ब्लगआइतबार, जेठ ५, २०७०

नारी अस्मिता: हिजो र आज

tara

सतीत्व रक्षाको नाममा आजपर्यन्त नारीहरू कष्टपूर्ण र लज्जित जीवन जिउन बाध्य छन् ।

धार्मिक मान्यताले जकडिएको अफगानिस्तानको एउटा गाउँमा तीन–चार सय गाउँलेको उपस्थितिमा हालै एक बाबुले १९ वर्षीया विवाहिता छोरीलाई टाउको, छाती र पेटमा गोली हानेर हत्या गरे ।

गाउँलेहरूले ताली बजाएर हत्याको समर्थन गरे । ती महिलामाथि श्रीमान् इरान गएका बेला परपुरुषसँग लागेको आरोप थियो । कुनै प्रमाण विनाको आरोप दुई बच्चाकी ती आमाले स्वीकारेकी थिइनन् ।

अफगानिस्तान र पाकिस्तानका कतिपय गाउँमा चरित्रमाथि प्रश्न उठेपछि महिलालाई ढुङ्गा या गोली हानेर मार्ने चलन छ । यस्तो प्रथालाई त्यहाँको धार्मिक मान्यताले अनिवार्य ठान्छ ।

कलिला आमाहरूको यस्तो हत्याको समाचार पढेपछि म हिन्दू धर्मग्रन्थका सीता र अहिल्यालाई सम्झ्न्छिु । वनवासको बेला रावणले हरण गरेकाले चरित्रमाथि शंका लागेर रामले परित्याग गर्न लाग्दा चितामा समाधि लिएर पवित्रताको अग्निपरीक्षा दिएकी थिइन्, सीताले ।

अयोध्या फर्केपछि पनि रामले सीतालाई राज्यको सिमाना कटाएर छाडे । अहिल्यालाई पनि पति गौतम ऋषिले देवराज इन्द्रसँग पतिव्रता धर्म नष्ट गरेको भन्दै ढुङ्गा बन्ने श्राप दिए ।

मध्ययुगमा उपल्लो दर्जाका सैनिकहरू धर्मयुद्धमा जाँदा आफ्नो अनुपस्थितिमा पत्नीसँग कसैले यौनसम्पर्क राख्न नसकून् भनेर चेष्टिटी बेल्ट (जनेन्द्रियमा चाबी) लगाइदिएर हिंड्थे ।

मध्ययुगमा फलाम र छालाबाट बनाइएको यस्ता ‘बेल्ट’ शंकालु लोग्ने र कडा स्वभावका बाबुहरूको विश्वासको साधन रहेको पढ्न पाइन्छ । सन् १८८९ मा अष्ट्रियाको एउटा चिहानमा यस्तै बेल्ट लगाएको कंकाल भेटिएको थियो ।

युरोपमा १७औं शताब्दीसम्म यसको प्रयोग भएको पाइएको छ । सतीत्वको नाममा महिलामाथि हुने हिंसाको क्रूर नमूना हो, यो ।

जारी छ अत्याचार

सतीत्वको नाममा महिलामाथि हुने अत्याचारको क्रम आज पनि जारी छ, रूप फेरिएको मात्र हो । एक शताब्दी अघिसम्म नेपाल र भारतमा विधवाले जिउँदै जल्नुपर्ने सतीप्रथा थियो ।

श्रीमान्को मृत्युपश्चात् पतिव्रता धर्म नष्ट गर्न नसकून् भनेर यस्तो प्रथा बसाइएको थियो । अहिले त्यो प्रथाको अन्त्य भए पनि मृत श्रीमान्को नाममा पतिव्रता धर्म पालना गरेर बाँच्नुपर्ने संस्कार छ ।

मेरी आमाको पालामा अधिकांश पुरुषका दुइटी श्रीमती हुन्थे । एउटी भएकाले बाहिर रखौटी राख्थे । जोसँग बढी रमाइलो हुन्थ्यो, त्यतै भुल्थे उनीहरू । श्रीमतीको सतीत्व पुरुषका लागि ढुकुटी वा ब्याङ्कको लकरमा राखेको गहना जस्तै थियो– भोग गर्न मन लाग्यो, लकर खोल्यो; त्यसपछि त्यहीं थन्क्यायो ।

मेरो बुझाइमा श्रीमतीको अस्तित्व लकरभित्रको गहना जति पनि होइन । लकरभित्रका गहना त राख्ने मान्छे मरेपछि परिवारका सदस्यले झिकेर प्रयोग गर्छन्, तर महिलाको सतीत्व लकरभित्रै बन्द रहन्छ बाँचुञ्जेलसम्म ।

पछिल्लो समय नारीको अस्मिता झन भासिंदै गइरहेको छ । यौनसम्पर्क राख्न नदिएको झेंकमा श्रीमतीको हत्या गरेको खबर रोकिएका छैनन् ।

अहिले एउटा तालीम सञ्चालनको सिलसिलामा दार्चुला छु । यहाँका महिलाको अवस्था अत्यन्त दयनीय छ । तालीममा सहभागी महिलाले सुनाए अनुसार क्षेत्री थरकी एक महिलाले ज्याला–मजदूरी गरेर श्रीमान्लाई जेटीए पढाइन् ।

जेटीए भएपछि श्रीमान्लाई पढे–लेखेकी श्रीमतीको चाहना भएछ । श्रीमतीबाट छुटकारा पाउन उसले यौनसम्पर्कमा चरम यातना दिने मात्र नभई पटक–पटक हत्या प्रयास पनि गरेछ ।

गत माघमा यस्तै ज्यादती भएपछि ती महिला अर्धनग्न अवस्थामै रातारात भागेर सदरमुकाम पुगिछन्, प्रहरीमा उजुरी दिन । यसमा धन्न उनलाई सासूको सहयोग मिलेछ ।

एउटा बहसमा एक जना महिला मित्रले भनेकी थिइन्– ‘पुरुषहरूले जति पनि महिलासँग लाग्न र जति पनि श्रीमती ल्याउन हुने अनि हामी भने जति नै दुःख दिए पनि सहेर बस्नुपर्ने ?’

त्यसपछि अर्का पुरुष मित्रले भनेका थिए– ‘यो संसार अहिले आधा मात्र नरक छ, किनभने नारीले पनि पुरुषले झैं गतिछाडेको भए पूरै संसार उहिल्यै नर्क भइसक्थ्यो ।” नराम्रोको बदला नराम्रै गरेर राम्रो प्रतिफल आउँदैन । अनि जीवन गणित जस्तो माइनस–माइनस जोडेर प्लस हुने पनि होइन !

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...