टिप्पणीबुधबार, जेठ २२, २०७०
छाउगोठको बन्धन
एउटा बडो राम्रो पोष्टरमा धर्ती सफा राख्नुपर्ने देखाइएको छ।
तर धेरै महिलाले बुद्धि नभएर वा फोहोरी भएर धर्ती फोहोर गरेका पक्कै होइनन्।
सुदूरपश्चिममा विद्यमान छाउपडी संस्कृतिले गर्दा धर्ती फोहोर गर्न बाध्य छन् उनीहरू।
संस्कृतिले उनीहरूलाई कसरी अवरोध गरिरहेको छ भन्नेतर्फ स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गर्नेहरूले ध्यान दिनुपर्छ।
उनीहरू महीनावारीका बेला घर नजिकैको चर्पी प्रयोग गर्न नपाउँदा जंगल वा नदीकिनारमा जानुपर्ने बाध्यतामा छन्।
महिलाले प्रत्येक महीना चार–पाँच दिन चर्पी प्रयोग गर्न पाएनन् भने धेरै खर्च गरेर बनाइएका ठूल्ठूला पोष्टर, सरसफाइ सम्बन्धी सम्मेलन, साबुनले हात धुनुपर्छ भन्ने जस्ता विज्ञापनहरू अर्थहीन हुन्छन्।
शौचको लागि जंगल जाँदा कहाँबाट साबुन लिएर जाने? विना पानी कहाँ धुने?
छाउपडी संस्कृतिले धर्ती कसरी फोहोर भइरहेको छ भन्ने बुझन अछामको उदाहरण काफी छ। अछामका २५ हजार महिला हरेक महीना छाउगोठमा बस्छन्।
तिनले महीनाको चार दिन खोला वा जंगलमा नित्यकर्म गर्छन्।
यो हिसाबले महीनामा एक लाख जनाले खुला ठाउँमा दिसा गर्छन्। यसरी घरघरमा चर्पी बनाए पनि अछामलाई खुला दिसामुक्त जिल्ला भन्न सकिंदैन।
छाउगोठ प्रथा भएका २० जिल्लाका महिलाको संख्या सरदर पाँच लाख छ। अर्थात् २० लाख महिलाले चर्पी प्रयोग गर्न नपाएर महीनाको चार दिन खुला ठाउँमा दिसा गर्छन्।
यस हिसाबले वर्षमा दुई करोड ४० लाख महिला अर्थात् झ्ण्डै नेपालको जनसंख्याले खुला ठाउँमा फोहोर गर्ने भए। अनि कसरी खुला दिसामुक्त क्षेत्र होला?
चर्पी बनाउने कार्यक्रमले धेरै ठाउँमा सुधार ल्याएको छ। कालीकोटवासीको भनाइमा, पहिलेको दिसा नकुल्ची हिंड्नै नसकिने अवस्था फेरिएको छ।
पछिल्लो समय कालीकोट, बझाङ, बाजुरा र अछामका गाउँहरूमा दिसा कम देखिए पनि महीनावारी भएका महिलाहरूलाई नित्यकर्मका लागि जंगल–नदी बाहेक ठाउँ नै छैन।
यसरी धर्ती सफा राखौं भन्ने नारा पुगेको ठाउँमा समेत महिलालाई संस्कृतिले फोहोर गर्न बाध्य बनाएको छ।
पछिल्लो समय अछामको रामारोशन र भागेश्वरी तथा कैलालीको कोलीकटान गाविस छाउगोठमुक्त भएका छन्।
छाउगोठ भत्काइएका गाउँहरूमा महिलाले महीनावारी हुँदा घरको चर्पी प्रयोग गरेर धर्ती सफा पार्ने अभियानलाई सघाउने नै छन्।
कोलीकटानमा स्थानीय शान्ति शर्माको पहलमा छाउगोठ हटाउने काम सफल भएको छ।
शुरूका दिनमा यो अभियानमा महिला, पुरुष कसैले पनि नसघाउँदा उनले जुक्ति प्रयोग गरिन्।
बालिकालाई स्कूल पठाउने र छात्रवृत्ति दिने कार्यक्रममा पनि संलग्न उनले १५० घरधुरी भएको गाउँका शिक्षक/शिक्षिका सहित समुदायका सबै सदस्यलाई छाउगोठमा छोरी राख्नेलाई यो वर्षदेखि छात्रवृत्तिको कार्यक्रम नआउने बताइन्।
अनि मात्र छाउगोठहरू भत्कन थाले। यो अभियानले महिलालाई अपमानित गर्ने संस्कृति हटेको मात्र छैन, उनीहरूलाई धर्ती सफा राख्न पनि तयार पारेको छ।
शान्ति शर्माहरूको जुक्ति–जाँगरले चर्पी आन्दोलन पक्कै सफल बनाउनेछ।
हिमालको १९-२६ जेठ अंकबाट ।