अर्थ/बजारमंगलबार, जेठ २१, २०७०

कृषिमा जम्दै ‘लाहुरे’

हिमालखबर

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न तिनै ‘लाहुरे’ कस्सिएका छन्।

गाउँमै कृषिमा राम्रो सम्भावना देखेपछि अवकाशप्राप्त लाहुरे र वैदेशिक रोजगारमा गएका युवाहरू गाउँमै फर्केर कृषिमा होमिएका छन्।

गोलभेडा गोड्दै थामडाँडाका किसान। तस्वीरः ध्रुवसागर शर्मा

तिनकै प्रयासमा म्याग्दीका गाउँमा अहिले ‘एफएम’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान शुरू भएको छ।

सिंगा गाविसको वास्कुना तिनैमध्येको एउटा गाउँ हो। दुई वर्ष साउदी अरबको अल लाइट कम्पनीमा काम गरेर फर्केका तिलक गुरुङले भैंसीपालन र तरकारी खेतीबाट शुरू गरेको यस्तो अभियान गाउँभरि विस्तार भएको छ।

वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनबाट वार्षिक रु.१२ लाखसम्म कमाइ गर्न थालेका छन्। यो विदेशमा ६ वर्षमा हुने कमाइभन्दा बढी हो।

पशुपालन, दुग्ध उत्पादन, तरकारी र फलफूल खेती, पोल्टी फार्म उनीहरूको प्रमुख पेशा बनेको छ।

६ वर्ष विदेशमा बसेर फर्केका मनबहादुर खत्री भन्छन्, “अर्काको देशमा पसिना बगाउन सक्ने हामीले आफ्नै स्वर्गलाई मरुभूमि बनाएछौं, उमेर बित्दै जाँदा चेत आयो, राम्रै भयो।” अहिले उनी तरकारी खेती र दूध बिक्रीबाट मासिक रु.५० हजारभन्दा बढी कमाउँछन्।

६ वर्ष दुबई र तीन वर्ष मलेसिया बसेर फर्केका नरबहादुर केसी (३०) तथा १३ वर्ष साउदी अरब बसेर फर्केका भीम गुरुङ (३७) पनि कृषि र पशुपालनबाट गाउँमै मासिक रु.४० हजारभन्दा बढी कमाइरहेका छन्।

दुई वर्षअघि रु.२ लाखको लगानीमा तरकारी खेती र कुखुरापालन शुरू गरेका गुरुङ लगानी र सम्पूर्ण खर्च कटाएर रु.८ लाख बचत गरेको बताउँछन्।

यहाँका ४५ घरधुरीले कृषि र पशुपालनबाट गरेको प्रगति देखेर छिमेकी गाउँका युवाहरूले समेत यसमा हात हालेका छन्। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ वागवानी अधिकृत वेदप्रकाश पौडेल भन्छन्, “गुजारा चलाउन विदेश जाने लर्को लागिरहेका बेला वास्कुनाका युवा सबैको प्रेरणा बनेका छन्।”

गाउँमा सबैलाई आत्मनिर्भर बनाउन वास्कुना र थामडाँडाका कृषक मिलेर कृषि सहकारी स्थापना गरेका छन्। सामूहिक आम्दानीको भावना जगाउन सामूहिक तरकारी खेती समेत शुरू गरिएको छ। वास्कुना गाउँलाई ‘फुड एण्ड मिल्क भिलेज’ बनाउन यी पौरखीहरू कम्मर कसेर लागेका छन्।

ध्रुवसागर शर्मा, म्याग्दी

हिमालको १९-२६ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>