ब्लगशुक्रबार, जेठ २४, २०७०
हिमालपारि मधेशी अनुभूति(फोटो ब्लग)
मधेशतिर गोरु वा टाँगन घोडाको जस्तो घण्टी बजेको सुनेर एकाबिहानै झ्याल खोलेर हेर्दा त खच्चडको बथान पो रहेछ!
तल बेसीशहरतिरबाट मनाङ सदरमुकाम चामे र चामेबाट माथिल्लो मनाङतिर सामान ढुवानी गर्ने यिनीहरूलाई ‘हिमाली ट्रक’ भनिंदोरहेछ।
घण्टी हल्लाउँदै बथानको अगुवा भएर हिंड्ने खच्चड ‘लम्बु’ कहलाउँदो रहेछ। जिल्लामा पेशेवर भरियाहरू पनि प्रसस्तै देखिए।
तिनले बोकेका सामग्रीहरूले विकास गतिविधिमा मनाङ पछाडि नभएको बुझियो। मान्छे बोक्न चालकसहितका मोटरसाइकल पनि पाइँदोरहेछ।
पर्साको रैथाने एक मधेशी नेपालीको लागि हिमाली सभ्यता, संस्कृति र सौन्दर्यले भरिपूर्ण मनाङका सबैथोक कौतुकमय रह्यो।
नेपाल सरकारको मापदण्डले मनाङलाई अति दुर्गम जिल्लाको ‘क’ वर्गमा राखेको छ। जिल्ला सदरमुकाम चामे तल्लो मनाङमा पर्छ।
माथिल्लो मनाङ अझ विकट पहाडमा छ। मधेशको एउटा गाविसको जति पनि कुल जनसंख्या नरहेको चामेमा कतै भीडभाड देखिंदैन। बजारमा सरसफाइको चेतना छ।
महँगा भन्न नमिल्ने होटलहरूमा फोन, इन्टरनेट र तातो–चिसो पानीको व्यवस्था छ। मधेशी जिब्रोमा बसेको माछा र दही भने पाइँदो रहेनछ मनाङमा।
लमजुङको बेसीशहरबाट आएको ६५ किलोमिटर सडकलाई फर्केर हेर्दा मेरो सातो जान खोजे पनि त्यही जीपमा झुण्डिएर यात्रा गर्नेहरू पनि थिए।
अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी नदी किनारको यो सडकको यस्तो खतरापनले पनि धेरै पर्यटकलाई तानिरहेको हुँदो हो।
मधेशबाट उत्तर हेर्दा चुरे पहाड देखिरहेको मान्छेलाई यहाँ त नाकै अगाडि हिमालय पर्वत विराजमान भएको लाग्यो।
चामेको दिनचर्यामा मूलतः पर्यटन गतिविधि र माथिल्लो मनाङको लागि सामान ढुवानी पर्दोरहेछ।
एक त जनसंख्या थोरै, त्यसमा पनि धेरैजसो सम्पन्न रैथानेहरू बाहिर बस्ने भएकाले यहाँको आर्थिक गतिविधिमा छिमेकी जिल्लाका व्यवसायीहरू बढी रहेछन्।
कर्मचारीलाई पनि सदरमुकामका कुरुवा भन्न सकिन्छ। अचम्म, हिमालपारिको चामेमा २५ वर्षदेखि जमेका एक भारतीय मित्र र उनकै बाटो पहिल्याउँदै आएका केही मजदूर पनि भेटिए।
तस्वीर/आलेखः चन्द्रकिशोर
हिमालको १९-२६ जेठ अंकबाट ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
