रिपोर्टशुक्रबार, जेठ १०, २०७०

मध्यमवर्गको आकर्षण चार्टर्ड एकाउन्टेन्ट अध्ययन

रमेश कुमार

तस्वीर सौजन्यः सीमा

धादिङका इब गिरी राजधानीको नेशनल इन्ष्टिच्युट अफ साइन्सेस् (निस्ट) बाट कक्षा १२ को परीक्षा दिएलगत्तै पुतलीसडकको एक चार्टर्ड एकाउन्टेन्सीको कोचिङ इन्ष्टिच्युटमा ‘काउन्सिलिङ’ लिइरहेका छन्।

गिरी जस्ता मध्यमवर्गीय नेपाली विद्यार्थीको रुचि अहिले मेडिसिन, इन्जिनियरिङ र पाइलटिङबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) तिर सरेको छ।

अहिले नेपाल र भारतमा गरी २० हजारभन्दा बढी नेपाली विद्यार्थीले सीए पढिरहनुले पनि यस्तो ‘सिफ्ट’ देखाउँछ।

नेपाली विद्यार्थीले सन् १९६० को दशकदेखि इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डिया (आईसीएआई) मा सीए पढ्न थालेका हुन्।

नेपालमै भने एक दशकअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले सीए शिक्षा शुरू गर्‍यो।

देश–विदेशमा राम्रो रोजगारीको अवसर र सामाजिक प्रतिष्ठाका कारण पछिल्ला वर्षहरूमा बढी नेपाली विद्यार्थी र अभिभावकको रोजाइ सीए हुन थालेको प्राइम सीएका प्रबन्ध निर्देशक नवराज बुर्लाकोटी बताउँछन्।

सीए पढेकाहरूले स्वतन्त्र लेखा परीक्षण, ब्याङ्क तथा वित्तीय संस्था, व्यवस्थापकीय नेतृत्व र विज्ञका रूपमा अवसर पाउँछन्।

सीसीएमए कलेजका प्रबन्ध निर्देशक दीपेश थपलिया ग्लोबल मार्केट र असीमित सम्भावना सीएको मुख्य आकर्षण भएको बताउँछन्। ब्याङ्क तथा वित्तीय संस्थादेखि सरकारी–गैरसरकारी संस्थाहरूमा सीएको माग बढ्दो छ।

आईक्यानका प्राविधिक निर्देशक परमानन्द अधिकारी भन्छन्, “संस्थालाई गति दिन र प्रणाली सुधार्न सीएको माग स्वतः बढ्नेछ।”

'मिहिनेत र लगाव आवश्यक पर्ने यो कोर्स पूरा गर्न इन्ष्टिच्युटहरू 'रामवाण' बनेका छन्।' प्रकाश लम्साल, निर्देशक, चार्टर्ड इन्ष्टिच्युट अफ म्यानेजमेन्ट एण्ड एकाउन्टेन्सी (सीमा)

सीए विश्वविद्यालयको प्राज्ञिक नभई प्रोफेसनल कोर्स हो। आईक्यान र आईसीएआईले तीन तहमा विभाजन गरेको यो कोर्स करीब पाँच वर्षमा पूरा हुन्छ।

आईक्यानको क्याप वान अर्थात् फाउण्डेसन तह आठ महीना, इन्टरमिडियट अर्थात् क्याप टु दोस्रो तह एक वर्ष र क्याप थ्री अर्थात् अन्तिम तह तीन वर्षको हुन्छ।

आईसीएआईको सीपीटी भन्ने पहिलो र आईपीसीसी भनिने दोस्रो तह आईक्यानको भन्दा क्रमशः दुई र तीन महीना छिटो पूरा हुन्छ। दुवैतिर अन्तिम तह प्रयोगात्मक अभ्याससहित तीन वर्षको हुन्छ।

आर्टिकलसीप (प्रयोगात्मक) सिकाइमा विद्यार्थीले अडिट फर्ममा अभ्यास गर्दै सैद्धान्तिक परीक्षा दिनुपर्छ।प्रमाणपत्र तह उत्तीर्णले सीएको फाउण्डेसन तहबाटै पढ्नुपर्छ भने ५० प्रतिशत अंकका साथ व्यवस्थापन स्नातक र ६० प्रतिशत अंक ल्याएका अन्य संकायका स्नातकले सोझ्ै दोस्रो तहमा भर्ना पाउँछन्।

सीएको पहिलो तहमा एकाउन्टिङ, मर्कन्टाइल ल, इकोनोमिक्स र क्वान्टिटेटिभ एप्टिच्युड तथा दोस्रो तहमा ल, इथिक्स एण्ड कम्युनिकेसन, एकाउन्टिङ, कस्ट एकाउन्टिङ एण्ड फाइनान्सियल म्यानेजमेन्ट, कर, एड्भान्स एकाउन्टिङ, अडिट, इन्फरमेसन टेक्नोलोजी एण्ड स्ट्राटेजिक म्यानेजमेन्ट पढ्नुपर्छ।

अन्तिम तहको फाइनान्सियल रिपोर्टिङ, फाइनान्स म्यानेजमेन्ट, एडभान्स अडिटिङ एण्ड प्रोफेसनल इथिक्स, कर्पोरेट एण्ड एलाइड ल, एड्भान्स म्यानेजमेन्ट एकाउन्टिङ, इन्फरमेसन सिस्टम कन्ट्रोल एण्ड अडिट, प्रत्यक्ष–अप्रत्यक्ष कर कानून लगायतका विषयमा उत्तीर्ण हुन कम्तीमा ५० प्रतिशत अंक ल्याउनुपर्छ।

कुनै विद्यार्थी एउटा तहमा एउटा विषय अनुत्तीर्ण भए सो समूहका सबै विषयको पुनः परीक्षा दिनुपर्छ।आईक्यान र आईसीएआईका कर र कानून सम्बन्धी विषय फरक भएकाले आईसीएआई पढेका विद्यार्थीले नेपालमा सीएको लाइसेन्स पाउन थप तीन विषयको परीक्षा दिनुपर्छ।

'संस्थालाई गति दिन र प्रणाली सुधार्न सीएको माग स्वतः बढ्नेछ।' परमानन्द अधिकारी प्राविधिक निर्देशक, आईक्यान

आईक्यानको सीए न्यूनतम रु.३ लाखमा पूरा हुन्छ। यसमध्ये आईक्यानलाई करीब रु.९० हजार बुझाउनुपर्छ भने बाँकी कोचिङ सेन्टरको खर्च हो।

नेपालमा आईक्यानले विद्यार्थी भर्ना, समन्वय र परीक्षा लिएबापत पहिलो तहमा रु.२७ हजार ५००, दोस्रो र तेस्रो तहमा रु.३०/३० हजार शुल्क लिन्छ।

नेपालमा हालसम्म ६७० सीएले आईक्यानबाट लाइसेन्स लिएका छन्। भारतमा पढेका १६२ जना परीक्षा दिंदैछन्।

लगाव आवश्यक

१० जोड दुई गरेका विद्यार्थीले प्रवेश परीक्षा नदिइकनै पढ्न पाउने यो विषय शुरू गर्न जति सजिलो छ, पार हुन उत्तिकै कठिन।

त्यसैले सीएको पाँच वर्षलाई ‘हाँस्न बिर्सिने समय’ का रूपमा अर्थ्याउँछन् विद्यार्थी। एउटा विषय अनुत्तीर्ण हुनेबित्तिकै सबै विषय दोहोर्‍याउनुपर्ने भएकोले वर्षौंदेखि सीएको परीक्षा दिइरहेका जति नै छन् बीचमै पढाइ छोड्ने पनि।

आईक्यानका प्राविधिक निर्देशक अधिकारी भन्छन्, “छोरो सीए बनिसक्दा बाबु जाँच दिंदै गरेको भेटिए भने अनौठो मानिंदैन।”

'विदेशमा एकाउन्टेन्टको रूपमा आकर्षक भविष्य देख्नेहरूले एसीसीए पढ्छन्।' रविन कटवाल कार्यकारी निर्देशक नेपाल कलेज अफ एकाउन्टेन्सी (एनसीए)

सीएको कोचिङ पढाउने संस्था एकेडेमी अफ कमर्सका प्रबन्ध निर्देशक दीपक पाण्डे भने सीए पढ्नै गाह्रो भन्नु गलत हुने बताउँछन्। सीएमा न अध्यापकहरूले पढाउँछन्, न नियमित पढाइ हुन्छ। खासमा यो स्वाध्यायनको विषय हो।

आईक्यान र आईसीएआईले विद्यार्थी दर्ता, भर्ना, पाठ्यवस्तु उपलब्ध गराएर परीक्षा लिने, प्रमाणपत्र र लाइसेन्स दिने लगायतका काम गरे पनि पढाउँदैनन्। कोचिङ इन्ष्टिच्युटहरूले सहजीकरण गरिरहेका हुन्छन्।

'देश–विदेशमा राम्रो कमाइ हुने रोजगारीको अवसर र सामाजिक प्रतिष्ठाले गर्दा पछिल्ला वर्षमा विद्यार्थी र अभिभावकको रोजाइ सीए भएको छ।' नवराज बुर्लाकोटी प्रबन्ध निर्देशक, प्राइम सीए

काठमाडौं उपत्यकामा डेढ दर्जनको हाराहारीमा रहेका सीए इन्ष्टिच्युट चितवन, बुटवल लगायतका शहरी क्षेत्रसम्म विस्तार भएका छन्, विज्ञ शिक्षकको अभाव भए पनि।

वर्षौंदेखि सीएको कोचिङ पढाइरहेको चार्टर्ड इन्ष्टिच्युट अफ म्यानेजमेन्ट एण्ड एकाउन्टेन्सी (सीमा) का निर्देशक प्रकाश लम्साल मिहिनेत र लगाव आवश्यक पर्ने यो कोर्स पूरा गर्न इन्ष्टिच्युटहरू ‘रामवाण’ बनेको बताउँछन्।

एक दर्जन जति कोचिङ संस्थालाई सम्बन्धन दिएको आईक्यानले थप पाँच वटालाई दिंदैछ। यद्यपि, कोचिङ पढाउन सम्बन्धन अनिवार्य नहुँदा अन्यले पनि पढाइरहेका छन्।

यी सबै संस्थाले आईक्यान र आईसीएआई दुवैका कोर्सहरूको अध्यापन गराएका छन्। कतिपय कोचिङ इन्ष्टिच्युटले पैसा असुलेर गुणस्तरीय शिक्षा नदिएको गुनासो पनि छ।

एसर इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत दिवस शाक्य हतारमा कोर्स सकिदिने कतिपय कोचिङ सेन्टरको प्रवृत्तिका कारण विद्यार्थीको सिकाइ प्रभावित बनेको बताउँछन्।

शाक्य भन्छन्, “हामी चाहिं छुट्टी नदिइकनै लामो अवधि लगाएर पढाउँछौं।”

मध्यमवर्गको आकर्षण चार्टर्ड एकाउन्टेन्ट अध्ययन

आकर्षण भारत

सीएका विद्यार्थीमाझ् एउटै पिरलो हुन्छ, आर्टिकलसीपको। तेस्रो तहमा तीन वर्ष कुनै सीए फर्ममा प्रयोगात्मक अभ्यास गर्नुपर्ने भए पनि नेपालमा अभ्यासरत सीए थोरै भएकोले आर्टिकलसीप गर्ने ठाउँ भेटिन हम्मे पर्छ।

लाइसेन्सप्राप्त ६७० नेपाली सीएमध्ये आधाभन्दा बढी जागिरे छन् भने कतिपय विदेशमा छन्। निश्चित कोटा मात्र प्रशिक्षार्थी लिने सीए फर्मले प्रशिक्षार्थीलाई मासिक न्यूनतम रु.३ हजारदेखि रु.५ हजारसम्म पारिश्रमिक दिनुपर्छ।

भारतबाट सीए गरेका एकेडेमी अफ कमर्सका प्रबन्ध निर्देशक दीपक पाण्डे भन्छन्, “खारिएका शिक्षक, पर्याप्त अध्ययन सामग्री र आर्टिकलसीपका लागि नाम चलेका फर्मका कारण विद्यार्थीको रुचि भारतमा छ।”

'हतारमा कोर्स सकिदिने कतिपय कोचिङ सेन्टरको प्रवृत्तिका कारण विद्यार्थीको सिकाइ प्रभावित बनेको छ।' दिवस शाक्य प्रमुख कार्यकारी अधिकृत एसर इन्टरनेशनल कलेज

आईसीएआईको सीपीटी र आईपीसीसी देशभित्रै बसेर पढे पनि फाइनल तहका लागि विद्यार्थी दिल्ली जाने गरेका छन्। भारतमा अहिले तीनै तहमा गरी करीब १० हजार नेपाली विद्यार्थी छन्।

ब्रिलियन्ट स्कूल अफ एकाउन्टेन्सीका निर्देशक अरुण लुईंटेल आईसीएआईको औसत रिजल्ट १५ प्रतिशत भएका बेला पनि ५० प्रतिशत नेपाली विद्यार्थी पास हुने गरेको बताउँछन्।

पछिल्ला वर्षमा स्वदेशमै सीए पढाइ शुरू भएपछि आईक्यानअन्तर्गत पढ्ने विद्यार्थीको संख्या उल्लेख्य छ। आईक्यान अन्तर्गत पहिलो तहमा ७५००, दोस्रोमा ३५०० र तेस्रो तहमा ८०० विद्यार्थी भर्ना भएका छन्।

आईक्यानका अधिकारी भन्छन्, “सस्तोमा देशभित्र गुणस्तरीय शिक्षा पाइने भएकाले विद्यार्थीको रुचि आईक्यानकै सीएमा बढेको छ।”

'ग्लोबल मार्केट र असीमित सम्भावना सीएको मुख्य आकर्षण हो।' दीपेश थपलिया प्रबन्ध निर्देशक सीसीएमए कलेजविकल्प एसीसीए

विकल्प एसीसीए
लेखा व्यवसायीहरूको विश्वव्यापी संगठन एशोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) ले एक दशकदेखि नेपालमा शिक्षा शुरू गरेको छ।

आर्थिक र व्यवस्थापनको लेखा क्षेत्रमा भविष्य देख्नेहरूको ध्यान एसीसीए कोर्सले तानिरहेको छ। एसीसीएको कोर्सले १७० भन्दा बढी देशमा मान्यता पाएकोले जहाँसुकै अध्ययन र काम गर्ने अवसर पाउँछन् विद्यार्थीले।

'आईसीएआईको औसत रिजल्ट १५ प्रतिशत भएका बेला पनि ५० प्रतिशत नेपाली विद्यार्थी पास हुन्छन्।' अरुण लुईंटेल, निर्देशक, ब्रिलियन्ट स्कूल अफ एकाउन्टेन्सी

विश्वभरि कुल पाँच लाख विद्यार्थी र ३९९ परीक्षाकेन्द्र रहेको यो कोर्सको नेपालमा ब्रिटिस काउन्सिलको सहजीकरणमा परीक्षा हुन्छ।

एसीसीए कोर्स पनि स्वाध्यायनमूलक हो, जसको पढाइ विभिन्न कोचिङ इन्ष्टिच्युटले गर्दै आएका छन्।

यो कोर्स पढाउन विभिन्न संस्थाले एसीसीएसँग सम्बन्धन लिएका छन्। यसमध्ये नेपाल कलेज अफ एकाउन्टेन्सी (एनसीए) ले गोल्ड भनिने उच्च तहको सम्बन्धन लिएको छ।

करीब रु.३ लाख ५० हजार खर्च हुने यो कोर्स पढाइका हिसाबले सीए जस्तै हो, जहाँ एकाउन्टिङ, अडिट, फाइनान्स, बिजनेस म्यानेजमेन्ट जस्ता विषय अध्ययन गर्न मिल्छ।

परीक्षा प्रणाली पनि सैद्धान्तिक भन्दा व्यावहारिक हुन्छ। तीन वर्षको आर्टिकलसीप (प्रयोगात्मक) को अनुभव आवश्यक पर्छ।

१४ वटा विषय पढाइ हुने यो कोर्स पूरा गर्न कम्तीमा साढे चार वर्ष लाग्छ। स्नातक र स्नातकोत्तरहरूले भने ११ विषय मात्र दिन पाउने सुविधा छ।

वर्षको दुईपटक हुने परीक्षामा सामान्यतया विद्यार्थीले तीन पेपर दिने गर्छन्। उत्तीर्ण हुन कम्तीमा ५० प्रतिशत अंक चाहिन्छ। यसमा अनुत्तीर्ण विषयको मात्र परीक्षा दिन पाइन्छ।

एनसीए कलेजका कार्यकारी निर्देशक रविन कटवाल भन्छन्, “विदेशमा एकाउन्टेन्टको रूपमा आकर्षक भविष्य देख्नेहरूले एसीसीए पढ्छन्।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>