व्यक्तित्वसोमबार, जेठ ६, २०७०

डाइका डाक्टर

हिमालखबर

तस्वीरः मीनरत्न बज्राचार्य/हिमालखबर

१६ वर्षको उमेरमा घर छाडेका चन्दु थापा (४९) ले दिल्लीमा पाउनुसम्म दुःख पाए। त्यही दुःखले आज उनलाई नेपालकै पहिलो ‘डाइमेकर’ बनाएको छ। ‘डाइ’ को सीपबाट उनको आर्थिक उन्नति त भयो नै, उनी हजारौं कृषकको जीविकासँग पनि जोडिएका छन्। चन्दु सियोदेखि ठूल्ठूला औद्योगिक सामग्रीलाई आकार दिने ‘डाइ’ अर्थात् फर्माका सिद्धहस्त हुन्। बितेका १६–१७ वर्षमा उनले बनाएका डाइ देशदेशावर पुगेका छन्।

संघर्षका दिन

बाँकेको राधापुर–८, सैनिकका चन्दुले १५ वर्षको उमेरमै आमा गुमाए। कान्छी आमा भित्रिएपछि बाबुको व्यवहार बदलियो। त्यही समयमा बिहेसँगै एसएलसी परीक्षा दिएका उनी अनुत्तीर्ण भए। बुबासँग व्यवहार राम्रो नभएपछि उनी दिल्ली पुगे। दिल्लीका गल्लीहरूमा भौंतारिंदा होटलदेखि मोटर ग्यारेजसम्ममा काम गरे। राम्रो आय हुने डाइको काम सिक्ने मौका पाउँदा सित्तैंमा मिहिनेत गर्न तयार भएका उनले सीप देखाएपछि साहूले मासिक भारु १८० दिन थाले। तलब बढेर मासिक भारु ५०० भएपछि उनले श्रीमतीलाई पनि सँगै दिल्ली लगे।

डेढ सयको फलामबाट बन्ने डाइ भारु ४५ हजारसम्ममा बिक्री हुन्थ्यो। तलब पनि मासिक १० हजार पुग्यो। तर, मूल कारखानामा उनलाई आफ्नै चेला विल्लु पण्डितले दुःख दिन थाले। त्यसबाट दिग्दार भएपछि चन्दुले आफैं डाइ कारखाना खोले, तर इर्ष्यालु पण्डितले पिछा छाडेनन्। पहिलेका कारखाना मालिकले ‘सीप भएको मान्छे, यहाँ व्यर्थको झ्गडामा फँस्नुभन्दा आफ्नै देशमा केही गर’ भन्ने सल्लाह दिएपछि चन्दु २०५१ सालमा नेपाल फर्किएर काठमाडौंमा कारखाना खोले।

त्यसयताको समयमा उनले कृषि र औद्योगिकदेखि सैनिक सामग्रीसम्मका डाइ बनाए। माओवादीको हिंसात्मक विद्रोह चर्केका बेला उनी नेपाली सेनाको सैन्य सामग्रीको डाइ बनाउँथे। त्यसबेला उनी माओवादीले मकवानपुरमा हत्या गरेका जर्नेल सागरबहादुर पाण्डेसँग सेनाको बम (ग्रिनेड) बनाउने कारखाना रहेको भीमफेदी ब्यारेक गइरहन्थे। चन्दु भन्छन्, “जर्नेल पाण्डेको हत्यापछि मलाई पनि ‘हिट लिस्ट’मा राखेछन्, धन्न बचिएछ।”

तर, उनले पछि सेनाबाटै सास्ती पाए। सेनाले चन्दुको कारखानामा छापा मारेर कामदारहरूलाई समात्यो। यसबाट दिक्क बनेका उनी इजरायल जान तयार भए, तर भिसा पाएपछि त्यो विचार त्यागेर यहीं बसे।

सफलताको चरण

द्वन्द्वको प्रभाव र लोडसेडिङका कारण औद्योगिक डाइ व्यवसायमा मन्दी आएपछि चन्दु कृषि सामग्री निर्माणमा केन्द्रित भए। केही गैरसरकारी संस्थाले उनको सोचमा लगानी गरिदिएपछि ‘थोपा सिंचाइ’ प्रविधिको आविष्कार भयो। आज देशका सबैजसो भाग र विदेशमा समेत चन्दुकै सिंचाइ–सामग्री खपत भइरहेको छ। यसले उनलाई देशभरका साना किसानको जीवनमा आएको परिवर्तनसँग जोडिदिएको छ। “यो प्रविधि आज मधेशका देहातदेखि पहाडका कुनाकन्दरासम्म पुगेको छ”, चन्दु भन्छन्, “नेपाल यस्ता उपकरण निर्यात गर्ने देश भएको छ।”

चन्दुले बनाएको फिल्टरको डाइ अमेरिकासम्म पुर्‍याइएको छ भने सिंचाइ सामग्रीहरू अमेरिका, युनाइटेड अरब इमिरेट्स, बंगलादेश, भारत, भुटान, अफगानिस्तान र अफ्रिकी देशमा निर्यात भइरहेको छ। सिक्किमको कृषि मन्त्रालयले यो प्रविधि सिकाउन आग्रह गरेको छ भने भुटानले एक कण्टेनर सामग्री मागेको छ। अफ्रिकाबाट पनि थोपा सिंचाइ सामग्रीको माग भएको छ, तर, १४०० अमेरिकी डलरको सामान पठाउन १८०० डलरसम्म ढुवानी खर्च लाग्ने चन्दु बताउँछन्।

दिल्लीका गल्लीबाट व्यावसायिक जीवन शुरू गरेका चन्दुले सोचेभन्दा बढ्ता सफलता हासिल गरेका छन्। काठमाडौंमा दुइटा घर, २० रोपनीको फार्म–हाउस, गाडी, कारखाना, छोराछोरीलाई विदेशमा शिक्षा चन्दुका व्यक्तिगत सफलता हुन् भने डाइकर्मीको रूपमा उनले पुर्‍याएको योगदानको लेखाजोखा हुनै बाँकी छ।

रामेश्वर बोहरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...