रिपोर्टसोमबार, जेठ २०, २०७०

भारतलाई भारी (विस्तृत)

हिमालखबर

-सुवास देवकोटा

भारतीय माओवादी ।

११ जेठमा छत्तीसगढको बस्तरमा भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का लडाकूहरूले आक्रमण गरेर भारतीय कंग्रेसका छत्तीसगढ राज्य प्रमुख नन्दकुमार पटेल, उनका छोरा दिनेश, प्रदेशका पूर्व गृहमन्त्री महेन्द्रसिंह कर्मासहित २८ जनाको हत्या गरे ।

राजनीतिक नेतृत्वमाथि माओवादीबाट भएको भारतको इतिहासमै सबैभन्दा ठूलो आक्रमण हो यो ।

प्रधानमन्त्री मनमोहन सिंहले घटनाको भोलिपल्टै माओवादी विरुद्ध लड्न बनाइएको कमाण्डो बल ‘कोब्रा’ सहित ६०० अर्ध सैनिक बल त्यस क्षेत्रमा पठाउन आदेश दिनुले अब माओवादीप्रति सरकारको व्यवहार कडा हुने संकेत गरेको छ ।

भारतीय संस्थापनको अबको व्यवहारले कुनै समय कोअर्डिनेशन कमिटी अफ माओइस्ट पार्टी एण्ड अर्गनाइजेशन अफ साउथ एशिया (कोम्पासा) मा भारतीय माओवादीसँगै रहेका नेपालका माओवादीलाई पार्ने असरबारे विभिन्न अनुमान गरिंदैछ ।

छत्तीसगढमा आक्रमणका घाइते ।

भारतीय संस्थापनकै सहयोगमा सात राजनीतिक दलसँगको १२ बुँदे समझदारी हुँदै नेपाली राजनीतिको केन्द्रमा पुगेको एकीकृत माओवादीलाई अहिलेसम्म नयाँदिल्लीले नजिकको मित्र मानेको अवस्थामा भारतीय माओवादीप्रति उसले लिने नीतिले कुनै न कुनै प्रकारको प्रभाव पार्ने अनुमान छ,

भलै भारतीय माओवादीसँग यहाँको एमाओवादीले सांगठनिक लगायत कुनै प्रकारको सम्बन्ध नरहेको बताइरहेको होस् ।

भारतीय माओवादीको त्यो स्तरको आक्रमणले नेपालमा त्यो जस्तै अतिवादी शक्तिलाई प्रोत्साहन मिल्ने सम्भावना भने तत्काल देखिंदैन ।

एमाओवादीले हतियारको राजनीति छाडेको बताउँदै पूँजीवादलाई नै बलियो पार्ने भनिरहेको छ । उता, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकदलीय कम्युनिष्ट सत्ताका लागि क्रान्ति आवश्यक रहेको बताए पनि सशस्त्र संघर्ष थालिहाल्ने भनेको छैन ।

त्यसमाथि, २०५२ देखिको द्वन्द्वले थिलथिलो बनेको नेपाली समाजले हिंसात्मक विद्रोहलाई नस्वीकार्ने र नथेग्ने हुँदा अतिवादी विचार वा गतिविधिले प्रोत्साहन पाउने सम्भावना तत्काललाई देखिंदैन ।

पुनर्विचारमा भारत

भारतीय माओवादीले छत्तीसगढमा बम विस्फोट गराएपछिको खाल्डो र माओवादी आक्रमणपछि पुगेका सुरक्षाकर्मी ।

नेपालका माओवादीले जस्तै भारतीय माओवादीले पनि मुलुकका प्रतिस्पर्धी राजनीतिक शक्तिहरूको विवादमा खेल्न थालेको संकेत देखिन थालेपछि भारतीय संस्थापन नराम्ररी झस्केको छ ।

पूर्व संघीय मन्त्री विद्याचरण शुक्ला, कंग्रेस प्रदेश अध्यक्ष, प्रदेशका पूर्व गृहमन्त्रीसहित २० वटा गाडीमा हिंडेको सत्तारुढ भारतीय कंग्रेसको ‘जागरण यात्रा’ लाई भारतीय जनता पार्टीको प्रदेश सरकारले सुरक्षा नदिएको विषय अहिले भारतीय राजनीतिको केन्द्रीय बहस बनेको छ ।

माओवादीले पश्चिम बंगालमा पनि तत्कालीन सत्तारुढ मार्क्सवादी कम्युनिष्ट पार्टी विरुद्ध वर्तमान मुख्यमन्त्री ममता बनर्जीको तृणमूल कंग्रेसलाई उपयोग गरेको प्रसंग अहिले उठेको छ । ११ जेठको आक्रमणमा पर्दा कंग्रेस नेताहरूसँग आफ्ना सुरक्षागार्ड मात्र थिए ।

जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका एमाले विदेश विभाग सदस्य राजन भट्टराई सत्तारुढ कंग्रेसका वरिष्ठ नेताहरूको हत्या भएको घटनाले माओवादीप्रतिको हेराइ, बुझइ र व्यवहारमा भारतीय संस्थापनको सोचमा परिवर्तन ल्याउने बताउँछन् ।

राजनीतिक दलहरूलाई फुटाएर फाइदा लिने नेपालका माओवादीको सफल चालबाजी देखेको भारतीय संस्थापनले आफ्नो मुलुकमा त्यही दोहोरिन दिन्छ भन्नु सही नहुने उनको बुझइ छ ।

भट्टराई भन्छन्, “विदेश मामिलाहरूमा सधैं एकमत हुने भारतका प्रमुख दलहरू अब माओवादीबारे पनि एकठाउँमा उभिनेछन् ।”

लामो समय भारतमा पत्रकारिता गरेका युवराज घिमिरे चाहिं छत्तीसगढ घटनाले नेपालका माओवादी समेतलाई हेर्ने भारतीय संस्थापनको दृष्टिकोण परिवर्तन हुनुपर्ने स्थिति आएको ठान्छन् ।

उच्च राजनीतिक तहको हत्या गर्ने माओवादीसँग वैचारिक निकटता भएको नेपालका माओवादीलाई भरपर्दो साथी मानिरहेको भारतीय संस्थापनले अब आफ्नो नीतिमा पुनर्विचार गर्नै पर्ने वरिष्ठ पत्रकार घिमिरे बताउँछन् ।

उनी भन्छन्, “भारतमा माओवादीलाई दमन गर्ने अनि नेपालमा चाहिं परम्परागत मित्रहरूलाई बेवास्ता गर्दै माओवादीलाई च्याप्ने कामलाई अन्तर्राष्ट्रिय समुदायले पनि ठीक ठहर्याउन सक्दैन ।”

भारतीय संस्थापनले वैद्य नेतृत्वको नेकपा–माओवादीको भाकपा (माओवादी)सँग सम्बन्ध रहेको तर पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी अलग रहेकोले उसलाई आफूले सहयोग गरेको तर्क अन्तर्राष्ट्रिय समुदाय र भारतकै राजनीतिक वृत्तलाई दिने गरेको कूटनीतिज्ञहरू बताउँछन् ।

यस हिसाबले वैद्य नेतृत्वको माओवादीलाई अब भारतका माओवादीसँग सम्बन्ध रहेको आरोपमा भारतीय संस्थापनले बेग्लै व्यवहार गर्ने सम्भावना देखिन्छ ।

तर, वैद्य माओवादीको पोलिटब्यूरो सदस्य पम्फा भुसाल भन्छिन्, “भाकपा (माओवादी)सँग हाम्रो सम्बन्ध छ भन्नु कुप्रचार मात्र हो ।”

आदिवासी आधार

२१ सेप्टेम्बर २००४ मा आन्ध्रप्रदेशको पिपुल्स वार ग्रुप (पीडब्लूजी) र बिहारमा सक्रिय ‘माओइस्ट कम्युनिष्ट सेन्टर’ (एमसीसी) बीच एकता भई भारतीय कम्युनिष्ट पार्टी (माओवादी) बनेपछि भारतका २८ राज्यमध्ये कर्नाटक, छत्तीसगढ, उडिसा, महाराष्ट्र, झरखण्ड, उत्तरप्रदेश र पश्चिम बंगाल समेतका १८० जिल्लामा प्रभाव फैलाएको माओवादीको आधार मूलतः आदिवासी क्षेत्र हो ।

एशियाको तेस्रो र विश्वको दशौं ठूलो अर्थतन्त्र भए पनि भारतमा धनी र गरीबबीचको आर्थिक असमानताको खाडल ठूलो छ ।

माओवादीले आर्थिक अवसरको छनकसम्म नपुगेका ठूलो आदिवासी क्षेत्रलाई आफ्नो विचार प्रयोगको स्वर्ग बनाएका छन् ।

घना जंगल, पहाड, नदी र तालतलैया भएका आदिवासी क्षेत्रमा माओवादीहरूलाई लुक्न र सरकारी फौजसँग भिड्न सजिलो छ ।

छत्तीसगढको दन्तेवाडा होस् वा आन्ध्रप्रदेश र उडिसाबीच फैलिएको दण्डकारण्य वा पश्चिम बंगालको जंगलेमल, सबै आदिवासी बसोबास रहेका घना जंगल क्षेत्र हुन् । यी सबै ठाउँमा माओवादीको बाक्लो गतिविधि छ ।

भारतीय सुरक्षा एजेन्सीहरूको अनुमानमा माओवादीसँग ३० हजार लडाकू र ५० हजार पूर्णकालीन कार्यकर्ता रहे पनि शहर र मैदानी क्षेत्रमा उसको उपस्थिति शून्य जस्तै छ ।

यो तथ्यलाई माओवादीका महासचिव गणपथीले पनि स्वीकारेका छन् । १ जुलाई २०१० मा आन्ध्रप्रदेशको दण्डकारण्य क्षेत्रमा पार्टी प्रवक्ता आजादलाई प्रहरीले पक्राउ गरी हत्या गरेपछि पत्रकार गौतम नौलेखालाई लिखित अन्तर्वार्ता दिंदै गणपथीले भनेका थिए, “शत्रु बलियो भएको ठाउँमा यहाँ मात्र हैन, संसारमै क्रान्तिकारीहरू कमजोर छन् ।”

त्यही कारण, भारतको राष्ट्रिय राजनीति वा मिडियामा माओवादीहरूले ठूल्ठूला ‘कारनामा’ गर्दा वा उसका उपल्लो तहका नेताहरू मारिंदा मात्रै चर्चा पाउने गरेका छन् ।

सन् २०११ को शुरूमा पश्चिम बंगालको लालगड क्षेत्रमा माक्र्सवादीका १२ स्थानीय कार्यकर्ता मारेर चर्चामा आएको माओवादी त्यही सालको नोभेम्बरमा त्यही क्षेत्रमा पोलिटब्यूरो सदस्य मालोजुला कोटेश्वर राव ‘किसनजी’ प्रहरीबाट मारिंदा मात्र समाचार बनेको थियो ।

सन् ७० को दशकदेखिको भारतीय नक्सलवादी र माओवादीका गतिविधि नियालेका एमाले पोलिटब्यूरो सदस्य मुकुन्द न्यौपाने भारतीय माओवादीको ४० वर्षे इतिहासलाई समुद्रको छालसँग तुलना गर्छन् ।

उनका अनुसार, भारतीय माओवादी आन्दोलनलाई नयाँ पुस्ताले ८—१० वर्ष एउटा उँचाइमा पुर्याउँछ अनि त्यो पुस्ता पक्राउ परेर वा मारिएर सकिएपछि आन्दोलन कमजोर बन्छ ।

“समाजमा गरीबी र हेलाँहोचो रहेसम्म उग्रवादको आधार रहिरहने हुँदा भारतीय माओवादी आन्दोलनले निरन्तरता पाएको हो”, न्यौपाने भन्छन्, “तर, कहिल्यै जित्ने स्तरसम्म पुग्न सक्दैन ।”

नक्सलवादी विरासत

भारत सरकारले आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो चुनौती मानेको भाकपा (माओवादी) पश्चिम बंगालको नेपालसँग जोडिएको नक्सलबाडी गाउँमा सन् ६० को दशकको अन्त्यमा शुरू भएको नक्सलवादी आन्दोलनको जगमा निर्माण भएको हो ।

१९६७ मा भाकपा (माक्र्सवादी) बाट विभाजित चारु मजुमदार, कानु सन्याल र जंगल सन्थालले नक्सलबाडीमा ‘सिलिगुडी किसान सभा’ गठन गरेपछि नक्सलवादी आन्दोलन शुरू भएको थियो ।

शुरूमा शान्तिपूर्ण रहेको त्यो आन्दोलन एक वर्षपछि ‘वर्ग शत्रु खत्तम’ को नाममा हिंसात्मक बन्यो ।

हिंसाकै बीच नेताहरूबीचको विवाद तीव्र बनेपछि १९७० मा आन्दोलनका प्रमुख विचारक मजुमदारलाई छाडेर सन्याल, सन्थाल, सत्यनारायण लगायतका नेता अलग भए भने मजुमदारसँग रहेकाहरूले उनलाई वैचारिक र सांगठनिक प्राधिकार मान्दै हिंसात्मक आन्दोलन चलाइरहे ।

कलकत्तासहित ठूला शहर र पश्चिम बंगालका गाउँसम्म पुगेको त्यो आन्दोलन विभाजन, हिंसात्मक गतिविधि र सरकारी दमनका कारण कमजोर बन्दै गयो । १९७२ मा पक्राउ परेको केही महीनापछि जेलमै मजुमदारको मृत्यु भएपछि नक्सलवादी आन्दोलन छिन्नभिन्न भयो ।

१९६२ मा भारतीय कम्युनिष्ट पार्टीसँग अलग भएको भाकपा (माक्र्सवादी) लाई १९६५ मा फुटाएर ‘माओइस्ट कम्युनिष्ट सेन्टर’ बनाएका असित सेन नक्सलवादी आन्दोलनमा समाहित भएका थिए ।

मजुमदारसँग उनीहरूको विवाद शुरू हुँदै गर्दा १९६९ मा बेइजिङ गएका सुरेन बोसले चिनियाँ कम्युनिष्ट पार्टीबाट ल्याएको ९ बुँदे सुझाव नक्सलवादी आन्दोलनको इतिहासमा उल्लेखनीय छ ।

चिनियाँहरूले त्यसबेला ‘व्यक्तिहत्याबाट क्रान्ति नहुने, आफ्नो देशको परिस्थिति अनुसार क्रान्ति अघि बढाउनुपर्ने’ लगायत सुझाव दिएका थिए, जसलाई बोस, सेन, सन्याल र सन्थालहरूले स्वीकारे भने मजुमदार समूहले अस्वीकार गरेर हिंसात्मक गतिविधि चलाइरह्यो ।

मजुमदारको मृत्युपछि नक्सलवादी आन्दोलनको विरासत बोकेका कम्युनिष्टहरू दर्जनौं टुक्रा बने । त्यसमध्येकै एउटा समूहले आन्ध्रप्रदेशमा ‘पिपुल्स वार ग्रुप’ (पीडब्लूजी) बनायो भने अर्काेले बिहारमा ‘माओइस्ट कम्युनिष्ट सेन्टर’ (एमसीसी) पुनर्निर्माण ग¥यो ।

नेकपा (माओवादी) को सहजीकरणमा ती दुईबीच २१ सेप्टेम्बर २००४ मा एकता भएर भाकपा (माओवादी) बन्यो, जसको महासचिव पीडब्लूजीतर्फका गणपथी छन् ।

मजुमदारपछि त्यो समूहको नेतृत्व लिएका सुब्रत दत (जौहर) त्यसको एक वर्षमै प्रहरीसँगको भिडन्तमा मारिए । त्यसपछि १९९३ मा मृत्यु नभएसम्म विनोद मिश्रले त्यो समूहलाई नेतृत्व दिए ।

१९९० मा खुला राजनीतिमा आएको जौहर समूहलाई अहिले भाकपा (माले) लिवरेशनको नामले चिनिन्छ । अहिले यसका महासचिव दिपांकर भट्टचार्य छन् ।

नेपाली माओवादीको सिको

भारतीय माओवादीहरूले नेपालको द्वन्द्वकालमा नेकपा (माओवादी)ले अपनाएका रणनीतिहरू पछ्याउँदै सफलता हात पारेको देखिन्छ ।

माओवादी विरुद्ध लड्न सन् २००६ मा ‘सलवा जुडुम’ नामको सशस्त्र मिलिसिया गठन गरेका छत्तीसगढका गृहमन्त्री महेन्द्र कर्मालाई हत्या गर्नु त्यसको एउटा उदाहरण हो ।

भाकपा (माओवादी)ले अहिले नेपालका माओवादीले जस्तै दन्तेवाडा जिल्लाको फारास्पालमा रहेका कर्माको परिवारलाई सात दिनभित्र घर छाड्ने उर्दी जारी गरेपछि राज्य सरकारले राज्यका मन्त्रीहरूले पाउने ‘जेड’ स्तरको सुरक्षा दिएको छ ।

प्रहरी वा अरू विरोधीलाई ठूलो समूह परिचालन गरी आक्रमण गर्नु पनि भारतीय माओवादीले नेपाली माओवादीबाटै सिकेको तरिका हो । पहिले भारतीय माओवादीले अरू ठाउँका छापामारहरूले जस्तै आक्रमणका लागि स–सानो समूह परिचालन गर्थ्यो ।

राजनीतिक दलहरूबीच विभाजनको बीउ रोपेर त्यसबाट फाइदा लिनु नेपाली माओवादीबाट भारतीयले सिकेको सबैभन्दा महत्वपूर्ण रणनीति भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>