व्यक्तित्वआइतबार, जेठ २१, २०६९

चियाका चमत्कारी

हिमालखबर

इलामको पञ्चकन्यामा जन्मेहुर्केका शर्माले पहिल्यै चिया बगान चिनिसकेका भए पनि २०२८ सालमा नेपाल चिया विकास निगमको अधिकृत हुँदा उनी शुद्ध जागिरे थिए, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकबाट २०६० मा अवकाश पाउँदा नेपालका एक सच्चा चियाकर्मी भएर निस्किए । परिणाम, सेवानिवृत्त जीवनमा पनि उनलाई भक्तपुरस्थित घरमा कमै भेटिन्छ । उनको तन–मन इलामका चियाबारीतिरै हुन्छ ।

शर्माले जागिर खान शुरु गर्दा नेपालमा चियाको वार्षिक उत्पादन १७ हजार केजी थियो भने अहिले १ करोड ७० लाख केजी पुगेको छ । यसमा ९० प्रतिशत योगदान किसानको छ भने किसानहरूलाई चियाखेतीमा लगाउन ९० प्रतिशत योगदान चाहिँ शर्माको छ । उनले परम्परागत खेती गरिरहेका नेपालका किसानलाई चियातिर मोड्ने विद्या २०२९ सालमा इलाम आएका बेलायती नागरिक रवर्ट विलियम वेलबाट सिकेका हुन्, जसले उनलाई घरी–घरी युगाण्डाका किसानले घरघरै चियाखेती गरेको सफल कथा सुनाएका थिए । वेल दुई वर्षपछि बेलायत फर्किए भने शर्मा कृषकका घरआँगनतिर लागे । यसरी २०३३ सालमा इलामका चार जना किसानको बारीमा चिया रोपियो । शर्मा भन्छन्, “आज पाँच जिल्लाका १८ हजार किसान चियाखेतीमा छन् ।”

२०३९ सालमा इलाम, पाँचथर, झपा, तेह्रथुम र धनकुटालाई चिया क्षेत्र घोषणा गर्नमा शर्माको विशेष भूमिका थियो । त्यसैबीच स्वाजिल्याण्ड, केन्या, युगाण्डा र नाइजेरिया समेत पुगेर त्यहाँका किसानको काम हेरेपछि उनलाई नेपालमा काम गर्न झ्न् सजिलो भयो । उनी भन्छन्, “अहिले पश्चिम पहाडतिर पनि पूर्वको झल्को देखिन थालेको छ ।”

शर्माको चिया सक्रियता पूर्वमा मात्र सीमित छैन । उनी जहाँ पुग्छन्, त्यहीँ पुग्छ चियाखेती । नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा चियाखेती
पुरयाइसकेका शर्मा अहिले काभ्रे र भक्तपुरका गाउँहरू घुम्न थालेका छन् । उनको विचारमा काठमाडौं नजिकका जिल्लामा चियाखेती हुँदा यसमा पर्यटनलाई पनि जोड्न बढी सजिलो हुन्छ ।

अरूलाई चियाखेती गर्न सिकाउँदै हिँड्ने शर्माका दुई छोरा पनि चिया विशेषज्ञकै रूपमा सक्रिय छन् । जेठा सरोज सिन्धुपाल्चोक र दोलखामा छन् भने माइला ज्योति टी सेक्टर सर्भिस सेन्टर स्थापना गरेर इलामको फिक्कलमा छन् । शर्मा आफैंले पञ्चकन्याको १५० रोपनी पुख्र्यौली जमिनमा चिया लगाएका छन् । अहिले सहभागितामूलक चियाखेतीका लागि दौडधुप गरिरहेका उनको सक्रियतामा २०६७ असोजको पहिलो साता राष्ट्रिय चिया किसान सहकारी पनि खुलेको छ । उनी भन्छन्, “एक्लाएक्लै भन्दा सामूहिकताले चियाखेतीलाई चाँडो व्यावसायिक बनाउँछ ।”

राजधानीमा तारानाथ शर्मालाई समय कटाउन गाह्रो लाग्छ । यो महानगरमा उनलाई चिन्नेजान्ने पनि कमै छन् । यता चियाको कुरा सोध्ने बुझने कोही हुँदैन, उता गाउँमा गएपछि उनी के बोल्छन् भनेर किसानहरू खाता–कापी लिएर उभिन्छन् । सहकारीका बैठकमा गाउँलेले ‘चियाका गुरु’ भन्दै विशेष अतिथि बनाउँछन् । त्यसवेला उनलाई जीवनका चार दशक खेर नगएको महसुस हुन्छ ।

चियाखेती र अन्य विभिन्न विषयका दक्ष साथीहरू अवकाशपछि पनि राजधानीमै हराएकोमा उनको चित्त बुझ्ेको छैन । उनको सल्लाह छ, “ शहरमा अपरिचित भएर बस्नुभन्दा गाउँ फर्केर अनुभव बाँड्नु जीवनकै ठूलो समाजसेवा हो ।”

डम्बरकृष्ण श्रेष्ठ
१६ असोज–१५ कार्तिक २०६७ को हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>