रिपोर्टआइतबार, जेठ २६, २०७०

स्वतन्त्र महिला ! पूर्ण नागरिक !

हिमालखबर

तस्वीरः बिक्रम राई

चैतन्य मिश्र

पूँजीवादी लोकतान्त्रिक परिवेशमा स्वतन्त्र हुनु भनेको जो–कोही नागरिक विशिष्ट सीमाभित्र ‘आफूखुशी’ र ‘समान’ भएर जिउन पाउनु हो ।

यो भनेको अरू कसैको अधीन वा हैकममा नरहने तथा खासगरी जन्म र लिंगको आधारमा असमान वा कम मर्यादाको हुने पद्धतिको विपरीत अवस्था हो ।

सम्पत्ति आर्जन गरेर त्यसमा स्वामित्व राख्न सक्ने, साक्षर–शिक्षित–सुसूचित हुने, सामाजिक सेवा–सहुलियतमा पहुँच, राम्रो स्वास्थ्य–लामो उमेरको सम्भावना र सार्वजनिक जीवनमा पूर्ण अवसर–अधिकार नागरिक स्वतन्त्रताको अवस्था हो ।

स्वतन्त्रताको यो अवस्थामा आज नारीहरूले पनि आफूलाई जन्मजात अधीनस्थता वा आश्रितपना, घरायसी बन्धन, भौतिक सुरक्षाको अभाव बाहिर फैलाउन थालेका छन् ।

महिला स्वतन्त्रता भनेको उत्पादनमा आफूले रोजेको बाटो लिन सक्ने, निजी–सार्वजनिक जीवनमा आफ्नो रोजाइ अनुसार चल्न सक्ने, बच्चा जन्माउने वा नजन्माउने वा कहिले जन्माउने भन्नेमा स्वनिर्णय लिन सक्ने अवस्था हो ।

हिजो र आज

यस्तो बेला थियो, जतिखेर बच्चा जन्माउनुलाई नै नेपाली महिलाको मुख्य दायित्व ठानिन्थ्यो र सुत्केरी हुँदाहुँदै उनीहरूको जीवन बित्थ्यो ।

परिवार नियोजनको साधनको उपलब्धता र चेतना अभिवृद्धिले अब यस्तो बाध्यताबाट मुक्त छन्, महिला ।

औसतमा ६ बच्चा पाउने अवस्थामा रहेका नेपाली महिलाहरूको तथ्याङ्क अहिले २।६ मा झ्रेको छ ।

यसले महिलाहरू ‘बालबच्चा उत्पादक’ बाट पुरुष जस्तै वस्तु–सेवा उत्पादक र उपभोक्ता नागरिकमा परिणत हुँदै गरेको देखाउँछ ।

बच्चा पाउने बाध्यता घट्दा यौन सम्बन्धमा पनि स्वाभाविक रूपमा महिलाहरू पहिला भन्दा बढी स्वेच्छिक भएका छन् ।

पहाड, हिमाल र तराई–मधेशमा एकै साथ र एउटै अनुपातमा यस्तो भएको छ भन्न सकिन्न तर, अधीनस्थता वा पराधीनताको तहबाट धेरै माथि उक्लिसकेका छन्, महिला ।

कानूनकै कुरा गर्ने हो भने त महिला–पुरुष समान भएको दशकौं बितिसकेको छ । पूँजीवादी अवस्थामा समाज अघि बढ्दा अहिले महिलाको लागि मौका र सम्भावना बढेको छ ।

धेरै महिला अवसरका लागि घरबाट बाहिर निक्लिएका छन् । यो प्रक्रियाले उनीहरूलाई पूर्ण नागरिक हुने बाटोमा लगाएको छ ।

समाजमा महिलाको स्वतन्त्र आवतजावत एक्कासि बढेको छ । केटीहरू राजधानी वा जिल्ला सदरमुकामहरूका होस्टेलमा बसेर ढुक्कले पढ्ने भएका छन् ।

पढाइ या कामको लागि महिलाले एक्लै घरबाहिर दिन–रात बिताउनु अब आश्चर्यको कुरो रहेन । पुरुष (बाबु, दाजुभाइ, श्रीमान) को नजरभन्दा बाहिर पुगेपछि महिलामाथिको ‘गृहस्थी’ को बन्देज फुक्यो ।

अब त घरमूली हुने महिलाको संख्या नै २६ प्रतिशत पुगेको छ । उनले गर्ने कामको किसिम र समयको लगानी दुवै बढेको छ ।

पुरुषले गर्ने धेरै काम महिलाको काँधमा आएको छ, धेरै ग्रामीण श्रीमान्, दाइभाइ र बुबा विदेश गएकाले पनि ।

हिजोआज गाउँघरका बजारमा किनमेल गर्नेदेखि पैसाको लेनदेनसम्मका व्यवहार महिलाले सम्हालेका छन् ।

आमा समूहका क्रियाकलाप, विकासे संघ–संस्था, ऋण तथा बचत संस्था, सामुदायिक वन समिति, अन्तर महिला सञ्जाल आदिका क्रियाशीलताले महिलाको आत्मबल बढाएको छ ।

महिलाहरू गाउँका हाटबजारदेखि शहरका सेमिनार हलसम्म पुरुषहरूसँग लेनदेनदेखि वैचारिक छलफलसम्ममा जुटिरहेका हुन्छन् ।

स्वामित्व र स्वाभिमान

वस्तु तथा सेवा उत्पादनको हिसाबले हिमाली क्षेत्रका महिला पहिलादेखि नै क्रियाशील थिए । मध्य तथा पूर्वी पहाडका महिलाहरूले धेरै सामाजिक तगारा छिचोल्दै जाँदा अन्यत्र भने परिवर्तनको गति केही कमजोर छ ।

कतिलाई शहरी मध्यम र उच्च वर्गीय नैतिकताले केही खुम्च्याएको स्थिति छ । धेरै ठाउँमा घुम्टो र बुर्काको चलन छँदैछ ।

मध्य तराई–मधेशका महिलाको स्थिति मध्य र सुदूरपश्चिम पहाडी जिल्लाको सरह छ । र पनि, नेपालमा जे भइरहेछ, दक्षिण एशियाली तुलनामा राम्रो भइरहेछ ।

बंगलादेश, भारत वा पाकिस्तानका समाजशास्त्री महिला काठमाडौंका महिलाको स्वतन्त्रतासँग त्यसै चकित र लालायित भएका होइनन् ।

भारतको आन्ध्र्रप्रदेशमा इञ्जिनियरिङ र ‘आइटी’ पढ्ने महिला धेरै छन्, तर तीमध्ये धेरैले राम्रो वर पाउन त्यो मिहिनेत गरेका हुन्छन् र विवाहपश्चात् धेरैजसो ‘हाउसवाइफ’ नै हुन्छन् भनिन्छ ।

जबकि, नेपाली शहरी महिला व्यावसायिकताको हिसाबले निर्धक्क छन् ।

उमेर ढल्दै जाँदा निरीह हुँदै जाने शहरी महिलाको सामाजिक धरातललाई सम्पत्तिमाथिको कानूनी पहुँचले बलियो बनाउँदै लगेको छ । शहरी क्षेत्रका करीब २७ प्रतिशत जग्गा आज महिलाको नाममा छ ।

महिलाको नाममा घरजग्गा दर्ता गरे २५ प्रतिशत दस्तुर छुट हुने कानूनी प्रावधान र दाजुभाइबाट जोगाउन पनि श्रीमानले घरजग्गा श्रीमतीको नाममा राख्ने चलनले मात्र हैन, आफ्नै कमाइले घरजग्गा किन्ने क्षमताले पनि महिलाहरू सम्पत्तिको मालिक बनेका हुन् ।

यो आर्थिक कवचले महिलाहरूलाई सुरक्षित महसूस गराएको छ । यसबाट प्राप्त आत्मबल उनीहरूको रहनसहन र सक्रियतामा देखिन्छ ।

महिलाको संसार फराकिलो बनाउन मोबाइल फोनको चमत्कारिक योगदान देखिन्छ । यसले छोरी अन्माएपछि आफ्नी हुँदैनन् भन्ने सोचलाई पुरानो बनाइदिएको छ ।

मोबाइलले आमालाई छोरी र छोरीलाई आमाबाट आत्मबल दिएको छ । त्यसमाथि, सडक विस्तारले विभिन्न जिल्ला र गाउँमा छरिन पुगेका दिदीबहिनीलाई नजिक पारेको छ ।

आधुनिक युगमा पनि जारी महिला विरुद्धको हिंसा र राजनीतिमा महिलाको कम प्रभाव– यस्ता समस्या छँदैछन् ।

तर नेपाली महिला आज आमा पुस्ताले नसोचेको स्वतन्त्रताको भोक्ता भएका छन् । यो सामाजिक प्रगति अब रोकिने छैन ।

हिमालको २६ जेठ-२ असार अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>