ब्लगबुधबार, जेठ २२, २०७०
गोबरग्याँस महात्म्य
डुमरवाना–८ बेहरीको स्याउलीचोकमा करीब एक दर्जन साइकल सेल, खीर, अचार आदि मिष्टान्नका कोसेली जस्ता लाग्ने अनगिन्ती पोको बोकेर सुस्ताएका थिए।
के रहेछ भनेर बुझ्दा थाहा भयो, ती स–साना पोकामा त चारकोसे झाडीबाट बडो जुक्तिले निकालिएका दाउरा पो रहेछन्।
दाउरा बोक्ने साइकलले बेलाबेलामा यहाँको बाटो नै जाम गरिदिन्छ रे!
अहिले गर्मी मौसम भएकाले साइकल संख्या घटेको जोरलैयाका गोपाल सापकोटाले बताए।
जाडो यामको साँझ्–बिहान दाउरावाला साइकलको भीडले बाटातिर खेल्न निस्किएका केटाकेटीलाई किचिदेलान् भन्ने डर हुने उनले बताए।
सापकोटा लगायतका स्थानीयहरूसँग कुराकानी गर्दा थाहा भयो– सुकेका दाउरा मात्रै उठाउन पाइने नियम भएकाले चारकोसे झाडीभित्र अड्डा जमाएका तस्करहरू रूख ढाल्छन्, सुकुञ्जेल धैर्य गर्छन् त्यसपछि त्यसलाई साइज–साइजमा ढुवानी गर्छन्। यसका लागि वन कर्मचारीसँगको मिलेमतो यो क्षेत्रको ‘ओपन सेक्रेट’ हो।
स्थानीयहरूका अनुसार, चिरान वा सिंगो मूढालाई प्रायः रातको समय मिलाएर ठूला साधनमा सवारी चलाइन्छ भने दाउराको हकमा वन प्रशासन साइकलमैत्री भएको खुलेआम फाइदा उठाइन्छ।
प्रशासनले कहिलेकाहीं दाउरा खोसेझै गरे पनि डराउनुपर्दैन। डराउनु परेको भए जोरलैया, औराहा, स्याउलीचोक लगायतका दर्जनौं ठाउँका बाटामा दाउरा ओसार्ने साइकलले ‘ट्राफिक जाम’गर्ने स्थिति नै आउने थिएन।
यहाँका दाउरा वीरगञ्ज, पथलैया, जीतपुर लगायतका शहर र शहरोन्मुख गाउँहरूमा पुर्याइन्छ। सालको दाउरा प्रति किलो रु.१८ मा बिक्छ। टिकौली, सिग्गड, बोटधयेंरो, सिंदुरे, लसुने, टाँटरीले पनि किलोको रु.१४ पाउँछ।
दाउरा ओसार्नेहरूले दैनिक सरदर रु.८०० सम्म हात पार्छन्। यसबाट धेरै तस्कर र गरीब परिवारको शुभ अनि चारकोसे झाडीको भयानक अशुभ भइरहेको छ। वन विनाशसँग जोडिएको वातावरणीय अमंगल आफ्नो ठाउँमा छँदैछ।
जय गोबरग्याँस
जोरलैयाका ६८ वर्षीय देउपती सापकोटाको घरमा गोबरग्याँस रहेछ, अलिअलि सुकेका हाँगाबिंगा बटुले गाईवस्तुलाई कुँडो पकाउन पुगिहाल्छ।
तर, सापकोटा निवासबाट कलैयासम्म पुग्दा बाटो छेउका कुनै घरमा पनि गोबरग्याँस देखिएन।
बरु थारू, यादव, महतो आदिका घरमा आँगनभरि गुइँठा सुकाएको देखियो। फत्तेपुरका भुमेश्वर चौधरीसँग कुरा गर्दा, उनले गुइँठाको दाउरा बनाउन पनि लगभग छोडिदिएको बताए।
खेतमा मकै गोडिरहेका उनले भने, “थोरै दाउरा वनबाट ल्याउँछु, तर रूख ढालेर ओसार्ने ‘कुकाम’ कहिल्यै गर्दिनँ।”
चौधरीले गुइँठा पार्न छाडे पनि बाटोमा सबैजसो घरअगाडि गुइँठाको पर्वत देख्दा नमज्जा लाग्यो। भएभरको गोबर खाना पकाउन खर्च गरेपछि खेतबारीमा के हाल्ने?
दाउराले वन विनाश बढाए जस्तै गुइँठाले जैविक मललाई धुवाँ बनाइरहेको छ।
निकै कम झयाल हुने मधेशका परम्परागत घरका गृहिणीको स्वास्थ्यलाई गुइँठाको धुवाँले ध्वस्त बनाइरहेको छ।
गोबरग्याँस भए न मल सकिन्थ्यो न त धुवाँ बढ्थ्यो। यी बस्तीहरूमा गोबरग्याँस बनाउन सरकारी अनुदानसँगै चेतना कार्यक्रम आवश्यक छ।
गोबरग्याँस प्लान्टको डोमबाट निस्कने लेदो गोबरमा पातपत्कर मिसाएपछि राम्रो जैविक मल बन्छ।
शौचालयको निकास पनि यसैमा जोड्ने हो भने बाटाबाटामा लथालिङ्ग शौच गर्ने बानीमा सुधार आएर गाउँबस्ती सफा हुने सम्भावना पनि बढ्छ।
वन बचाउन, मलिलो गोबर बचाउन, गाउँ सफा पार्न र गृहिणीको स्वास्थ्य सुधार्न मधेशका गाउँबस्तीमा गोबरग्याँस बनाउन सरसहयोग गरिदिनेहरूको जय होस्।
हिमालको १९-२६ जेठ अंकबाट ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
