ब्लगमंगलबार, जेठ २३, २०६९
यसपालिको वातावरण दिवस
राजधानीको वातावरण स्वच्छ बनाउन २३ जेठको बिहानैदेखि हुलका हुल विद्यार्थीलाई सक्रिय पारियो । विश्व वातावरण दिवसको अवसरमा प्लेकार्ड बोकेका विद्यार्थीहरुको जुलुस टोल-टोलमा पसे । कतै पानीको मुहान सफा राख्न आव्हान गरियो त कतै जथाभावी फोहोर फालेर आफ्नै स्वस्थ्यमाथि खेलवाड नगर्न अनुरोध । समग्रमा उनीहरुले शहरलाई थप प्रदूषित हुनबाट जोगाउन अनुरोध गरे ।
हात-हातमा व्यानर र तुल बोकेका यी कलिला आग्रहकर्ताहरुका अघि-पछि देखिएका कतिपय शिक्षक/शिक्षिका पिच्चपिच्च थुकिरहेका पनि देखिन्थे । शिक्षक/शिक्षिकाहरुको यो व्यक्तिगत व्यवहारले नेपाललाई धेरै गुन लगाएका स्वीस विद्वान टोनी हागनले कुनै बेला लेखेको कुनै एउटा लेखको लाइन सम्झायो । नेपालको १४ हजार किलोमिटर यात्रा गरेर विकासको विधि सुझाएका स्वर्गीय हागनले कहीं लेखेका छन्, “नेपालीहरु धेरै थुक्छन् ।’
वातावरण दिवसको अवसरमा सचेतना जगाउन हिंडेका रहरलाग्दा विद्यार्थीहरुको जुलुसमा अलिअलि खड्किने कुरा उनीहरुको व्यानरमा पनि थिए । कतिपयको तुल/व्यानरले वातावरण जोगाउने सन्देशलाई भन्दा विद्यालयको विज्ञापनलाई बढी महत्व दिएको देखियो । विद्यालयहरुले जेठको घाम नभनी यस्तो राम्रो सन्देश दिन कलिला विद्यार्थीहरुलाई पंक्तिवद्ध बनाएर समुदायमा पुर्याउनु आफैंमा गजव काम हो । तर, कतिपय व्यानरले यो एक दिनलाई पनि पैसाको उद्देश्यबाट अलग नपारेको देखिंदा नमज्जा भयो ।
सबभन्दा नमज्जाको कुराचाहिं के हो भने, यो साल पनि हाम्रा कलिला विद्यार्थीहरु पोहोर, परार झैं उही ध्वाँसे र फोहोरी गल्लीहरु चहारेर वातावरण दिवसमा सरिक भए । पाटनको लगनखेल चोक भएर हिंडेकाहरु वातावरण दिवस मनाउने विद्यार्थी हुन् कि अन्य वटुवा, सबैले नाक थुन्दै छिटोछिटो बाटो काटे । विद्यार्थीका जुत्ताहरु सडक र पेटीमा छरिएका ढलले भिजे । म्याद नाघेका बस, ट्रकले इन्धन पचाएर फाल्ने कालो धुँवा सबैको फोक्सोसम्म पुग्यो । दिनभर वातावरण जोगाउने सन्देश दिंदै हिंडेका कति विद्यार्थी त बिरामी नै भए होलान् ।
हाम्रा नीति-निर्माता र वातावरण संरक्षणको क्षेत्रमा ‘काम गर्ने’ गैर-सरकारी संस्थाहरुले यो दिवस नमनाउने कुरै भएन । विद्यार्थी र विद्यालयहरुका लागि यो दिवस समाज सेवा गर्ने अवसर हो भने नीति निर्माता र गैससहरुका लागि त एक किसिमको चाडै हो । उनीहरुसंग यो दिवस मनाउने बजेट हुन्छ र एक किसिमले सनातन चाडका रुपमा वर्षौपिच्छे समस्याको चाङमाथि महँगा गोष्ठी-सेमिनार र सुकिला र्यालीहरु आयोजना हुँदै आएका छन् । त्यसैले हो, ‘सबै नेपालीले साबुन-पानीले हात धुन थाले भने अथवा वातावरण स्वच्छ भयो भने यी विकासेहरुको के हालत होला’ भनेर व्यंग्य गरिएको ।
हाम्रो राजधानीको फोहोर व्यवस्थापन प्रणाली राम्रो छैन । दलहरु फोहोरमा समेत राजनीति गर्छन् । हरेक ठाउँमा फोहोरका सानातिना पहाड उठेका हुन्छन्, किनभने नागरिकहरु झ्यालबाट फोहोर फाल्छन् र दलहरु त्यसमाथि राजनीति गर्छन् । यो फोहोरी बानीले कुनै दिन भयानक व्याधी निम्त्यायो भने त्यसको पहिलो शिकारचाहिं नागरिकहरु नै हुनुपर्छ । त्यस बेला राजधानीका अस्पतालहरुको क्षमताले नधान्न सक्छ । सबैलाई विदेशको उपचार सम्भव हुँदैन ।
देशमा सरकार र त्यस मातहतमा वातावरण मन्त्रालय पनि क्रियाशील रहेको प्रमाण प्रधानमन्त्री र मन्त्रीहरुले दिइरहेका छन्, बेलाबेला कुचो, टोकरी सहित सडक बढार्न निस्केर । यसलाई नराम्रो मान्न मिल्दैन, तर प्रधानमन्त्रीले एक दिन बढारेर न राजधानीको फोहोर न्रि्रन्छ न त गैर-सरकारी संस्थाहरुले जनतालाई हात धुन सिकाउँदैमा सहर स्वस्थ हुनसक्छ । विद्यार्थीहरुको एक दिने र्यालीबाट पनि समाधान हुँदैन, यो भीमकाय समस्या । बरु यसको प्रभावकारी समाधान नागरिक तहमै छ । आफ्नो टोल आफैं सफा गर्ने, यसमा सहयोग नगर्ने स्थानीय निकायको कान समाउने र फोहोरमा राजनीति गर्नेहरुलाई अर्को चुनावमा भाउ नदिने हो भने कसैले कसैका कलिला बालबालिकालाई तातो घाममा कार्बनडाइमनोअक्साइड खुवाउँदै सडकमा निकालिरहनु पर्दैन ।
वातावरण दिवसका दिन राजधानीका सबै सभ्य नागरिकले ‘मेरो घरको फोहोर म आफैं तह लगाउँछु’ भन्ने सोच बनाए हाम्रो काम राम्रैसँग फत्ते हुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
