ब्लगशुक्रबार, जेठ १०, २०७०

बाहिरी ज्ञान भएन

दीपक अर्याल

अन्य भाषाका पुस्तक नेपालीमा अनुवाद हुने कार्यको श्रीगणेश सन् १८२१ मा भएको हो– बाइबलबाट।

बाइबलपछि अर्को किताब नेपालीमा अनुवाद हुन भने १५५ वर्ष पर्खनु परेको देखिन्छ– वि.सं १९३३ मा ‘फिल्ड एक्सरसाइज पैदल फौजको कवायत’ प्रकाशित नभएसम्म।

बमवीरविक्रम र केशरसिंहले नेपालीमा अनुवाद गरेको यो किताबले अन्य भाषाका पुस्तकहरू नेपालीमा आउने बाटो खोलिदिएको देखिन्छ।

त्यसपछि श्रीमद्भागवत (१९४४), स्वास्थ्य प्रदीपिका (१९४९), शिव स्वरोदय (१९५८), स्काउटिङको नोट (१९६५) जस्ता नेपाली अनुवादहरू आए।

दक्षिणएशियामा नेपालीहरूको सबैभन्दा ठूलो कमजोरी के रह्यो भने उनीहरूले आफ्नो भाषा बाहेक दोस्रो भाषा बोल्नु वा जान्नु परेन।

अदालत, अरू सरकारी कार्यालय र शैक्षिक प्रयोजनका निम्ति नेपाली भाषा अनिवार्य गराइँदा अन्य मातृभाषी नेपालीले नेपाली भाषा जान्नुपर्ने बाध्यता र नेपाली मातृभाषीले देशभित्र वा बाहिरका अन्य भाषा सिक्नु–जान्नु नपर्ने हाइसञ्चोको अवस्था रह्यो।

फलस्वरूप, नेपालीहरू अन्य भाषामा रहेको ज्ञान भण्डारसँग परिचित हुने अवसरबाट लामो समयसम्म बञ्चित रहे।

अन्तर्राष्ट्रिय भाषाका रूपमा प्रचलित अंग्रेजीमा राम्रो पकड नहुँदा नेपाली पठितहरूलाई समेत पढ्ने सामग्रीको सदैव अभाव रह्यो।

यसरी समग्र विश्वले पढिरहेको वा जानिरहेको कुराहरूबाट पनि नेपाली समाज केही हदसम्म टाढा रह्यो वा त्यो ज्ञानबाट फाइदा उठाउन सकेन।

यसरी पछि परेको समाजका लागि आफ्नै भाषामा अनूदित अन्तर्राष्ट्रिय पुस्तकहरू उत्कृष्ट पठन सामग्री हुन सक्थ्यो, तर त्यही मामिलामा नेपाल कमजोर देखियो।

मदन पुरस्कार पुस्तकालय (मपुपु) को वेबसाइटले करीब १४०० पुस्तक नेपाली भाषामा अनुवाद भएको देखाउँछ। सबै अनूदित पुस्तक मपुपुमा नरहेकोले यस्ता पुस्तकको संख्या निश्चय नै योभन्दा धेरै छ।

तिनमा पनि धार्मिक पुस्तक बढी छन् भन्न सकिन्छ। नेपाल इसाई साहित्य संघले मात्र ४० भन्दा धेरै पुस्तक नेपालीमा अनुवाद गरेको मपुपुको अभिलेखले देखाउँछ। हिन्दू र बौद्ध धर्म सम्बन्धी किताब योभन्दा धेरै छन्। संस्कृतबाट नेपाली भाषामा अनूदित पुस्तकको संख्या पनि उल्लेख्य छ।

बङ्गाली, उर्दू, संस्कृत, हिन्दी, फारसी, अंग्रेजी लगायतका भाषाबाट अनूदित हुँदै नेपाली भाषामा पुस्तकहरू थपिने क्रम जारी छ, तर त्यसमा आत्मकथा, वेष्ट सेलर उपन्यास, सेल्फ हेल्पका पुस्तक, एनजीओ वा आईएनजीओका रिपोर्ट वा धार्मिक पुस्तकहरूले धेरै ठाउँ ओगटेका छन्।

भारतमा तमिलनाडू लगायतका राज्यले समाजशास्त्र, मानवशास्त्र, शिक्षा, इतिहास वा अरू खोज अनुसन्धानमूलक पुस्तकहरूको अनुवाद तथा प्रकाशनलाई प्राथमिकता दिएको छ। नेपालमा भने सबै खालका पठन सामग्रीहरू आफैंसँग भए जस्तो गरी बस्ने मस्तराम प्रवृत्ति देखिन्छ।

हिजो नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले निकालेका करीब ७० थान अनूदित पुस्तकले नेपाली साहित्यमा विदेशी ज्ञानको भण्डार थेगिएको छ भने निरञ्जनगोविन्द वैद्यको सक्रियतामा निस्केका करीब ३० पुस्तकले नेपाली कम्युनिष्ट आन्दोलन धानिएको छ।

केही नयाँ प्रकाशन गृहहरूले व्यापारिक लाभ हुने खालका किताबहरू अनुवाद गरिरहेका छन्। यसबाट नेपाल बाहिरका भाषाका सामग्रीहरू नेपालीमा पढ्न पाउने व्यवस्था त मिलाइदिएको छ, तर तिनको अनुवाद स्तर र प्रक्रिया दयनीय छ।

जस्तो, पाउलो कोहेलोको ‘द अल्केमिस्ट’ पाँच फरक प्रकाशन गृहबाट पाँचै थरी अर्थ दिने गरी निस्केको छ भने बङ्गलादेशी लेखिका तसलिमा नसरिनका कृतिहरूको भरमार चोरी प्रकाशन भएको छ। नसरिनले आफू ज्यादै दुःखी भएको र कानूनी कारबाहीका निम्ति सहयोग मागेको सन्दर्भ यहाँ स्मरणीय छ।

अनुवादका सन्दर्भमा अर्को कठोर सत्य के छ भने नेपाली भाषाबाट अर्को भाषामा वा नेपालभित्रका मातृभाषाहरूबाट नेपालीमा पनि धेरै अनुवाद हुन सकेनन्। यसको अर्थ, नेपाली भाषामा पढ्नेहरूले न बाहिरको पर्याप्त सामग्री पढ्न पाए न त आफ्नै समाजका अन्य भाषाका उत्कृष्ट सामग्रीहरूबाट लाभान्वित हुन सके।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

हिमालको ५-१२ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...