रमझमआइतबार, जेठ २६, २०७०
आइ एम ब्लेस्ड
म १६ वर्षकी हुँदा मेरै उमेरका पेम्बा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा पुगेर कान्छो आरोहीको रेकर्ड बनाएका थिए ।
पेम्बाको आरोहणपछि कहिले–कहिले कति नेपाली महिला सगरमाथाको शिखर पुगेका रहेछन् भनेर बुझ्न थालें । यसबीचमा १० जना नेपाली महिलाको टोलीले सफल आरोहण गर्यो ।
त्यो समूहकी शैली बस्नेतलाई भेटेर अनुभव सुनेपछि आरोहणको जोश बढ्यो । असार २०६९ मा पर्वतारोहण कोर्ष गर्न मनाङ गएँ । र, २५ वैशाख २०७० मा सगरमाथा आरोहणका लागि काठमाडौंबाट मेरो यात्रा शुरू भयो ।
आरोहणमा मैले चार वटा खतराको परिकल्पना गरेकी थिएँ– लुक्लामा ल्याण्डिङ, सगरमाथा चढ्दा, ओर्लिंदा र काठमाडौंमा ल्याण्डिङ गर्दा । त्यसपछि मात्र पूरै सुरक्षित हुन्छु जस्तो लाग्थ्यो । लुक्लामा ल्याण्ड गर्ने बेला जहाजले टर्न लिंदा एकदमै डर लाग्यो ।
लुक्लाबाट नाम्चे, स्याङ्बोचे, पाङ्बोचे हुँदै ९ दिनमा बेसक्याम्प पुग्यौं । त्यो बाटोमा गुम्बा, गुराँस र हिमाल हेर्दा नेपालमा जन्मिएकोमा आफूलाई भाग्यमानी ठानिन्छ ।
किन ढाँट्नु ? त्यसअघि मलाई थुक्क म किन यस्तो देशमा बसिरहेको छु, यो पनि छैन, त्यो पनि छैन भन्ने लाग्थ्यो ।
तर, सगरमाथा यात्रापछि लाग्यो– आइ एम ब्लेस्ड ! यदि अब फेरि अर्को जुनीमा पनि जन्मिने ठाउँ छान्न पाएँ भने नेपालमै जन्मिन चाहन्छु ।
बेसक्याम्पमा बस्दा एकजना भारतीय आरोहीले तिरंगा गाडेर फर्फराए । मैले सेभेन समिटका निर्देशक टासी शेर्पालाई भनेर त्यो झण्डा झिक्न लगाएँ ।
ती भारतीयलाई आफ्नो राजदूतावास बाहेक अन्त त्यसरी झण्डा फहराउन पाइँदैन भन्ने थाहा रहेनछ, वादविवाद सकियो । त्यहाँ पुगेपछि म राष्ट्रियताको बारेमा बढी गम्भीर भएँ ।
विदेशीहरूसँग चुचुरोमा पुग्दा र त्यहाँ नेपालको झण्डा फर्फराइरहेको देख्दा यो भावना अझ प्रबल बन्दो रहेछ । भाग्यवश, सगरमाथा हाम्रो हो ।
हत्केलामा ज्यान
८००० हजार मिटरभन्दा अग्ला १४ चुचुरा बीचको बेसक्याम्पमा पहिलो रात हिमपहिरोको गड्याङगुडुङ आवाजले म निकै अत्तालिएँ ।
टासी दाइले यहाँ सधैं यस्तै हुन्छ भनेपछि सम्हालिएँ । त्यही कारण यसलाई ‘डेथ जोन’ भनिंदो रहेछ ।
म यो पटक नसके अर्को पटक सगरमाथा चढ्न चाहन्थें, तर मर्न चाहन्नथें । एक महीना बेसक्याम्पमा बसेर ३ जेठको बिहान २ बजे म उकालो लाग्दा आमा, भाइ अरू शुभचिन्तकहरूले भगवानसँग मेरो सुरक्षाको प्रार्थना गरिरहनुभएको थियो ।
मैले भगवानलाई चुचुरोमा पुर्याइदेऊ त भनिनँ, तर सुरक्षित राखिदेऊ भनिरहें । बेस क्याम्पमा मृत्युका खबर आइरहन्थे ।
हामी शिखरतिर लाग्ने क्रममा ७ जना मरिसकेका थिए । तीमध्ये दुई जना हाम्रै समूहका थिए । त्यहाँ त मृत्युका खबरले मानसिक रूपमा बलियो बनाउँदो रहेछ ।
प्रत्येक दोस्रो क्याम्पमा पुग्दा असुरक्षाको एक चरण पार गरें भन्ने लाग्ने । दशचोटि सगरमाथा चढिसक्नुभएका जाङ्बु दाइ हामीसँग हुनुहुन्थ्यो ।
खुम्बु आइसफलमा उहाँले मलाई दिनुभएको हात भगवानको हातभन्दा कुनै अर्थमा कम थिएन । त्यसक्रममा केही सेन्टिमिटरको फरकको अर्थ जीवन र मृत्यु हुन जान्थ्यो ।
सगरमाथा अभियानको ६ दशकमा यो आइसफलबाट कति जीवन झर्यो कुनै हिसाब छैन ।
बेसक्याम्प माथिको जोखिम भनिसाध्य हुँदैन । ज्यान हत्केलामा राखेर हिंड्नुपर्छ । क्याम्प १ देखि क्याम्प ४ को ५-६ घण्टाको दूरी छ ।
क्याम्प १ मा केहीबेर आरामपछि क्याम्प २ मा २ दिन र क्याम्प ३ मा १ रात बस्यौं । त्यहाँबाट बिहान ७ बजे उकालो लागेको दिउँसो १ बजे क्याम्प ४ पुग्यौं ।
क्याम्प ४ मा सामान्यतः बास बसिंदैन । त्यहाँ आराम गरेर बेलुका ८ बजे चुचुरोतर्फको यात्रा शुरू भयो ।
म निकै थाकिसकेकी थिएँ । हिलारीस्टेप पुग्नु अगाडि एउटा निकै लामो ढुंगा नाघ्नुपर्छ । त्यहाँ मलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन मास्क खोलिदिएँ ।
जाङबो दाइ आएर हेर्दा अक्सिजन आउने पाइप चिसोले जमिसकेको रहेछ । उहाँले आइस फोरिदिनुभयो । उहाँको पनि पाइप जमेछ । त्यसलाई पनि फोरियो ।
हिलारी स्टेप नाघ्दा सूर्योदय भयो, जसले मेरा सारा थकान बिर्साइदियो । मैले आफैंलाई बिर्सें । म बादलमाथि सूर्य किरणमा तैरिरहेकी थिएँ ।
तल सूर्यमा नुहाएको बादल र हिमालको सौन्दर्य सिवाय अरू केही थिएन । सूर्योदयको यो माहोलमा स्वर्गै आइपुगें जस्तो लाग्यो ।
बिहान ७ः१५ बजे चुचुरोमा पुगेर जाङ्बु दाइ र मैले देशको झण्डा फहरायौं र २० मिनेटसम्म विना अक्सिजन बस्यौं । बल्ल मैले घरपरिवार, आफन्त र साथीसँगीहरूलाई सम्झें, बडो कृतज्ञ हुँदै ।
बेसक्याम्पदेखि क्याम्प १ सम्म रमाइलोसँग आइपुगेकी मलाई क्याम्प २ पुग्न गाह्रो भएको थियो । म कम उमेरका फुच्चे आरोहीहरूसँग हिंडेकी थिएँ ।
क्याम्प ४ माथि मेरो अगाडिको एउटा फुच्चे हिंड्नै मानेन । रुकस्याक र अक्सिजनका बोतलहरू फालिएको ठाउँसँगै एकजना आरोही डोरीमा उँधोमुण्टो झुण्डिरहेको देखेर ऊ रोकिएको रहेछ ।
म चाहिं छिटो हिंड, छिटो हिंड मात्रै भनिरहेकी थिएँ । ती बंगलादेशी आरोही अहमद हुसैन ९३५० लाई त्यहीं छाडेर हामी उकालो लाग्यौं । हामी फर्किंदा उनी त्यहीं थिए ।
आफ्नै ज्यान कतिखेर जाने हो भन्ने टुंगो नहुने भएकाले यत्रतत्र भेटिने लासहरूप्रति संवेदना हराउँदो रहेछ । शिखरमा पुगेकै दिन हामी क्याम्प ४ झरेर बस्यौं । अर्को दिन क्याम्प २ मा र अर्को दिन बेसक्याम्प आइपुग्यौं ।
त्यसक्रममा फर्किंदा जापानी, कोरियाली, चिनियाँ र बंगलादेशीको गरी सात वटा लास हेर्नुपर्यो ।
कोरियाका सुङ हो सेओ ९३४० सगरमाथालाई अक्सिजन विना आरोहण गरेको ८००० मिटर माथिका १३ औं चुचुरो बनाउन हिंडेका थिए ।
उनले मलाई नेपाली नायिका भनेर सम्मानका साथ बेसक्याम्पको आफ्नो टेण्टमा बेलुकाको खाना खान बोलाएका थिए ।
सन् २००९ को मिस कोरियासँग विवाह गरेका उनले सगरमाथाबाट फर्किएपछि बच्चा जन्माउने योजना पनि सुनाएका थिए ।
तिनै युवकलाई क्याम्प ४ बाट आधा घण्टा जति माथिको भीरमा मर्नलाई र्याल काढिरहेको देख्नुपर्यो ।
उनको कोरियन सहयात्रीलाई अक्सिजन लगाइदेऊ भन्यौं तर विना अक्सिजनको रेकर्ड बनाउन चाहेका सुङ होले त्यो चाहेनन् ।
हिमालको २६ जेठ-२ असार अंकबाट ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
