अर्थ/बजारबिहीबार, जेठ ९, २०७०
दोर्दीखोला जलविद्युत आयोजनामा एनआरएनको लगानी
आईएमई समूह अन्तरगतको हिमालयन पावर पार्टनर कम्पनीको स्वामित्वमा रहेको ‘दोर्दी खोला जलविद्युत आयोजना’ को ५१ प्रतिशत शेयर एनआरएन इन्भेष्टमेन्ट कम्पनीले खरिद गरेको छ ।
अष्ट्रेलियमा बसिरहेका नेपालीहरु रामेश्वर साह, शेष घले र महेशकुमार श्रेष्ठको अगुवाईमा विश्वका अन्यदेशमा रहेका नेपालीहरुको समेत सहयोगमा एनआरएन इन्भेष्टमेन्ट कम्पनीमार्फत आयोजनामा लगानी भएको हो ।
साह, घले र श्रेष्ठ इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट बोर्ड सदस्यसमेत हुन् । नेपालमा १ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको अग्रसरतामा एनआरएन इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको थियो ।
कम्पनीमा हाल बिश्वका बिभिन्न मुलुकका ७ सय ८५ जना गैरआवासीय नेपालीले करिव १ अर्ब रुपैयाँ संकलन गरेका छन । कम्पनीको संस्थापक सेयरधनी बन्ने उनीहरुले १ लाखदेखि १ करोड रुपैयाँसम्म लगानी गरेका छन ।
सन् २०१७ अप्रिलबाट ब्यवसायिक उत्पादन थाल्ने लक्ष्य अनुसार अहिले परियोजनामा वित्तिय स्रोत ब्यबस्थापन र तयारीको काम भइरहेको छ ।
झण्डै ४ अर्ब ३० करोड रुपैयाँको लागतमा निर्माण हुने परियोजनामा गैरआवासीय नेपालीहरुको ५१ प्रतिशत सेयर रहनेछ । ‘पब्लिक लिमिटेड कम्पनी भएकाले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने प्रावधान अनुसार लगानीका लागि बैंकसँग पनि छलफल भईरहेको वताईएको छ ।
२३ असार २०६८ मा लाईसेन्स प्राप्त गरेको पाएको दोर्दी खोला जलविद्युत आयोजनाले चालु आर्थिक बर्षको मसान्तसम्ममा आफ्नो फाइनान्सियल क्लोजरको काम सकिसक्नुपर्ने छ ।
परियोजनाको सम्भाब्यता अध्ययन सकिएको छ भने पीपीएका लागि नेपाल बिद्युत प्राधिकरणसँग प्रकृया शुरु भइसकेको छ ।
दोर्दीखोला जलविद्युत आयोजना छनौट गर्नुअघि १८ वटा सम्भावित परियोजनाका बारेमा अध्ययन गरिएको एनआरएन इन्भेष्टमेन्ट कम्पनीले जनाएको छ । अन्तिम छनौटमा परेका दुई परियोजनामध्ये दोर्दीखोला परियोजनासँग साझेदारी गरिएको हो ।
एनआरएनले शेयर खरिद गरेसँगै नयाँ कम्पनीमा हिमालयन पावर पार्टनरका चन्द्रप्रसाद ढकाल र गुरुप्रसाद ढकाल साथै एनआरएन इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट रामेश्वर साह, शेष घले र महेशकुमार श्रेष्ठ बोर्ड सदस्यमा चयन भएका छन ।
एक सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अनुसार अर्को आयोजना छनौटको काम पनि भइरहेको एनआरएन इन्भेष्टमेन्ट कम्पनी स्रोतले जनाएको छ ।
एनआरएन स्रोतका अनुसार २०/२५ मेगावाटको अर्को परियोजनाको पनि छनौट कार्य भईरहेको र केही समयमा नै घोषणा गरिनेछ ।
युवराज श्रेष्ठ, लमजुङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
