रमझममंगलबार, जेठ २१, २०७०

नेपाली टाइम्स इको–फेयर २०१३

हिमालखबर

वातावरणमैत्री उत्पादन, रहनसहन र ब्यवहार अब कुनै ‘ट्रेन्ड’ मात्रै रहेन, दीगो विकासका लागि यो निकै जरुरी भइसकेको छ ।

नेपाली टाइम्सले वातावरणमैत्री उत्पादन र सेवाहरुको दोस्रो प्रदर्शनी ‘नेपाली टाइम्स इको–फेयर २०१३’ २२, २३ र २४ जेठमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गर्दैछ ।

‘इको–फेयर’ ले दिगो विकासका लागि वातावरणमैत्री उत्पादन, सेवा र विचारहरुको प्रदर्शनीका लागि साझा मञ्चको विकास गर्ने उद्देश्य राखेको छ ।

यो प्रदर्शनी हरित लगानीकर्ता, सरकारी निकाय र परिवर्तनका अग्रणीहरुलाई एउटै मञ्चमा ल्याएर व्यबहारिक र नयाँ वातावरणमैत्री रहनसहन निर्माणमा सहयोगी हुनेछ ।

इको–फेयरले सबै खाले सेवा र उत्पादनको अभावका बेला सौर्य उर्जादेखि बायो ग्याँस र विद्युतीय सवारी साधनदेखि अर्गानिक कृषिसम्मको उपयोगबाट सहज र दिगो जीवन शैलीका लागि ब्यवहारिक उदहारण प्रस्तुत गर्नेछ ।

प्रदर्शनीमा सहभागी केही संस्थाहरुः

लक्ष्मी बैंकः उज्यालो अभियान अन्तर्गत प्रत्येक वर्ष एउटा सार्वजनिक स्थलमा सौर्य बत्ती जडान कार्य थालेको बैंकले बागमती पुल थापाथली, पाटन दरबार क्षेत्र, मंगलबजार, सेण्ट जेभियर स्कुल गोदाबरी र थ्रि स्टार क्लबमा सौर्य बत्तीहरु जडान गरेको छ । बैंकका कर्मचारीहरुद्वरा सञ्चालित ‘लक्ष्मी केयर्स’ संस्थामार्फत बैंक सामाजिक कार्यमा सक्रिय छ ।

अल्टरनेटिभ इनर्जी प्रोमोसन सेण्टर (एइपिसि): नविकरणीय उर्जा प्रविधि र उर्जाको उच्चतम प्रयोगका क्षेत्रमा काम गरिरहेको यो अर्ध सरकारी निकायले बायोग्याँस, माइक्रो हाइड्रो, सोलार इनर्जी, सुधारिएको चुलो, सुधारिएको घट्ट र जैविक इन्धन उत्पादनका लागि सरकार र दाताहरुसँगको सहकार्यमा काम गरिरहेको छ ।

वृहत इन्भेस्टमेण्टः हाउजिङका क्षेत्रमा लगानी आकर्षण गर्न काम गरिरहेको बृहत इन्भेस्टमेन्टले सीतापाइला प्रोजेक्टमा पर्यावरण मैत्री उत्पादनको प्रयोग गरेको छ । इन्भेस्टमेन्टले तालिम र शैक्षिक कार्यक्रमबाट विश्वासिला र जानकार रियलस्टेट एजेण्टहरुको विकास गरिरहेको छ ।

सेण्टर फर इन्टिग्रेटेड अर्बान डेभेलपमेण्टः शहरी समस्यासँग जुध्न सन् २००२ देखि सरकारलाई सहयोग पुर्याइरहेको सिआइयुडीले शहरी समस्याको दीगो समाधानका लागि काम गरिरहेको छ । यसले प्लास्टिकबाट पुनः निर्मित भाँडाहरु र बायो ब्रिकेट प्रदर्शन गर्नेछ ।

क्लिन इनर्जी नेपालः यसले दीगो उर्जाका लागि शिक्षा र पैरवी अभियान सञ्चालन गर्दै आएको छ । यसको उद्देश्य नीति निर्माता र प्रभावित समुदाय दुवैलाई स्वच्छ उर्जा स्रोत प्रयोगका लागि र बढ्दो जैविक इन्धनको खपत घटाउन उत्प्रेरित गनु हो ।

गजबको टिः अर्गानिक चिया, कफी, मह र अलोभेरा जुसजस्ता अर्गानीक पेयपदार्थहरुको प्रवद्र्धन गरिरहेको गजबको टिले प्रदर्शनीमा ग्रिन टिको स्वाद चखाउने छ भने स्टेभिया सुगर फ्रि पाउडर लञ्च गर्नेछ ।

चोयालीः तारा थांका, मञ्जुश्री थांका साथै परम्परागत काठे झ्याल निर्माण गर्ने स्वतन्त्र संस्था चोयालीले आफ्ना कलाहरुको प्रदर्शन गर्ने छ ।

हिमालयन नेचुरल्सः बितेका तीन वर्षमै लाखौं ब्रिकेट बिक्री गरिसकेको यो संस्थाको स्टलमा देशका विभिन्न जिल्लाका समुदायसँगको सहकार्यमा तयार पारेका क्याण्डी, चिया, जुस, कफी र मसलाहरु रहने छन् ।

इसेवाः नेपालमा पहिलो पटक सन् २००९ मा अनलाइनबाट खरिदबिक्रीको सेवा शुरु गरेको इसेवाले पनि आफ्ना सेवाहरुको बारेमा प्रदर्शनीमा जानकारी दिनेछ ।

हिमालयन क्लाइमेट इनिसियटिभः काठमाण्डौंमा प्लास्टिकका झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न हाम्री बहिनी परियोजना मार्फत् २०० जना ग्रामीण महिलाहरुलाई कपडा र कागजबाट झोला बनाई आत्म निर्भर बन्न सहयोग पुर्याइरहेको एचसिआइका उत्पादनहरु पनि प्रदर्शनीमा रहनेछन् ।

वातावरण मन्त्रालयः वातावरण संरक्षण, प्रदुषण नियन्त्रण, नविकरणीय उर्जा प्रवद्र्धन आदीका माध्यमबाट वातावरणीय संरक्षण गरी दीगो विकासमा जोड दिँदै आएको यस मन्त्रालयको स्टलबाट सरकारका तर्फका वातावरण सम्बन्धी उपयोगी जानकारीहरु प्राप्त गर्न सकिन्छ ।

करुणा नेचुरल वेयरर्सः सन् १९९७ मा स्थापना भई अल्लो, बाँस, जुट जस्ता प्राकृतिक रेसाहरुबाट कपडा उत्पादन गर्दै आएको यस वेयरको स्टलमा फेशन र प्रकृतिको उत्कृष्ट संयोजनका लुगाहरु रहनेछन् ।

काठमाण्डौं महानगरपालिकाः दैनिक काठमाण्डौंका ८ लाखभन्दा बढी जनसंख्याबाट निस्किएको फोहर व्यवस्थापनमा काम गरिरहेको र आउँदो महिनादेखि काठमाण्डौंलाई प्लास्टिक निषेधित बनाउन लागि परेको महानगरपालिकाको पनि स्टल रहनेछ ।

सोलार सोलुसनः वासिन्दा र व्यापारिक दुबैखाले उपभोक्तालाई सौर्य ऊर्जा प्रदान गर्दै आएको सोलार सोलुसनले आफ्ना सेवा सम्बन्धी जानकारी राख्नेछ ।

नमुना घरः लगभग १५० वर्ष पुरानो नेवारी घरको छनक दिने रबिन्द्र पुरीद्वारा निर्मित नमुना घर धेरैका लागि प्रेरणा बनेको छ । परम्परागत कला र संस्कृतिसँगै आधुनिक सुविधायुक्त घर निर्माणका लागि नमुना घरलाई धेरैले पछ्याउन थालेका छन् ।

सस्टेनेबल कन्स्ट्रक्सन प्य्राक्टिस्ः एससिपीले वातावरण मैत्री निर्माण प्रविधिहरुको प्रदर्शन गर्नेछ ।

फ्युचर ग्रिन इनर्जीः पर्यावरण मैत्री सौर्य ऊर्जा मार्फत् चल्ने एलइडी नेपालमा भित्र्याएको यस संस्थाले पनि स्टल राख्दैछ ।

नेपाल नटक्राफ्ट सेन्टरः तीस वर्षअघि श्यामवदन श्रेष्ठले शुरु गरेको हस्तकला उत्पादनले अहिले सयौं नेपाली महिलाहरुलाई रोजगार दिएको छ । नटक्राफ्टका वातावरणमैत्री उत्पादनहरु पनि ‘इको फेयर’ मा प्रदर्शनीमा राखिनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>