अर्थ/बजारआइतबार, जेठ १९, २०७०

औद्योगिक क्षेत्रको निराशा

हिमालखबर

ग्राफले नेपालको कुल औद्योगिक उत्पादनमा प्रमुख उद्योगहरूको तुलनात्मक योगदान देखाउँछ ।

यो तथ्याङ्क नेपाल राष्ट्र ब्याङ्कले हरेक ६/६ महीनामा काठमाडौं, विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीस्थित मुलुकका प्रमुख औद्योगिक क्षेत्रहरूमा गर्ने सर्वेक्षणमा आधारित छ ।

केन्द्रीय ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०६८/६९ को तुलनामा चालु आव २०६९/७० मा उद्योगहरूको कुल उत्पादन क्षमता उपयोगमा केही सुधार भएको छ ।

गत आवको पहिलो ६ महीनासम्म कुल क्षमताको ३८ प्रतिशत मात्र चलेका उद्योगहरू यो आवको पुससम्म क्षमताको ४५ प्रतिशत सञ्चालन भएको सर्वेक्षणले देखाएको छ ।

यसले चालु आवभर उद्योगहरूको उत्पादन क्षमतामा थप सुधार हुने आशा जगाएको छ ।

पहिलो अर्ध–वार्षिकमा बढी लोडसेडिङ हुने भएकाले उद्योगहरूको उत्पादन क्षमता तुलनात्मक रूपले कम हुन्छ ।

वर्षा लागे सँगै विद्युत् उत्पादन बढ्ने भएकाले दोस्रो अर्ध–वार्षिकमा उद्योगहरूको उत्पादन क्षमता बढ्छ । पछिल्ला दुई आवलाई हेर्दा उत्पादन क्षमतामा केही वृद्धि भएको देखिन्छ ।

आव २०६७/६८ मा उद्योगहरू कुल क्षमताको ५४ प्रतिशत मात्र सञ्चालन भएकोमा आव २०६८/६९ मा क्षमताको ५८ प्रतिशत चलेका थिए ।

हालैको सर्वेक्षणले चालु आवको पहिलो ६ महीनामा बियर, पस्मिना, सुती कपडा, साबुन, चियापत्ती र सिमेण्ट उद्योगहरू कुल क्षमताको ५० प्रतिशत भन्दा बढी चलेको देखाएको छ ।

त्यस्तै, चार वटा उद्योगले कुल क्षमताको ३० प्रतिशत भन्दा कम उत्पादन गरिरहेको देखिएको छ । तिनमा वनस्पति घ्यू, बिस्कुट, चुरोट र चिनी उद्योग छन् ।

यहाँनेर अर्को विचारणीय पक्ष के छ भने बाली लगाउने र अन्न निकाल्ने समयले पनि औद्योगिक उत्पादनमा असर पर्छ ।

कतिपय उद्योगहरू बाली लगाउने बेलामा कम र फसलको समयमा बढी क्षमतामा चल्ने गरेका छन् ।

गत आवको वार्षिक तथ्याङ्क हेर्दा ८० प्रतिशत उत्पादन क्षमता उपभोग गर्ने उद्योगमा गार्मेन्ट, बिस्कुट, ईंटा, विद्युतीय तार र चाउचाउ छन् ।

अति न्यून उत्पादन गर्ने उद्योगमा फलाम (२९ प्रतिशत), चुरोट (२४ प्रतिशत) र वनस्पति घ्यू (२२ प्रतिशत) छन् ।

क्षमता उपयोगिता नहुनु मात्र होइन धेरैजसो उद्योगको उत्पादन क्षमता नै घटेको तथ्याङ्क छ ।

बिस्कुट, चिनी, बियर, कागज, साबुन, ईंटा, सिमेण्ट, विद्युतीय तार र प्रशोधित छाला उद्योगको उत्पादन क्षमता गत आवमा घटेको छ । चाउचाउ, सुती कपडा र फलाम उद्योगको उत्पादन क्षमता भने बढेको छ ।

त्यस्तै, चालु आवको ६ महीनामा गत आवको सोही अवधिको तुलनामा बिस्कुट, चाउचाउ, बियर, कागज, फलाम र विद्युतीय तारको उत्पादन बढेको छ ।

उद्योग क्षमता ह्रास हुनु वा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुको प्रमुख कारण विद्युत् अभाव नै हो । सुक्खा याममा बिजुली आपूर्ति नहुँदा उद्योगहरू धेरै घण्टा चल्न सक्दैनन् ।

केही ठूला उद्योग डिजल जेनेरेटरबाट चलेका छन्, जसबाट प्रति उत्पादन लागत बढ्ने नै भयो ।

त्यसरी उत्पादित वस्तु नेपाली नै भए पनि विदेशबाट आयातीत वस्तुसँग बजार प्रतिस्पर्धा गर्न सक्दैनन् र जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्नेहरू थप पीडामा पर्छन् ।

उद्योग क्षमता ह्रास हुनुको दोस्रो प्रमुख कारण उच्च ज्यालादरमा श्रमिक भर्ना हो । नेपाल दक्षिणएशियामै सबभन्दा बढी ज्याला दिने र कम उत्पादकत्व भएको मुलुक हो ।

श्रमिकको ज्याला, भत्ता र अन्य सुविधाले उत्पादनमा प्रत्यक्ष असर पार्छ । नेपालमा श्रमिक र उद्यमीबीच राम्रो सम्बन्ध छैन ।

सानोतिनो समस्यामा पनि मेसिन बन्द गरेर हड्तालमा उत्रिहाल्ने श्रमिकहरूको व्यवहारले पूँजी निष्क्रिय तुल्याउने गरेको छ । उद्योगीहरूलाई हड्तालको समयको पनि तलब दिन बाध्य पारिन्छ ।

नयाँपनको पहिचान र अनुसन्धान गर्न नसक्नु नेपालको औद्योगिक क्षेत्रको तेस्रो ठूलो समस्या हो । नेपालमा उपलब्ध पूँजीको अधिकतम सदुपयोग हुनसकेको छैन ।

श्रमिकहरूमा नयाँ–नयाँ मेसिन तथा उपकरण सञ्चालनको ज्ञान छैन । अनुसन्धान र विकासमा लगानी गरेर आफ्ना उत्पादनको बजार प्रवद्र्धनमा नयाँपन दिने उद्योगहरू अत्यन्त न्यून छन् ।

औद्योगिक उत्पादनमा लामो समयदेखि नकारात्मक प्रभाव पार्दै आएका कतिपय तत्वलाई तत्कालै हटाउन सकिंदैन । विद्युत् आपूर्ति, अनुसन्धान र विकासमा लगानीको अभाव आदिलाई त्यस्ता तत्व मान्न सकिन्छ ।

नेपालले ५ देखि १० वर्षभित्र औद्योगिक क्षमता विस्तार चाहने हो भने उल्लिखित क्षेत्रमा आजैदेखि तीव्र सुधारको पहल थाल्नुपर्छ ।

यसका लागि तत्कालै नीति, नियम तथा कानूनी र संस्थागत संरचना विकास शुरू हुनुपर्छ ।

प्रतिस्पर्धी औद्योगिक उत्पादनलाई बाधा पार्दै आएका श्रम संगठन–श्रमिक–सरकार तथा श्रमिक–उद्यमी सम्बन्ध आदिमा तुरून्तै सुधार हुन जरूरी छ, जसबाट क्षमता उपयोग सम्भव होस् ।

यसका लागि राजनीतिक स्थायित्व र संस्थागत सुशासन सर्वाधिक अनिवार्य पक्ष हुन आउँछ ।

हिमालको १९-२६ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>