रमझमसोमबार, जेठ २७, २०७०
भूम्या रौनक
-देविका घर्ती मगर, दाङ
रुकुमको तकसेराबाट दाङ बसाइँ सरेकी जुनु बुढाले नजिकिंदो भूम्या (नोगोबाङ्गे) पर्वका लागि नयाँ कपडा किनिसकिन् ।
मगर विद्यार्थी संघ दाङकी अध्यक्ष समेत रहेकी जुनु यस वर्ष घोराहीमा भूम्या महोत्सव आयोजना गर्न खटेकी छन् ।
तकसेराबाटै दाङ सरेकी लाख बुढा मगरले पनि अहिले आफ्नो ढल्कँदो उमेर बिर्सेकी छन् । भूम्याकी अगुवा नै भएकीले उनलाई एक हिसाबले तरुनी जोश देखाउन कर पनि लागेको छ ।
भूम्या खाम र पाङ मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् ।
वैशाख–भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने गरिए पनि १ असार प्रमुख अवसर हो । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ ।
आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य हो । यो अवसरमा गाउँका भद्रभलाद्मी बसेर ‘जनप्रतिनिधि’ छान्ने परम्परा पनि छ ।
भूम्या नाच्ने ठाउँलाई नागोपो भनिन्छ । नागोपोमा समूह बनाएर नाच्ने परम्परागत भेषभुषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाड–हिमालमा जान्छन्, जसलाई ‘नोगोपो जाने’ भनिन्छ ।
अर्नीपानी/सगुन बोकेर ‘नोगोपो जाने’हरूले ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्छन् ।
उनीहरूको शरीरमा आएको भूतप्रेतलाई बूढापाकाले फुकफाक गरेर झारिदिन्छन् । उनीहरूले ल्याएको बुकी फूल गाउँको सबै घरमा पुर्याइन्छ । भूम्या नाच १ असार बिहानको पूजापछि शुरू हुन्छ ।
पुजारीले पूजा विधि सकेपछि मार (भेडा, बोका, कुखुरा, सुँगुर) लाई दौडाएर गाउँ निकाला गरिन्छ ।
त्यसलगत्तै महिलाहरूले ध्वाँसो, खरानी, दशैंमा ढोकामा राखिएको टीका–जमरा घरबाहिर फाल्छन् । यसो गर्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने विश्वास छ ।
गाउँ निकाला गरिएको मारलाई भूम्या थानमा काटिन्छ । गाउँ निकाला गर्दा केटाहरूले पल्टाउँदै तल खोलामा लुकाएको मारलाई बूढापाकाहरूले खोजेर भेट्टाउनुपर्छ ।
भेट्टाएपछि त्यही खोलामा अर्को बोकाको बलि दिइन्छ । माओवादी विद्रोहका कारण केही वर्ष बन्द भएको भूम्या नाचको २२ चाल १७ मा खुम्चिएको छ ।
हिमालको २६ जेठ-२ असार अंकबाट ।