ब्लगसोमबार, जेठ ६, २०७०

तोदा रव्बा उमा

bhumi bhandari

तीन बर्ष म जाम्बियामा थिएं । त्यतिवेला फेसबुक मेरो रातदिनको साथी थियो । एक दिन कसैले लाइक गरेको एउटा फेसबुक नोट पढें, इजरायलमा रहेकी एक जना नेपाली महिलाले लेखेको । यसकी लेखिका उमा सुवेदी थिइन् । मैले उमालाई फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएँ, जुन केही दिनमा एक्सेप्ट भयो । उनका केही लेख, कविता पढेपछि र तस्वीर हेरेपछि उनी मेरो किशोरवयकी साथी रहेको थाहा भयो ।

फेसबुकमा साथी भएपनि, अनलाइनमा हाम्रो बोलचाल थिएन । एक दिन इनबक्समा उनको म्यासेज आयो, ‘तिमी झापा, बुधबारे हाइस्कूलमा पढ्ने भूमि भण्डारी होइनौ र ?’ मैले ‘हो’ भनेपछि उनले फेरि लेखिन्, ‘त्यसोभए किन नबोलेको त ?’ यो प्रश्न मलाई आत्मिय लाग्ने नै भयो । त्यसपछि हामी फेसबुकमा कुराकानी गर्न थाल्यौं । मेरा पनि केही फेसबुक नोट पढेर उनले ‘नेपाल गएपछि यौटा पुस्तक प्रकाशित गर्दा राम्रो हुने’ सुझाव दिइन् । तर, उनले नेपाल फर्केर दुई पुस्तक प्रकाशन गरिसकिन्, म चाँही दैनिक नेपालगन्ज पत्रिकामा आवद्ध भएँ ।

उमालाई सम्झिँदा म बुधबारे सम्झिन्छु, जहाँ मेरो किशोरावस्थाका प्रारम्भिक बर्षहरु बिते । बुद्ध आदर्श हाइस्कूल सम्झन्छु, जहाँ मैले माध्यमिक तह पूरा गरेँ । होक्से, वर्ने, पाँच नम्बर, सात नम्बर, सेतीपानी सम्झन्छु, जहाँ म घुमेँ, खेलेँ । सबै भन्दा बढि सम्झन्छु स्कूलका शुक्रबारे कार्यक्रमहरुमा उमाले गाएको गीत । उनी ‘रुँदैछु म गैरी खेतमा, तिमी परदेशमा, सपनीमा मात्रै आउँछौ, नौलो नौलो भेषमा’ बोलको गीत गाउँथिन् । २०५१ सालमा एसएलसी दिएपछि म बुधवारेबाट टाढीएँ । मसँगै पढेका साथीहरु पनि टाढिए, को कता पुगे, को कता । कोही कोही फेसबुकमा भेटिन्छन्, बस् ।

समयले हुत्याउँदै मलाई अफ्रिकाको यौटा कुनामा पु¥यायो । जाम्बियाको नौ महिनामा मैले परदेशको पीडा राम्ररी अनुभव गरे । कसैले फोन गरे हुन्थ्यो, कोही नेपाली बोल्ने मान्छे भै दिए हुन्थ्यो जस्तो लागि रहन्थ्यो, एक्लै रुन मन लाग्थ्यो । भाषा, संस्कृति, खाना, भूगोलको फरकपनका कारण उत्पन्न हुने मानसिक संवेगले सताई रहने । त्यतिवेला उमाले स्कुले जीवनमा गाएको ‘रुदैँछु म गैरी खेतमा, तिमी परदेशमा’ भन्ने गीतको मर्म राम्ररी बुझें । उमा पनि परदेशमै थिइन् । उनले पनि स्कूलमा पढ्दा गाएको गीत इजरायलमा खुव गाइन् होला । आफ्नो प्यारो छोरा संयोगलाई सम्झेर खुव रोइन् होला । पतिको यादले पनि उनलाई खुबै सतायो होला ।

परदेश बसाई साँच्चीकै पीडादायक हुन्छ । यसले रुवाउँछ । मेरी अर्की फेसबुक साथी पुष्पा ओझाले गीता चौधरीसँग फेसबुकबाटै चिनजान गराइदिएपछि मैले जाम्बियामा नेपाली भाषामा गफ गर्ने साथी पाए ।

तोदा भनेको हिब्रु भाषामा धन्यवाद हो । तोदा रब्बा उमा भनेको, ‘धेरै धेरै धन्यवाद उमा’ भनेको । उमा हिब्रु भाषी समुदायमा थिइन् । त्यहाँ उनले भोगेका, देखेका र महसुस गरेका कुराहरुमा कल्पनाको जलप लगाएर एक बहुमुल्य कृति ‘तोदा’ तयार पारिन् । तोदा उपन्यासको दोश्रो संस्करण पनि छिट्टै आउँदैछ ।

उमाको उपन्यास पढ्न सबैभन्दा बढि लालायित हुनेमध्ये म एक थिएँ । अनलाइनबाटै त्यो उपन्यास किन्ने मेरो प्रयास प्राविधिक कारणले असफल भयो । मेरो पहिलो विदामा बैशाखमा नेपाल पुग्दा रातको ११ बजेको थियो । अर्को दिनको पहिलो काम ‘तोदा’ किन्ने थियो । उपन्यास किनिसकेपछि मैले फोन समेत स्वीच अफ गरेर पढँे र एकै बसाईमा सकेँ पनि । उपन्यास पढिसकेर मात्र उमालाई फोन गरेँ । बास्तवमा यस्तो चोटिलो उपन्यास यसअघि मैले कहिल्यै पढेको थिइँन । हरेक अक्षरसँग म सहमत थिएँ । ‘उमा तिम्रो कुरा ठीक हो’ भन्ने भाव मात्र मनमा आउँथ्यो ।

यहुदीले हिटलरका कारण भोग्नु परेको सास्ती र नेपाली नारीले देशमा चलेको सशस्त्र द्वन्द्वबाट भोग्नु परेको पीडाको व्यवस्थित संयोजन छ, उपन्यासमा । यो कृतिको सुरुवातमै उमा प्रश्न गर्छिन् —‘किन जन्मिन्छन् हिटलरहरु ?’ हिटलर वा हिटलर शैलीका कारण सबैभन्दा पीडाबोध गर्ने नारी नै हुन्छन् । उपन्यासमा उमाले उठाएको अर्को प्रश्न छ, ‘किन हरेक युद्धले नारीहरुलाई पीडाको समुन्द्रमा डुवाएर जान्छ ? नारीकै कोखबाट जन्मिएकाहरुले नारीकै कोख किन रित्याउछन् ?’ तिम्रो प्रश्न सहि हो उमा, जवाफ मसँग छैन । सायद मानिसहरु कालान्तरमा यो कुरा महसुस गर्लान् र तिम्रो प्रश्नको उत्तर देलान् । सायद त्यो समय स्वर्ग झैं सुन्दर होला, यो संसार ।

कृतिको समिक्षा गर्नु मेरो बुता भित्र पर्दैन । तर, उपन्यास पढेपछि हरेक मान्छे उद्वेलित हुन्छ र यसबारे कुरा गर्न चाहन्छ । उपन्यासका पात्र आफ्नै अघि झलझली नाच्न थाल्छन् । कहिलेकाँही ती आफ्नै नातेदारले भोगेका अनुभूति झैं लाग्छन् । उपन्यासमा केही पात्र छन्, पार्वती, इनेस, थिरकुमारी, रोशनी, समुन्द्र, प्रमोद, दिलबहादुर आदि । यी पात्र हाम्रै वरिपरीका, हामीले देखे भोगेका पात्र हुन् । यिनीहरु हाम्रै कथा बोल्छन्, अभावको, विखण्डनको, पीडाको, युद्ध र युद्धोत्तर अवस्थाको । उपन्यास पढेपछि लाग्छ, यो हाम्रो समयको दस्तावेज हो ।

नेपालमा दश बर्ष सशस्त्र युद्ध चल्यो । धेरै मान्छे मारिए । कति अपाङ्ग भए । धेरै बिस्थापित भए । अखबारमा हताहतीबारे छापिएको समाचारमा महिलाहरुका तस्वीर हुन्थे । त्यसबेला मेरो मनमा प्रश्न आउँथ्यो, किन महिलालाई अखबारले निरीहरुपमा चित्रण गरेको होला ? कालान्तरमा म आफैं सम्पादक भएँ र थाहा पाएँ किन महिलाका तस्वीर छापिन्छन् भनेर । तोदा उपन्यासले पुष्टी गरेको छ, हरेक युद्धले दिने दुख, पीडा भनेको नारीलाई नै हो । आर्थिक सामाजिक अवस्था र पीतृसत्तात्मक व्यवस्थाका कारण महिलाहरु पुरुषमा निर्भर छन् । त्यो निर्भरता युद्धले खोसिदिएपछिको उनीहरुको वेदना न त देख्न सकिन्छ न त लेख्न नै । एक पुरुषले नारीको अनुभूति कमै महसुस गर्न सक्छ ।

उपन्यासकी मुख्य पात्र पार्वतीलाई उमाले बुधबारेको आफ्नै गाउँबाट टपक्क टिपेकी छिन् । पार्वतीलाई आफ्नो उमेरसँगै हुर्काएकी छिन् । आफैंसँग इजरायल लिएर गएकी छिन् । पार्वतीका आँशुमा उमा रोएकी छिन्, हाँसोमा मुस्कुराएकी छिन् । पैसाका कारण नजिकिने आफन्तसँग परिचित गराएकी छिन् । पार्वतीका पतिको लडाईँमा मृत्युहुँदा उमा पनि साथै रोएकी छिन् । उपन्यास पढ्दा मलाई होक्से बुधबारे, बिर्तामोड, हडियाको पुल झलझली याद आउँछ ।

पार्वतीसँगै म पनि इजरायल पुग्छु । इनेसका कथा आफ्नै कानले सुन्छु र हिटलरको ज्यादतीका कारण उत्पन्न मानसिक उल्झन महसुस गर्छु । यतिबेला मलाई पनि आफ्नै देशमा हिटलर भएको र तिनैका कारण पार्वती विदेशिन बाध्य भएको महसुस हुन्छ । उपन्यासका पात्रसँगै म पनि वगेकोे छु । आफ्नै वरिपरीका पात्रले भोगेको अनुभूतिलाई आफैँले महसुस गरेजस्तो लाग्छ ।
महिलाहरुले आफैं श्रम गरेर आर्थिक जोहो गर्न सकेपनि पुरुष नियन्त्रित समाजमा महिलाले कमाएको सम्पति कसरी पुरुषले हात पार्छन् भन्ने राम्रो उदाहरण उपन्यासले दिएको छ । पार्वतीले धेरै बर्ष इजरायलमा पसिना र आँशु बगाइन् । अन्त्यमा नेपाल आउँदा अनिश्चित भविश्य बाहेक पार्वतीको हातमा केही बाँकी रहेन । आफ्नै खुट्टामा उभिन खोज्ने महिलालाई पुरुषहरुले कसरी आफ्नो चङ्गुलमा पारेर शोषण गर्छन् भनेर उमाले राम्ररी प्रस्तुत गरेकी छिन् ।

तोदा कस्तो छ भनेर थाहा पाउन पाठक आफैंले पढ्नु पर्छ । पहिलो उपन्यास नै यति राम्रो दिएकोमा उमाप्रति म गर्व गर्छु र भन्छु –‘तोदा रब्बा उमा ।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...