, तर मैले करार भन्दा बढी त्यसै काम गरेर किन बस्नुपर्‍यो भनेर कसैले सोधीखोजी गर्दैन।”

हत्या कि आत्महत्या?

ठोक्सिला-८ उदयपुरकी शान्ता परियार र कोवाङ-५ मुस्ताङकी लीला आचार्य लेबनानमा आत्महत्या गर्ने १९ महिलामध्ये हुन्। तीन वर्षअघि लेबनान पुगेकी अविवाहिता शान्ताले काम गरेकै ठाउँमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ। तर शान्ताका आफन्त रामचन्द्र सुन्दास भन्छन्, “घाँटीको देब्रेतिर डामेको दुई वटा दाग थिए।” उनको मृत्युबारे लेख्ने लेबनानी पत्रिका अल अखबार ले उनी बिजुलीको तारमा झुण्डिएको बताएको छ, आत्महत्या भनी किटेर लेखेको छैन।

लेबनान पुगेको डेढ महीनामै शारीरिक र मानसिक हिंसामा परेकी लीला आचार्यले घरमा फोन गरेर मालिकले कफिनमा हालेर फर्काउने धम्की दिएको बताएकी थिइन्। “म नराम्रो ठाउँमा परें, धेरै कुटपिट गरे भन्दै फोनमा रुनुहुन्थ्यो”, भाइ दिनेश आचार्य भन्छन्, “दिदीको उद्धार गर्न दुई लाख रुपैयाँ खोज्दै गर्दा मरेको खबर आयो।” झयालको पर्दा प्रयोग गरेर झुण्डिएको भनिए पनि उनको शव टाउको चिन्नै नसकिने गरी क्षतविक्षत भएको परिवार बताउँछ। घरेलु कामदारको मृत्युपछि आत्महत्या भनेर स्वदेश फर्काइने र नेपाली दूतावासको काम शव ल्याउनमा मात्र सीमित हुने गरेकाले उनीहरूले न्याय पाउने सम्भावना ज्यादै कम देखिन्छ।

कुनै घर राम्रो छैन
मेरो घर बर्दियाको दमौली हो। पढेकी छैन। साउदीबाट दिदीले फोनमा घर राम्रो छ, आइज भन्थिन्। गाउँबाट माया पौडेल र दिल्लीबाट उनका भाइले धेरै केटी विदेश पठाउने गरेका थिए। मैले पनि उनैबाट काम मिलाएँ। दिदीसँग एकचोटि मात्र भेट भयो। तलब महीनाको ५०० डलरथियो। कुनै दिन बिदा पाइनँ। काम गरेको देख्दैनथे, खान दिंदैनथे। नौ महिना काम गरेर चार महीनाको मात्र तलब पाएँ।

बोलीभन्दा पहिला हात चलाउँथे। पहिला पनि नेपाली केटी राखेका रहेछन्। तँलाई भन्दा त्यसलाई धेरै पिट्थें भनेर साहुनी भन्थिन्। एक पटक दिनभरि ट्वाइलेटमा थुनिन्। बेलाबेलामा साहूलाई पनि मलाई नराम्रो गर्न भन्थिन्, तर उनले त्यसो गरेनन्। साउदीमा दुःख पाउने नेपाली केटीहरू धेरै छन्। राम्रो घर छ भनेर जानु बेकार छ।

(लीलालाई ३ फागुन २०६८ मा पौरखीले उद्धार गरेको थियो।)

घरेलु काममा गएका महिला
(साउन-चैत २०६८/६९)
देश संस्थागत व्यक्तिगत
कतार २४४ ४२५
मलेशिया १२९४ १७
साउदी अरब ८२ ५१
युएई १६९९ १५३७
बहराइन १९१ २६६
कुबेत २७२ ८३७४
मन १४ २५९
लेबनान ० २०५
इजरायल ३ ४६९
जम्मा ३७९९ ११६०
स्रोतः वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>