अर्थ/बजारआइतबार, जेठ १२, २०७०
दूध महलमा पौरखी
कञ्चनपुर जिल्ला सदरमुकाम भीमदत्तनगरमा १६ वर्षअघि दूधको कारोबार शुरू गर्दा देवकी (३८) र चिन्तामणि जोशी (४५) सँग न पैसा थियो न त आफ्नो घर ।
बिहेपछि गरिखान पहाडबाट झरेका उनीहरूले केही त गर्नै परेकाले दूधको काम थालेका थिए ।
अहिले शहरको मध्यभागमा ४९ लाख रुपैयाँमा बनेको तीनतले ‘दूध महल’ मा बसेर कारोबार गरिरहेकी देवकी भन्छिन्, “गोरस नबेच्नु भन्थे, तर हामीले यसैबाट कमायौं ।”
२०५४ सालमा ६६ रुपैयाँमा तीन लिटर दूध किनेर रु.२ नाफामा बेचेका जोशी दम्पतीले त्यसको एक महीनामा दैनिक १० लिटरको कारोबार गरे ।
दूध बेच्ने अरू पसल नभएको त्यतिबेलाको महेन्द्रनगरका चिया पसलहरुमा बिहान मात्र दूधको चिया पाइन्थ्यो । जोशी दम्पतीले ‘बिहान बिक्री नभएको दूध दिउँसो चिया पसलले किन्ला’ भनेरै यस्तो जुक्ति निकालेका थिए ।
“ठूलो कारोबार गर्न पैसा थिएन” देवकी भन्छिन्, “यस्तो होला भन्ने सोचेकै थिएन, तर गर्दागर्दै आफैं भयो ।”
त्यस बेला जोशी दम्पतीको टहरा नजिकै मदिरा पसल खोलेका मामाले ‘दूध बेचेर उँभो लागिंदैन, बरु मेरैबाट माल लगेर बिक्री गर’ भनेर सुझाएका थिए ।
त्यस बेला ‘रक्सी पिएर तपाईंलाई गाली गर्लान्, दूध खाएर मलाई आशीर्वाद देलान्’ भन्ने जवाफ फर्काएर मामाभान्जा हाँसेको चिन्तामणि सम्झन्छन् ।
आजभोलि मामाले ‘भानिज, राम्रो कामको फल राम्रै हुन्छ’ भन्ने गरेको उनले बताए ।
कामबाट प्रगति
दुःखका दिनमा दूधमा हात हालेका जोशी दम्पतीले दायाँबायाँ कतै नहेरी काम गरेको गर्यै गरे । दूध उब्रदा दही जमाए, दहीबाट घ्यू र मोही पारे ।
पहाडबाट झरेकाहरूलाई शुरूमा बोलाई–बोलाई सित्तैंमा मोही खुवाए । विस्तारै मोही पनि लिटरको सात रुपैयाँमा बिक्री हुन थाल्यो ।
आफ्नो टहरा गोरस पाइने ठाउँको रूपमा चिनिन थालेपछि उनीहरूले ‘नर्मदा दूध–दही सेन्टर’ को बोर्ड राखे । काम गर्दागर्दै त्यो ‘सेन्टर’ ‘नर्मदा डेरी उद्योग’ भयो ।
दूध महलमा रहेको उद्योगमा अहिले रु।१६ लाखको मेसिनबाट दही, घ्यू, मोही, पनिर र मिठाइलगायतका दुग्ध परिकार उत्पादन भएर शहरभरि जान्छ ।
अरू के गर्छन हैन, ग्राहकले कस्तो दुग्ध परिकार रुचाउँछन् भन्नेमा चासो राखेर काममा दत्तचित्त भएका जोशी दम्पतीले १६ वर्षको अवधिमा माओवादी द्वन्द्वको समयमा मात्र निराश हुनुपर्यो ।
संकटकालमा साँझ नपर्दै पसल बन्द गर्नु पर्दा दूध खपत दैनिक ७०० लिटरबाट ३०० लिटरमा झरेको चिन्तामणि बताउँछन् । त्यस बेला पाँच छोराछोरीको लालनपालन र कर्मचारीको तलब वितरणमा समस्या आएको उनले बताए ।
“त्यसअघि भात खाने फुर्सद हुँदैनथ्यो” देवकी भन्छिन्, “रक्सी पिएर गलेका मान्छेले पनि दही–मोही किनेर लग्थे, तर हेर्दाहेर्दै बजार सुनसान भयो ।”
२०६२-६३ को जनआन्दोलन सफल नभएसम्म चार वर्षसम्म घाटामै काम गरे जोशी दम्पतीले । त्यसपछि विस्तारै कारोबार बढ्दै गयो । पहिले भीमदत्तनगरमा डेरी उद्योग नै २४ वटा छन् ।
आफूहरूको पुराना ग्राहक भएको र दुग्ध पदार्थको उपभोग बढेकाले कारोबार राम्रै भएको यो दम्पतीको अड्कल छ । अहिले प्रतिलिटर दूध ४५ रुपैयाँ पुगेको छ ।
जोशी दम्पतीले प्रतिकेजी २५ रुपैयाँमा बिक्री गरेको दही अहिले रु.७० पुगेको छ भने मोही ३५ रुपैयाँ लिटर । जोशी दम्पतीले स्टीलको ग्लासबाट थालेको दुग्ध कारोबारमा अहिले ९ जना तालीमप्राप्त सहयोगी छन् ।
बच्चु विक
हिमालको १२-१९ जेठ अंकबाट ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
