अर्थ/बजारबुधबार, जेठ १५, २०७०

यान्त्रिकीकरणलाई सरकारको साथ

हिमालखबर

पूर्वी तराईका तीन जिल्लामा चार वर्षअघि शुरू भएको कृषि यान्त्रिकीकरणमा सरकारले सहयोग गर्ने भएको छ।

७ जेठमा नेपाल कृषि कम्पनीले हालसम्मको कामबारे जानकारी दिंदै यान्त्रिकीकरणमा जाने कृषक समूहका लागि सजिलो कर्जा, बाली बीमा आदिमा सहयोगका लागि गरेको आग्रहलाई सरकारले सकारात्मक रुपमा लिएको छ।

कम्पनीका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतका अनुसार यान्त्रीकरण शुरु गरिएको चार वर्षपछि पहिलो पटक सरकारलाई कम्पनीले विस्तृत जानकारी गराएको हो।

अर्थमन्त्री शंकर कोइराला, नेपाल राष्ट्र ब्याङ्कका गभर्नर युवराज खतिवडा, अर्थ सचिव शान्तराज सुवेदी, कृषि सचिव जयमुकुन्द खनालका साथै आन्तरिक राजस्व विभाग, राष्ट्रिय बीमा संस्थान, लगानी बोर्ड लगायत निकायका प्रमुखहरुको उपस्थितिमा सिंहदरबारमा कम्पनीको विस्तार र योजनाबारे जानकारी गराइएको थियो।

झापा, मोरङ र सुनसरीका २३ सहकारीमार्फत दुई हजार ६०० बिघा जमिनमा सामूहिक यान्त्रीकरण गरिरहेको कम्पनीले किसानलाई बाली लगाउने, भित्र्याउनेदेखि अन्न ब्याङ्किङसम्मको योजना ल्याएको छ।

कम्पनीले बाली उत्पादन चक्रमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने कृषि सहकारीलाई दिने ऋणको व्याजदर बढीमा ९ प्रतिशत कायम गर्नुपर्ने, बीमामा ५० प्रतिशत छुट गरिनुपर्ने जस्ता ७ वटा सिफारिस अघिसारेको छ।

मुनाफारहित सो कम्पनीका अध्यक्ष भेषबहादुर थापाले सरकारले कृषिलाई प्राथमिकतामा राखे पनि यस क्षेत्रमा पर्याप्त लगानी नभएको बताएका थिए।

अर्थमन्त्री कोइरालाले कृषि यान्त्रीकरणमा निजी कम्पनीले पुर्‍याएको योगदानलाई सघाउने कार्यक्रम आगामी बजेटमा ल्याउने प्रतिबद्धता जनाएका थिए भने गभर्नर खतिवडाले देशकै उन्नति हुने यस्तो कार्यक्रमलाई नेपाल राष्ट्र ब्याङ्कले सक्दो सहयोग गर्ने बताए।

अर्थसचिव सुवेदीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा विज्ञसहितको आर्थिक नीति तथा विश्लेषक सुझाव समिति बनाई विस्तृत छलफल गरिने बताए।

मोरङको हात्तीमुढा–६ र टंकीसिनवारी–५ गोकुवाबाट शुरु भएको २३ कृषक समूह आवद्ध कृषि यान्त्रिकीकरणमा यस वर्षभित्रमा यो संख्या ५० पुग्दैछ।

एक बिघा जमिनमा हलगोरु जोतेर १५ दिनमा बाली लगाउने किसानहरू अहिले डेढ–दुई दिनमा यो काम सक्छन्।

यान्त्रिकीकरणपछि एक बिघा जमिनमा बढीमा रु.४० हजारको फाइदा लिन सकिने कम्पनीले जनाएको छ। २०० बिघा जमिनमा खेती गर्न, खेतमै बाली काटेर भित्र्याउन रु.३६ लाख बराबरका दुई ट्रयाक्टरसहित रोटाभेटर, कल्टी, प्लान्टर र हार्भेस्टर (काट्ने मेशिन) चाहिन्छ।

हिमाल ले कृषि यान्त्रीकरणबारे १३ फागुन २०६९ को आवरणमा स्थलगत रिपोर्ट प्रकाशित गरेको थियो।

-डम्बरकृष्ण श्रेष्ठ


हिमालको १२-१९ जेठ अंकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>