रिपोर्टमंगलबार, जेठ २३, २०६९

‘यसकारण हामी दुवै मोर्चामा छैनौं’

सन्त गाहा मगर

कांग्रेसले नेतृत्वको मोर्चाको २२ जेठमा बसेको बैठक । तस्बिरः रासस

संविधानसभा विघटन र ७ मंसीरमा चुनाव गर्ने घोषणालाई लिएर अधिकांश राजनीतिक दल ध्रुवीकृत भइरहेका बेला विघटित संविधानसभाका केही दल भने कुनै मोर्चामा छैनन् । सरकारको नेतृत्व गरिरहेको एमाओवादी र मधेशी मोर्चा लगायतका १९ दलले चुनाव घोषणाको समर्थन र प्रधानमन्त्रीले राजीनामा गर्नु नपर्ने अडानमा छन् भने नेपाली कांग्रेस र एमालेलगायतका २२ दल त्यसको विपक्षमा उभिएका छन् ।

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले राष्ट्रिय सहमतिको खाँचो परेको बेला एमाओवादी र कांग्रेस नेतृत्वको दुवै मोर्चाले सत्तालाई केन्द्रमा राखेकाले कतैको पनि बैठकमा नगएको बताए । संविधानसभा विघटनको कारण बनेका प्रमुख दलका नेताहरू कुर्सी झगडामै अल्झिरहेको भूमिसुधार तथा व्यवस्था मन्त्री समेत रहेका जोशीको ठहर छ । “त्यसैले, दुवै पक्षकाले पटक-पटक फोन गरेर बोलाउँदा पनि कतै गइएको छैन”, मन्त्री जोशीले भने ।

नेपाल मजदूर किसान पार्टीका नेता सुनील प्रजापति चुनाव घोषणा गर्ने अधिकार नभएको प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर सहमतिको मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्छन् । आफ्नो पार्टीको अलग्गै विरोध कार्यक्रम भएकाले दलहरूको मोर्चामा सहभागी नभएको उनले हिमालखबरलाई बताए ।

यसैगरी, संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पार्टीहरुले मोर्चाबन्दी गरेर जुहारी खेल्दा मुलुक तनावमा धकेलिने भएकाले कतै पनि नलागेको बताउँछन् । संवैधानिक, राजनीतिक र संसदीय परम्परा अनुसार बाबुराम भट्टराई मुलुकको कार्यकारी भएर बस्न नमिल्ने केसीको बुझाइ छ । कामचलाऊ भइसकेको प्रधानमन्त्रीको राजीनामा माग्नुलाई पनि उनी हास्यास्पद तर्क ठान्छन् ।

दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान भने आधा माग एउटा र आधा अर्को मोर्चासँग मिलेकाले यता न उता भएको बताउँछन् । संघीयता र समावेशीपनको मुद्दा एमाओवादी मोर्चा तथा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषय कांग्रेस-एमालेसँग मिलेको पासवानले बताए । “यो अवस्थामा दलहरूबीच राष्ट्रिय सहमति कायम गरेर संयुक्त सरकार बनाउनु उत्तम विकल्प हो”, पासवानले भने ।

चुनाव घोषणाको स्वागत गरेको राप्रपा नेपाल पनि कुनै मोर्चामा छैन । यद्यपि, यसका एक नेता चन्द्रबहादुर गुरुङ आफूहरू स्वतन्त्र निर्वाचनको पक्षधर भएको तर बाबुराम भट्टर्राईले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>