रमझमशनिबार, जेठ ४, २०७०
मझुवामा मोजेइक
बुटवल शहरलाई दुई भाग (उहिले खस्यौली र बट्यौली) मा बाँड्ने तिनाउ नदी पूर्वपश्चिम राजमार्गको पुलमुनि आफैं छुट्टिएको छ । तिनाउको दुई भँगालोका बीचमा छ– सुकुम्बासीहरूको घना बस्ती ।
नदी बीचमा भएकोले मझुवा भनिएको यो बस्तीमा २०६५ सालमा स्थापित सूर्योदय प्राथमिक विद्यालयमा अहिले ६ जना कलाकार विशाल मोजेइक कला सिर्जनामा मग्न छन् । २७ चैतबाट बनाउन थालिएको मोजेइक यसै साता पूर्ण हुँदैछ ।
६ महीनाको तयारीपछि विद्यालयको भित्तामा १८ मिटर २० सेन्टिमिटर लामो र तीन मिटर चौडा मोजेइक आर्ट बनाइँदैछ । यो कला ‘फ्रिडम म्याटर्स’ नामक अन्तर्राष्ट्रिय संस्था र ‘सानो पाइला’ नामक नेपाली गैर–सरकारी संस्थाको सहकार्यमा तयार हुँदैछ । ‘सानो पाइला’ले मानव बेचबिखन तथा बालबालिका ओसार–पसार विरुद्ध अभियान चलाउँदै आएको छ । संस्थाले त्यस्ता बालबालिकालाई उद्धार गरेर शिक्षित र आत्मनिर्भर हुन सघाउँछ ।
विद्यालयको भित्तामा सुनिता तामाङको सहयोग लिएर मोजेइक भर्नेमा बोल्न नसक्ने, नसुन्ने र भारतीय सर्कसबाट उद्धार गरिएका कलाकारहरू छन् । ‘सानो पाइला’का कार्यक्रम अधिकृत आभा कार्कीका अनुसार, यो मोजेइक बुटवलमै बन्नुको खास अर्थ छ । “यसले विद्यालय जानुको साटो काममा घोटिन बाध्य बालबालिकालाई पढ्न, रमाउन र बेचबिखन विरुद्ध उभिन प्रेरित गर्नेछ”, आभा भन्छिन्, “यो क्षेत्र बेचबिखन र ओसारपसारको हिसाबले जोखिम क्षेत्र पनि हो ।”
मोजेइकमा विद्यालयको हरियाली, चौतारी, विद्यालय जाँदै गरेका बालबालिका, रमाउँदै पढेको, समृद्ध बनेको, बालबालिकालाई विद्यालय जान प्रेरित गरेको र मानव बेचबिखन तथा बालबालिका ओसारपसार रोक्न सघाउ पुगेका आकृतिहरू छन् । २१ प्यानलको यो चित्रको डिजाइन ब्रिटिश कलाकार डंकनले गरेका हुन् ।
उनको नक्साका आधारमा कलाकारहरूले मोजेइकलाई अन्तिम रूप दिइरहेका छन् । रु.२ लाख खर्च लागेको मोजेइकमा मार्बल, टायल, नेट फेबिकल, सिमेण्ट लगायतका सामग्री प्रयोग भएको छ ।
दीपक ज्ञवाली, बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
