रिपोर्टबुधबार, जेठ २२, २०७०

एकीकरण कि मोर्चाबन्दी

हिमालखबर

-नवीन झा

११ जेठमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश केन्द्रित दलका सबै शीर्ष नेतालाई बोलाएको अनौपचारिक चियापानमा उपेन्द्र यादव, विजय गच्छदार र राजेन्द्र महतो गएनन् ।

ती बाहेकका नेता उपस्थित बैठकमा ठाकुरले एकठाउँ बसेर कुरा गर्न चियापान राखेको बताउँदै भनेका थिए, “म पनि तपाईंहरूको सुझव अनुसारै अघि बढ्ने हो ।”

चियापान कार्यक्रममा सहभागी ‘तराई–मधेश राष्ट्रिय अभियान’का संयोजक जयप्रकाश गुप्ताले डेढ महीनासम्म मधेश घुमेर आएको बताउँदै ‘चुनाव या संघर्ष जता होमिए पनि हामी तपाईंको नेतृत्वमा काम गर्न तयार छौं’ भन्दै ठाकुरलाई आश्वस्त पारेका थिए ।

तमलोपाले एक वर्ष पहिलेदेखि नै चुनावमा जानुअघि मधेशी दलहरू एउटै पार्टी हुनुपर्ने र त्यो नभए एउटै मोर्चामा आबद्ध हुनुपर्ने बताउँदै आएको थियो ।

त्यसका लागि तमलोपाले सह–अध्यक्ष हृदयेश त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएर मधेशी दलहरूसँग छलफल पनि गरेको छ ।

टोलीमा सदस्य रहेका तमलोपाका सह–महामन्त्री जितेन्द्र सोनल मधेशी दलहरूबीच एकता वा मोर्चाबन्दीको विकल्प नरहेको बताउँछन् ।

उनी एक चरण मधेश घुमेर आएकाहरूलाई परिस्थितिबोध भएको हुनुपर्ने अनुमान लगाउँछन् । “सबैको मुद्दा र उद्देश्य एउटै छ, चुनावमा १० वटा झ्ण्डा बोकेर जानुको तुक छैन”, सोनल भन्छन्, “त्यसैले सके एउटै झ्ण्डा, नभए पनि एउटै चुनाव चिन्ह लिएर जानुपर्छ ।”

सबैको दाबी अध्यक्ष

एकता प्रयासलाई मूर्तरूप दिन तमलोपा अध्यक्ष ठाकुरले उपेन्द्र यादव, विजय गच्छदार र राजेन्द्र महतोसँग आफैं कुरा गरिरहेको स्रोत बताउँछ ।

साना दलहरूले ठाकुरलाई मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष यादव, फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदार र सद्भावनाका महतोलाई मिलाएर एउटै पार्टी निर्माण गर्न सुझव दिएका छन् ।

त्यसअघि गुप्ता, शरतसिंह भण्डारी, अमर यादव, देवेन्द्र मिश्र, सरिता गिरी, रामनरेश राय लगायतका नेताहरूले तमलोपासँग पार्टी एकता गर्ने र त्यसपछि यादव, गच्छदार र महतोसँग निर्णय हुने स्रोत बताउँछ ।

तर, डेढ दर्जन मधेशवादी दलहरूको एकताका लागि अध्यक्ष पद बाधक बनेको स्रोतको भनाइ छ ।

गच्छदारले केही समयअघि तमलोपाको वार्ता टोलीका एक सदस्यमार्फत तमलोपा अध्यक्ष ठाकुरलाई फोरम (लोकतान्त्रिक) विघटित संविधानसभाको सबैभन्दा ठूलो मधेशी दल भएकाले आफूलाई अध्यक्ष दिन प्रस्ताव पठाएका थिए ।

त्यो अवस्थामा ठाकुर मधेशका सर्वमान्य नेता हुने गच्छदारको भनाइ छ । उता फोरमका अध्यक्ष यादवले पनि आफू मधेश आन्दोलनको नेतृत्वकर्ता भएकाले अध्यक्ष पदको दाबासहितको प्रस्ताव ठाकुरलाई पठाएका छन् ।

सद्भावना अध्यक्ष महतोले पनि सम्मानजनक हैसियत नभए आफूहरू एकता वा मोर्चाबन्दीमा नआउने भन्दै अध्यक्षमा घुमाउरो दाबी गरिसकेका छन् । यसबारे तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन्, “यस विषयमा सबैजना बसेर निर्णयमा पुग्न सकिन्छ ।”

तमलोपाका एक नेता सानाहरूलाई व्यवस्थापन गर्न सके ठूला दलहरूसँग ‘डिल’ गर्न समय नलाग्ने बताउँछन् ।

मधेशका जिल्ला घुम्दा मधेशी दलका नेताहरूप्रति तीव्र आक्रोश देखेका उनी सबैलाई धरातलीय यथार्थ अवगत हुन थालेकाले एकता प्रयास सफल हुनेमा आशावादी छन् ।

गच्छदारसँग एकीकरण लगभग निश्चित भइसकेको र महतो पनि एकता–मोर्चाबन्दीको विरोधी नभएको उनको भनाइ छ ।

११ जेठको चियापानमा सहभागी साना ११ मधेशी दलमध्ये रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावना पार्टीका महासचिव कौशलेन्द्र शर्माले अबको समयमा एउटै उद्देश्यका सबै समूह एउटै पार्टीमा रूपान्तरित नभए भविष्य सुदृढ नहुने बताए ।

अघिल्लो संविधानसभा निर्वाचनका बेला भएको एकीकरण प्रयास अन्तिम घडीमा उपेन्द्र यादव नआएपछि तुहिएको थियो ।

हिमालको १९-२६ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>