अर्थ/बजारबुधबार, जेठ २२, २०७०

वैदेशिक रोजगारमा जानेक्रम बढ्दो

हिमालखबर

देशको राजनीतिक अस्थिरता र अवसरको अभावका कारण दक्ष तथा अदक्ष युवा वर्गसमेत विदेश जान आतुर देखिन्छन् ।

गत वैशाख महिनामा ३९ हजार २८० जनाले वैदेशिक रोजगारमा जान श्रम अनुमतिपत्र लिएका छन् । अनुमति प्राप्त गर्नेमध्ये ३६ हजार ८१३ जना पुरुष र दुई हजार ४६७ जना महिला रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

चालु आवको १० महिनामा तीन लाख ५७ हजार ७०७ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन् । यो सङ्ख्या गत वर्ष सोही अवधिको तुलनामा करिब १४ प्रतिशतले वद्धि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

वैशाख महिनामा वैदेशिक रोजगारीका क्रममा २१० वटा ठगीका उजुरी परेको र त्यसमा रु आठ करोड ५९ लाख २० हजार रकम दाबी गरिएको थियो ।

त्यसमध्ये ७२ वटा उजुरी फछ्र्योट भई रु एक करोड १५ लाख १२ हजार असुल गरिएको, वैदेशिक रोजगारसम्बन्धी कसुरमा वैदेशिक रोजगार विभागद्वारा रु १० करोड ११ लाख छ हजार असुलउपर गराइएको बताइएको छ ।

चालु आर्थिक वर्षको वैशाख महिनासम्म विदेशमा मृत्यु भएका १६० जनाको शव काठमाडौँदेखि मृतकको घर ठेगानासम्म पुर्‍याउन आर्थिक सहायता प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी मन्त्रालयले साउदी अरबका लागि नेपाली राजदूतलाई वैदेशिक रोजगार विभागलाई दिएको अधिकार चार महिनाका लागि प्रयोग गर्न दिने निर्णय गरेको छ ।

साउदी सरकारले सो देशमा रोजगारदाता परिवर्तन गरी गैरकानुनीरुपमा कार्यरत विदेशी कामदारहरूलाई स्वदेश फर्कन वा पुनः कानुनीरुपमा स्वीकृति लिई काम गर्न सक्नेगरी छनोटको सुविधासहित क्षमादान गरेकाले सोहीअनुरुप नेपाली श्रमिकको व्यवस्था गर्ने प्रयोजनका लागि अधिकार प्रदान गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>