रमझमबिहीबार, जेठ २, २०७०
गतिलो यात्रामा
अध्ययनका लागि २०६२ सालमा मोरंगको राजघाटबाट राजधानी पस्दा सिर्जना सुब्बाको भित्री मनमा फिल्ममा खेल्ने रहर लुकेको थियो । त्यही अनुसार नृत्य सिक्न थालेकी उनले पहिलो पटक मैना नाटकमा अभिनयको अवसर पाइन् ।
त्यसलगत्तै भएको पश्चिमाञ्चलस्तरीय नाटक महोत्सवमा त उनी उत्कृष्ट अभिनेत्री नै बनिन् । त्यसयताका करीब आठ वर्षमा सिर्जनाको लत बनेको छ– नाटक । अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको चरणदास चोर मा महारानीको भुमिकामा व्यस्त सिर्जना भन्छिन्, “पहिला फिल्म रहर थियो, अहिले नाटक आदत बन्यो ।”
फिल्म र नाटकहरूमा भट्टी पसल्नी, छापामार, आधुनिक युवती, बेचिएकी चेली, एचआईभी संक्रमित महिला लगायतका भूमिकामा देखिंदै आएकी सिर्जना अहिले जुनसुकै चरित्रमा पनि उम्दा अभिनयको लागि प्रशंसित रंगकलाकारको रुपमा स्थापित छिन् ।
वास्तविक जीवनमा महारानी बन्न नपाइने भएकोले चरणदास चोर मा महारानी बन्दा आफूलाई बढी मजा लागेको उनले खुलाइन् । प्रशिक्षणको हिसाबले एक्टर्स स्टुडियोको उत्पादन उनी मण्डला थिएटरको संस्थापक उपाध्यक्ष पनि हुन् । उनले यही थिएटरमा माइला डट कम, चेरिको बगैंचा, मिस जुली, घुर्मिएको कपाल, ओ स्टार दुनियाँ लगायतका चर्चित नाटकहरूबाट उम्दा कलाकारको ख्याति कमाइन् ।
आवाज, लुट, नारी, नतिजा, साल्गी लगायत करीब एक दर्जन चलचित्रमा अभिनय गरेकी सिर्जना नाटकमा दर्शकसँग प्रत्यक्ष सम्वाद हुने बताउँछिन् । फिल्ममा चाहिं साल्गीको अनुभवले निकै सन्तुष्टि दिएको उनले बताइन् । कुशल नृत्याङ्गना सिर्जनालाई नेपाली रंगमञ्च–सिनेमामा अभिनय र निरन्तरता दुवै हिसाबले मिथिला शर्माको बाटोमा रहेको मानिन्छ ।
अनुशील
आवरण तस्बीर अनलाइन