रमझममंगलबार, जेठ २८, २०७०
नेपाली नृत्यकी जापानी गुरुआमा
युको भन्छिन, “कला–संस्कृतिमा धनी देश नेपालको नृत्यबाट पहिचान बनाउन पाउँदा म औधी खुसी छु ।”
ओकामोतो दर्जनौं संख्यामा जापानमा रहेका नेपाली संघ, संस्थाले आयोजना गर्ने कार्यक्रममा कहिले चर्या नृत्य पस्किरहेकी भेटिन्छन त कहिले झयाउरे, अनि कहिले तामाङ सेलो ।
जापानमा बस्ने नेपालीहरुकी सेलीब्रटी हुन उनी । उनलाई नेपालीले आयोजना गर्ने कार्यक्रमहरुमा नाच्न, नृत्य सिकाउन भ्याइनभ्याइ हुन्छ ।
गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङ भन्छन, “नेपाली नृत्यको लागि उहाँले पु्याउनु भएको योगदान अतुलनीय छ ।”
जापानको राजधानी टोकियोको सेतागायकुकी यी कलाकार अहिले टोकियोकै कोमागोमेमा जापानीहरुलाई नेपाली नृत्य सिकाउँछिन् ।
१९ वर्षअघि थाङकुनोमाई (सगरको नृत्य) नामक प्रशिक्षण केन्द्र खोलेर नृत्य सिकाउन थालेकी उनले सयौको संख्याका जापानीलाई नेपाली नृत्य सिकाइसकेकी छिन् ।
उनको नृत्य प्रशिक्षण केन्द्रमा पुग्दा नेपाल पुगेको अनुभुति हुन्छ । उनको प्रशिक्षण केन्द्रमा विभिन्न जातजातिका दुई सय भेषभुषा, मादल, बाँसुरी, धिमे, ढोलक, सारंगी लगायतका बाजाहरु देख्न पाइन्छ ।
ओकामोतोले नेपालमा रहँदा नेपालमा बसेका जापानीहरुलाई समेटेर नेपाल इन जापान नाम दिएर १९ वर्षअघि कार्यक्रम शुरु गरेकी थिइन् ।
उनले १९ वर्षयता नेपाल र जापानमा १० वटा यही नामका कार्यक्रम गरेको बताइन । जुन कार्यक्रममा अहिलेसम्म ७ हजार जापानीलाई नचाएको उनको दावी छ ।
उनी १० वर्षयता टोकियोस्थित वाको युनिभर्सिटीमा समेत नेपाली भाषा र नृत्य सिकाउँछिन् । सानैदेखि नृत्यमा रुचि राख्ने उनले ८ वर्षको उमेरमा रसियन ब्याले सिक्न शुरु गरेकी थिइन ।
अध्ययनसँगै एक दशकसम्म रसियन ब्याले सिकेकी अर्थशास्त्रमा स्नातक उनी विश्वविद्यालयमा पढदापढदै विश्वविद्यालयको डान्स क्लबबाट बाली नृत्य सिक्न १९ वर्षको उमेरमा इन्डोनेसिया गएको बताइन् ।
बाली नृत्य हिन्दु धर्मसँग जोडिएको हुनाले हिन्दु देश नेपालतिर उनको ध्यान गयो । “बीस वर्षकै उमेरमा नेपाल पुगेपछि म नेपाली नृत्यमा रमाए” उनले भनिन, “त्यसपछि मौलिक नेपाली नृत्यमा समर्पित भएर लागें ।”
उनी ठेट नेपाली नृत्य सिक्न कहिले सोलुखुम्बुको शेर्पा गाउँ पुगिन त कहिले चितवनको थारु वस्ती अनि कहिले लमजुङको गुरुङ गाउँ । चर्या, झयाउरे, तामाङ सेलो, सेब्रु, साकेला, सबैजसो नृत्यमा पोख्त छिन् युको ।
२८ वर्षदेखि नृत्यमार्फत नेपालसँग जोडिएकी उनी १६ वर्षअघि टोकियोमै भेटिएका नेपाली व्यवसायी प्रेम मल्लसँग वैवाहिक जीवनमा बाँधिएपछि उनको नेपालसँगको सम्बन्ध अझ कसिलो भएको छ ।
२ वर्षअघि उनले नेपाली संगीत गहना बक्स नामक पुस्तक जापानी भाषामा प्रकाशित गरेकी छन् ।
पदमकन्या क्याम्पसबाट नृत्यको दुई वर्षे विशेष कक्षा लिएकी उनी सो क्याम्पसमा नृत्यबाट सर्वोकृष्ट भएवापत तल्कालीन राजा वीरेन्द्रबाट पुरस्कृत समेत भएकी थिइन् ।
१६ वर्षअघि माया नेपाली संगीत नामक संस्था गठन गरी यसमार्फत नेपाली नृत्य संगीतलाई जोगाउने र जापानीहरुलाई चिनाउने अनि नेपाली संगीतको विकास गराउने काम गरिरहेकी छन् ।
नेपाली कलासंस्कृतिमा धनी भए पनि नेपालीले वास्ता नगर्ने गरेको बताउँछिन उनी । भन्छिन, “हामीले हेर्दा हिरामोती जस्तो लाग्छ, नेपालीलाई वास्ता छैन, नेपालीहरुलाई आफनो मौलिक नृत्य बचाउनुस भन्न चाहन्छु ।”
ऋषिराम कट्टेल, टोकियो, जापान