थप समाचारबिहीबार, जेठ ९, २०७०
साँच्चिकै खाली भयो ‘खाली’ गाउँ
कुनै समय खाली डाँडामा वस्ती बसेपछि बुढापाकाहरुले गाउँको नामनै खाली गाउँ राखेका रहेछन् । त्यही गाउँ कुनै बेला हराभरा थियो । मान्छेहरु थिए । दुःख सहेर पनि गाउँमै सन्तोषको दैनिकी काट्थे उनीहरु तर, आज खाली गाउँ सुनसान छ ।
त्यहाँ पुग्दा खर्कतिर न्याउली रोएको सुनिन्छ । लेकाली हावाको चिसो हावाले स्पर्श गर्छ । सुखसयल, ऐसआराम र भोगको जिन्दगी जिउन चाहाने युवापुस्ता जति सबैले गाउँको माया मारे र झरे बेँसी, टारी र शहरतिर ।
मल्म गाविस– ९ मा पर्ने खाली गाउँ साँच्चिकै खाली हुँदै गएको छ । रित्ता घरहरु, बाँझा बारी, उराठ खर्कहरु र बिर्सिइएका पँधेराहरु देख्दा त्यहाँ पुग्ने जो कोहीको मन भरिन बेर लाग्दैन । खाली गाउँ र त्यसआसपासका मात्रै दसभन्दा बढी घरपरिवार सुविधाको ठाउँमा सरेर गए । भएका एकाध घरपरिवार पनि एक्लिएको अवस्थामा पुगेका छन् ।
खाली गाउँ मात्रै नभएर नजिकैका टोक्री, अरवेदी, झिर्कालगायतका गाउँका बासिन्दाहरु पनि कोही घरजग्गा बेचेर त कोही त्यत्तिकै अलपत्र छोडेर बेँसीतिर झरेका छन् ।
‘सबै पैसा कमाउन जान थाले, कोही विदेश कोही सहरबजार, गाउँमा दुःख गरेर बस्ने कोही भएनन्’– स्थानीय गुञ्जबहादुर थापाले भने । पूर्व वडाअध्यक्ष समेत रहेका थापाले आफूले हेर्दाहेर्दै धेरै घरपरिवार गाउँबाट बसाइँंसरेर गएको बताए ।
माथिका गाउँबाट कोही तल बेँसी, कोही नजिकको बजार क्षेत्र त कोही काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा बसाइँसरेर गएका छन् । वडा नं ९ मा मात्रै दर्जनौँ घरधुरी यसरी घरजग्गा छोडेर सुविधायुक्त ठाउँमा बसाइँ सरेका छन् ।
‘कतिपय मल्मकै आँगाखेत, सोताहघाट, हटिया बजार त कोही काठमाडौँ पोखरा घरघडेरी जोडेर बस्न थाले’ थापाले भन्नुभयो । उक्त क्षेत्रका प्रत्येक घरका सदस्य वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका छन् । आर्थिक अवस्था पनि मजबुत हुन थालेपछि सुविधाभोग गर्न र बालबच्चाको भविष्यका लागि भनेर पनि कतिपय शहर केन्द्रित हुन थालेका छन् । उक्त वडाका २० दम्पती त सँगै जापानमा कार्यरत छन् ।
धेरैजसो विदेश गएर राम्रो कमाइ गर्न थालेपछि शहरबजारतिरै बस्ने योजना बनाउन थालेको थापाको बुझाइ छ । खाली गाउँमा मात्रै सयौँ रोपनी खेतीयोग्य बारी बाँझै पल्टिएको त्यहाँबाट सरेर सप्ताहघाटमा व्यापार गर्दै आएका पृथ खड्काले बताए ।
“यस्तै भयो कोही विदेशतिर कोही शहरतिर हामी पनि व्यवसायको लागि तल झरियो” खड्काले भने, “कामगर्ने मान्छे पाइएसम्म बारीमा खेतीबाली लगाउने गर्छौं नत्र त्यत्तिकै बाँझै हुन्छ ।”
मानिसहरु घरबार छोडेर हिँडेपछि गाउँ पनि युद्धले उठेजस्तो देखिन्छ । “खाली गाउँ आखिर रित्तिएर जाने भो,” स्थानीय शिक्षक शान्त थापाले भने, “सबै सुविधाभोगी भए, गाउँमा बस्न चाहाने कम भए ।” त्यहीमाथि कतिपय घरमा त परिवार नै बस्न छोडेपछि गाउँको शोभा हराउन थालेको छ ।
ठूला खर्क, पाखाबारी र खाली जग्गालाई व्यावसायिक रुपमा प्रयोग गर्न सके राम्रो फाइदा लिन सकिने देखिन्छ । बाँझो खेतीयोग्य जमिन र प्रयोगविहीन भएका पाखो क्षेत्रमा व्यावसायिक कृषि फार्म सञ्चालनको सम्भावना रहेको छ । अहिले उजाड भएका र वस्ती उठेर गएका क्षेत्रहरुमा पनि कृषिजन्य उत्पादनको विकास गर्न सकिने स्थानीय अगुवा कृषक प्रेम थापाले बताए ।
रासस