ब्लगसोमबार, जेठ २२, २०६९
जङ्गलमा हराएपछि
नेपालमा पर्यटनको दिगो विकास गर्न आन्तरिक पर्यटनलाई उकास्नै पर्छ । आम नेपालीले पर्यटक बनेर आफ्नै देशमा घुम्न थाले भने उनीहरू देशको भौगोलिक, जातीय, सांस्कृतिक र अन्य विविधतासँग अझ परिचित हुन्थे, राजनीतिक हिंसा र अस्थिरताले पर्यटन व्यवसायलाई त्यति हानि पुरयाउँदैनथ्यो । तर खोई कसको कमजोरी र उदासीनताले हो, नेपालमा आम नेपालीहरू पर्यटक बनेर घुम्ने वातावरण बने जस्तो लाग्दैन । मेरो यो विश्वासलाई आफैंमाथि आइपरेको एउटा घटनाले पनि पुष्टि गरेको थियो ।
गएको दशैंपछि छोरा सयुज र भदाहा बिपुल भट्टराईसँगै दोलखाको गौरीशङ्कर क्षेत्रको पदयात्रा गर्ने योजना बन्यो- चरिकोटभन्दा केही वर मकैबारीबाट कालिञ्चोक, बिगु गुम्बा, सिङ्गटी हुँदै चरिकोट नै फर्किने । दोस्रो दिन कालिञ्चोकबाट बिगुतिर लाग्ने क्रममा चार–पाँच घण्टामा थिङसाङ्ला पुग्नुपर्ने, बीचैमा कतै बाटो बिराइयो र मध्यजङ्गलमा स्थानीयले भत्काएर छाडेको गोठलाई टाउको लुकाउन लायक बनाएर रात बिताउनु परयो ।
गौरीशङ्कर क्षेत्रका पदयात्रा मार्गहरूको विकास अष्ट्रियन डिभेलपमेन्ट को–अपरेसनको सहयोगमा इको हिमाल भन्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय समुदायसँग मिलेर गरेको हो । इको हिमालको रोल्वालिङ इको–टुरिज्म प्रोजेक्टले गौरीशङ्कर क्षेत्रमा मुख्य पदयात्रा मार्ग, सहायक मार्ग, सामुदायिक लज र क्याम्पस्थलहरूको राम्रो सञ्जाल खडा गरेर चार–पाँच दिनदेखि १५–२० दिनको सात वटा प्याकेज बनाएको छ । यस क्षेत्रका विज्ञ भनिएका प्याट्रिसिया इष्ट, सुसन होइभिक, म्याक्स पेट्रिक, सारा श्नाइडरम्यान र मार्क टुरिनले गौरीशङ्कर र रोल्वालिङ पदयात्रा क्षेत्रको विस्तृत जानकारी एवं सांस्कृतिक परिचयसहितको यात्रा पुस्तक निकालेका छन् ।
यत्रो व्यवस्था भएको पदयात्रा क्षेत्रमा बाटो झुक्किन सक्ने ठाउँमा सङ्केतहरू भने देखिएनन् । पदयात्रामा बाटोमा जथाभावी चक्लेट, बिस्कुट, चाउचाउका खोल, विभिन्न पेयका क्यान र बोतल फाल्नु ‘इको–टुरिज्म’ (पर्यावरणमैत्री पर्यटन) को अवधारणासँग मेल नखाँदो हो, तर कति ठाउँमा हामीलाई कता जाने भनेर अनुमान गर्न त्यस्तै वस्तुले सघाएका थिए । नगण्य पदयात्री हिंड्ने र प्रायः पूरै वन क्षेत्र पर्ने कालिञ्चोकदेखि थिङसाङ्लाको यो बाटोमा कुनै वस्ती पनि नभएकाले बाटो सोध्ने मानिसहरू नभेटिनु स्वाभाविक थियो । विदेशी पर्यटक त हामीले चार दिनको दोलखा बसाइमा दुई जना मात्र देख्यौं, ती पनि कालिञ्चोकदेखि तलै । बरु हामीलाई पूरै यात्राभरि पछ्याएर र हामीसँगै गोठमा बसेर साथ दियो कुरी भञ्ज्याङको एउटा बोकाले । गाउँलेहरू बोको खोज्दै हाम्रो पछि–पछि पनि लागेछन्, तर हामीलाई भेटेनन् । कालिञ्चोकबाट हिंडेको २७ घण्टापछि त्यहीं फर्केर मात्र हामीले अरू मानिसहरू भेट्यौं । स्थानीयहरूलाई सोध्दा हामी रुपथाङको जङ्गलमा कतै हराएको हुनुपथ्र्यो ।
कालिञ्चोक भगवतीस्थानभन्दा एक घण्टाको बाटोवरै कुरी भञ्ज्याङमा जेनतेन गाडी र मोटरसाइकल लिएर जान सकिने सडक बनेको, हिंडेरै पनि चरिकोटबाट ५–६ घण्टामा पुगिने अनि चार–पाँच सय जनालाई थेग्न सक्ने १५–१६ वटा होटल खुलेका हुनाले होला, कालिञ्चोकसम्म यात्रुहरूको बाक्लै भीड देखिन्थ्यो । त्यो भीडमा देवीको दर्शनसँगै घुम्न रुचाउने खालका अनुहार पनि थिए । आखिर त्यहाँबाट बिगु वा लापिलाङ हुँदै सिङ्गटी–चरिकोट फर्किन वा दोलाङ्सा हुँदै बाह्रबिसे जान सकिने रुटहरू नभएका होइनन् ।