समाचारबिहीबार, जेठ २५, २०६९
प्रधानमन्त्रीको राजीनामा पहिलो शर्तः २२ दल
काठमाडौं टुँडिखेलमा २६ जेठमा आयोजना गर्न लागेको विरोधसभाको विषयमा जानकारी दिन कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री भट्टराईको राजीनामा नआएसम्म बाँकी विषयमा छलफल गर्न नसकिने बताएका हुन् । २५ जेठमा आयोजित पत्रकार सम्मेलनमा खनालले आफूहरूले आन्दोलनको शुरुवात मात्रै गरेको उल्लेख गरे ।
कांग्रेस सभापति सुशील कोइरालाले अन्तरिम संविधानमा सहमतिअनुसार चल्नुपर्ने प्रावधान हुँदाहुँदै एमाओवादीले एकतर्फी रूपमा संविधानसभा विघटन गरेकाले आफूहरू आन्दोलित हुनुपरेको धारणा राखे । यो आन्दोलन संवैधानिकता र राजनीतिक उपलब्धिका लागि भएको कोइरालाको भनाइ थियो ।
प्रमुख दलबीच भएको पाँच बुँदे सहमति पालना गराउन आन्दोलन घोषणा गरिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलको कथन छ । २ जेठमा १४ जेठभित्र संविधान जारी गर्ने र कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।
विरोधसभा शुरु हुनुपूर्व कांग्रेसले सुन्धारा, एमालेले भृकुटीमण्डप, चुरे-भावरले न्यूप्लाजा, नेकपा मालेले गौशाला, राप्रपा र राजपाले नक्साल, जनता दलले लैनचौर र बाँकी दलहरूले भद्रकालीमा जम्मा भएर र्याली निकाल्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा वितरित संयुक्त विज्ञप्तिमा संविधानको ९५ प्रतिशत काम सम्पन्न भइसकेको सर्न्दर्भमा एमाओवादीले सत्ताकब्जा गर्ने नियतले संविधानसभा भंग गरेको उल्लेख छ । दशैं, तिहार र छठ जस्ता पर्वको नजिक चुनाव घोषणा गर्नुले पनि यसको पछाडि सत्ताकब्जा गर्ने नियत रहेको उनीहरूको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
