रमझमसोमबार, जेठ २०, २०७०
पोखरामा नाट्य जागरण
पोखरामा २०३० को दशकबाट रंगकर्म फस्टाएको हो । रंगमञ्चको त्यो विकासमा सरुभक्त, कृष्ण उदासी र डाँफे कला मन्दिरको ठूलो योगदान रह्यो ।
उनीहरूको कर्मले ४० र ५० को दशकसम्म पोखरा बाहिर पनि निकै चर्चा पायो । त्यसपछि विस्तारै सुस्ताएको पोखरेली रंगकर्म २०६२ सालमा ‘अश्रु ज्वाला’ को मञ्चनपछि पूरै थला परेको थियो ।
त्यसो त, पोखरामा २००६ सालमै धनशमशेर राणाले नाटक प्रदर्शन गरेको इतिहास छ ।
कृष्ण उदासी लेखक/निर्देशक रहेको ‘अश्रु ज्वाला’ पछिको पहिलो नाटक मञ्चनका लागि पोखरेली रङ्गकर्मीहरू अहिले रिहर्सलमा जुटेका छन् ।
पोखरामा फेरि जागरुकता लिएर आउने नाटक ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ को लेखक/निर्देशक पनि उनै कृष्ण उदासी हुन् ।
यो नाटकले समकालीन नेपालको शिथिल राष्ट्रियताको विषय उठाएको उदासीले बताए ।
“युथ क्रियसन थियटरको प्रस्तुति रहेको नाटकमा नेपाललाई ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ बनाउने प्रवृत्ति विरुद्ध युवा जागरण छ”, उदासी भन्छन्, “युवाले नै त्यसलाई रोक्छन् ।”
करीब दुई घण्टाको नाटकले नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जोगाउँदै मातृभूमिमा विदेशी चलखेल कुनै मूल्यमा रोक्नुपर्छ भन्ने सन्देश दिन खोजेको उदासीले बताए ।
पोखरेली नाट्य प्रतिष्ठानको विशेष सहयोगमा हुन लागेको यो नाटकले नेपाल बाहेक भारत, थाइल्याण्ड, दुबई, मलेसिया र नर्वेसम्मको परिवेश समेट्नेछ ।
“अवसरका भोका नाट्यकर्मीहरू काठमाडौं केन्द्रित हुँदा र पोखरामा व्यवस्थित रङ्गमञ्च नहुँदा मात्र हाम्रो रंगकर्म शिथिल भएको हो”, सरुभक्त भन्छन्, “अब पोखराले नाटक मञ्चन मात्र हैन, प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्नेछ ।”
पोखरामा रेडियो नाटक पनि सुरुआत गरेका उदासी सिनेमासँग प्रतिस्पर्धा, प्रेक्षालय, प्रविधि र अवसरको अभावका कारण पछिल्लो समय पोखरेली नाट्यकर्म कमजोर भएको बताउँछन् ।
नाटकमा पुनर्जागरण ल्याउन उदासीकै अध्यक्षतामा पोखरेली नाट्य प्रतिष्ठान गठन गरिएको छ । युथ क्रियसन थियटरका अध्यक्ष कपिल शर्माले अब नाटकलाई सेलाउन नदिने बताए ।
माधव बराल, पोखरा
हिमालको १९-२६ जेठ अंकबाट ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
