टिप्पणीबुधबार, जेठ २९, २०७०

छोरी के ? छोरा के ?

shantadixit

तस्वीरः विलाश राई

मलाई मेरो हुर्काइको बेला छोरा वा छोरीको भेदभाव भए जस्तो लाग्दैन । राम्रो स्कूलदेखि हेरचाह र लवाइखवाइसम्म परिवारमा छोरा र छोरीलाई उत्तिकै महत्व दिनुहुन्थ्यो हाम्री आमा ।

मात्र एउटा अनौठो म के सम्झ्न्छु भने, मैले र मेरो दाइले कोठा सफा गर्दा आमाले ‘हुन्न हुन्न, छोरा मान्छेले कुचो छुनुहुँदैन, आयु घट्छ’ भन्नुहुन्थ्यो । त्यसैले मेरा दाजुभाइले कुचो समातेनन् ।

काम गर्न तयार केटाहरूले पनि कुचो समात्नु पर्दैनथ्यो । यस्तो किन त ? मैले कहिल्यै सोधिनँ र आमा बितेको पाँच वर्ष भइसकेकाले आफैंले जवाफ खोज्नुपरेको छ ।

आमाले हामी सबै छोराछोरीलाई उस्तै गरी हुर्काएकाले म के अन्दाज गर्छु भने कुचोको कुरा उहाँको आफ्नो बाल्यकालमा मस्तिष्कमा गडेको हुनुपर्छ । बच्चामा त्यस्तो सुनेको र हुर्किने क्रममा कुनै पुरुषले कुचो समातेको नदेखेकाले उहाँमा त्यस्तो ‘विश्वास’ बन्यो ।

धर्ममा आस्था राख्ने, रुढीवाद पटक्कै मन नपराउने र सबै मानिसलाई समान व्यवहार गर्ने मेरी आमाले कुचोको कुरामा पुरुष र महिलालाई फरक ढंगले हेरेको कुरामा गहिरिंदा मेरो ध्यान सांस्कृतिक पक्षमा गयो ।

कुचोको मामलामा प्रगतिशील आमाले परम्परालाई विना प्रश्न स्वीकार्नुभयो । उहाँसँग छलफल गरेको भए हामी एउटा निष्कर्षमा पुग्थ्यौं पनि होला, किनभने मैले आमाको केही बानीमा परिवर्तन ल्याएकी थिएँ ।

जस्तो, एउटा सानो कुरा उहाँले खाना खाइसकेपछि धेरैचोटि कुल्ला गरेर थुः गर्दा मैले ‘मुखमा भएको पचाउने पदार्थ सबै थुकेर फाल्नुभयो, निल्नु पो पर्छ’ भन्थें । यस मामलामा खानापछि मुखमा पानी कुल कुल गरेर निल्ने हुनुभयो मेरी आमा ।

तर, उहाँले कुचोको कुरामा परम्पराको आज्ञाकारी भएर छोरा र छोरीबीच विभेद जनाउने विश्वास लिनुभयो । उहाँलाई बुझइदिने कोही भएन कि कुचो चलाउन नदिएर उहाँले मेरा दाइ र भाइहरूलाई नै अन्याय गरिदिनुभएको थियो ।

आज छोरा र छोरी एकै हुन् भन्ने महसूस हुँदैछ, भलै गन्तव्य अझै टाढा होस् । काठमाडौंका केही ‘आधुनिक’ भनिने आमाबाबुले समेत छोरीलाई अलि कम स्तरको स्कूलमा अध्ययन गराउँछन् । सरकारी स्कूलहरूमा धेरै छोरी छन् ।

जिल्लामा छोराहरू सदरमुकामका निजी स्कूलमा पठाइन्छन्, छोरीहरू गाउँकै सरकारी विद्यालयमा । छोरीलाई पढाउनुपर्छ भन्ने चेत हुँदाहुँदै पनि भेदभाव छ ।
सरकारी स्कूलमा पढ्दाको बेफाइदा धेरै छन् ।

गाउँघरको संसारमा सीमित छोरीहरू ‘एक्सपोजर’ बाट बञ्चित हुन्छन् र बाहिरको काममा पोख्त हुन सक्दैनन् । धेरै अगाडि बढ्न सक्ने छोरीहरूको पनि भविष्य साँघुरिन्छ । उनीहरू सीमान्तकृत हुन पुग्छन् । तर घर नजिक पढ्दाका फाइदा पनि छन् ।

अधिकांश छोरी घरबाटै स्कूल जानुको एउटा सकारात्मक पाटो के छ भने उनीहरूलाई व्यवहारको कुरा थाहा हुन्छ, समाज बुझ्छन् । घरबाट अन्यत्र गएर पढेका छोराहरू घरव्यवहार, संस्कृति र सामाजिक दिनचर्यामा अनभिज्ञ हुन्छन् ।

मिहिनेतले सक्षम छोरीहरू आफैं पनि बाँच्न सक्ने हुन्छन् भने फुर्केर हुर्केका सामाजिक सीपविहीन छोराहरूलाई अरूको सहारा विना समाजमा उभिन नसक्ने बनाउन सक्छ ।

सौभाग्यवश हामी छोरा र छोरी दुवैले उत्तिकै काम गर्नुपर्ने जमानामा पस्दैछौं । छोरीले पनि दिमागी काम गर्नुपर्छ र छोराले पनि घरपरिवारको मसिनो मिहिनेत गर्नुपर्छ ।

थरी–थरीको कामले मस्तिष्कको बेग्लाबेग्लै भागलाई जगाउँछ र व्यक्तिको सर्वाङ्गीण विकास हुन्छ । भान्साको काम नसिकाउँदा वा बुन्ने–सिउने काम नलगाउँदा छोराका स–साना मांसपेशीहरू चलायमान हुन पाउँदैनन् ।

जति स–साना मांसपेशी चलायो उति मस्तिष्कको विकास हुने अनुसन्धानहरूले पनि देखाएका छन् । सिउने–बुन्ने भनेको न्यूरोसर्जनलाई चाहिने औंलाको सीप र आँखाको खटन हो, र बाल्यकालमा यसबाट बञ्चित हुँदा केटाहरूलाई पछाडि पार्दछ ।

छोरा र छोरी दुवैलाई उत्तिकै गृहकार्यमा लगाउँदा सीप आर्जनको अवसर मात्र होइन घरको व्यवस्थापन पनि रमाइलो बन्छ । कहीं छोरा मान्छेले पकाउने, छोरीहरू बजार गएर मोलतोल गर्ने ।

दुवैथरीले एकअर्काको कामको कदर गर्दै परिवारमा योगदान पुर्याउने । फरक व्यक्तिको पृथक् रूचि र क्षमताले घरपरिवारलाई रमाइलो बनाउनुको साथै त्यसका सदस्यहरूको भविष्यको आधारशिला निर्माण गरिरहेको हुन्छ । छोराले यो–यो काम गर्न नहुने र छोरीले त्यो काम गर्नै पर्ने कुरालाई एकादेशको कथा बनाइनुपर्छ ।

हिमालको २६ जेठ २ असार अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>