ब्लगआइतबार, जेठ २६, २०७०

योजना नबनाउँदाको बिचल्ली

दीपक अर्याल

“यदि मलाई कुनै रूख ढाल्न ६ घण्टाको समय दिइन्छ भने म ४ घण्टा बञ्चरो अर्जाप्न (उद्याउन) खर्चनेछु ।”
– अब्राहम लिङ्कन

लिङ्कनको यो भनाइ अनुसार नेपालका राजनीतिक दलहरूले न रूख ढाल्नुअघि बञ्चरो अर्जाप्न प्रयास गरेको देखिन्छ न त रूख ढालेपछि के गर्ने भन्ने योजना नै बनाएको पाइन्छ ।

त्यही कारण क्रान्ति सफल भए पनि परिवर्तन संस्थागत हुन सकेका छैनन् भने देशले राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक परिवर्तन पाउन सकेको छैन ।

तर, नेपालको यो समस्या अहिले मात्र होइन, दूरदर्शी नेता बीपी कोइरालाको पालामा पनि रहेको कोइरालाले नै स्वीकारेका छन्, वि।सं। २००८ मा प्रकाशित ‘नयाँ कदम’ मा ।

राणाशासनको अन्त्यपछि मोहनशमशेरको नेतृत्वमा राणा–कांग्रेसको संयुक्त सरकार ९२००७० बन्यो ।

जसलाई मंसीर २००८ मा नेपाली कांग्रेसको एकल सरकारले विस्थापन गर्यो । परिवर्तनपछि गर्ने कामका योजना नहुँदा परिवर्तनकारी शक्ति नेपाली कांग्रेस अलमलमा पर्यो ।

जसलाई स्वीकार्दै कोइरालाले ‘नयाँ कदम’ मा लेखेका छन्, “आजभन्दा एक वर्ष अगाडि नेपाली कांग्रेसले नेपालमा सशस्त्र क्रान्तिको विगुल बजायो ।
देश त्यसैको निमित्त उत्सुक थियो । त्यस बखत नेपाली कांग्रेसको लक्ष्य, राणाशाही शासन–प्रथाको समाप्ति बाहेक केही थिएन ।

हाम्रो सम्पूर्ण शक्ति राणाशाही शासन–प्रथालाई ढाल्नमै केन्द्रित थियो । त्यसपछि हामी कता जाने, हाम्रो लक्ष्य के हुने, हामीले कस्तो समाजको सृजना गर्ने ?
इत्यादि कुरातिर विचार गर्ने अवसर नै हामीलाई मिलेन । आगामी कार्यक्रम र नीतिको अभावले गर्दा राणा–शाही शासन–प्रथाको समाप्ति हुनेबित्तिकै हामी दिग्भ्रममा परेका जस्ता भयौं ।”

कोइरालाले त्यहाँ नीति र कार्यक्रम नभई अघि बढ्न नसक्ने भन्दै लेखेका छन्, “नीति र कार्यक्रम नभई अब हामी एक डेग चल्न सक्तैनौं, बढ्ने कुरा त परै जावस् ।
नेपाली कांग्रेस आफ्नो पुरानो कमाइको भरमा अब टिक्नै सक्तैन । नेपाली कांग्रेसले अब आफ्नो जीवनको अर्को अध्याय प्रारम्भ गर्दछ ।

जुन राजनीतिक जीवनमा हामी अब अग्रसर हुन थालेका छौं र आजको नेपालको ऐतिहासिक परिस्थिति जस्तो छ, त्यसमा हाम्रो नीति र कार्यक्रम स्पष्ट हुनु अत्यावश्यक छ । जनताको अगाडि पनि हामीले स्पष्ट कार्यक्रम दिनुपर्दछ ।”

कोइरालाले स्पष्ट सोच र कार्यक्रम विना भावनाले मात्र देशको उन्नति नहुने यथार्थ स्वीकार्दै त्यहाँ लेखेका छन्, “केवल देशको उत्रति गर्नुपर्छ, गरीबी हटाउँछु भनेर मात्र हुँदैन, बरू देशको उत्रति भनेको के हो ? गरीबी कसरी हटाउने हो ? त्यो स्पष्ट हुनुपर्छ ।”

बीपीले त्यहाँ सरकारको कार्यक्रमको एउटा आधार भूमि सम्बन्धी नीति हुनुपर्ने र किसानको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले उद्योगधन्दाको राष्ट्रियकरण र राष्ट्रियता सम्बन्धी नीतिमा नेपाली कांग्रेस स्पष्ट हुनुपर्ने पनि बताएका छन् ।

बीपीले लेखेका छन्, “हामीले स्पष्ट घोषणा गर्नुपर्छ कि हामीलाई देशको स्वतन्त्रता सबभन्दा प्यारो छ । हामीलाई विश्वास छ हिन्दुस्तानको शान्तिपूर्ण उन्नतिमा हाम्रो पनि कल्याण छ ।

र हिन्दुस्तानको पनि भलाइ हाम्रो स्वतन्त्रताको कदर गर्नमा छ । चीनका प्रति पनि हाम्रो भावना आदरको छ । हामी चीनको भलो चाहन्छौं ।”

बीपीका यी भनाइलाई अहिले उनको पार्टी नेपाली कांग्रेसले मात्र होइन, अरूले पनि मनन् गर्नुपर्ने देखिन्छ । किनभने, उनले ऊबेला देखेको समस्या अहिले पनि उस्तै छ ।

(अध्ययन सामग्री स्रोतः
मदन पुरस्कार पुस्तकालय ।)

हिमालको २६ जेठ २ असार अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...