रिपोर्टबुधबार, जेठ २९, २०७०
बाँकी तीन महादेश
-शैली बस्नेत

बायाँबाट क्रमशः माया गुरुङ, चुनु श्रेष्ठ, आशाकुमारी सिंह, पुजन आचार्य, शैली बस्नेत, निम्डोमा शेर्पा, पेमाडिकी शेर्पा ।
सात वर्षअघि हिमाल खबरपत्रिकाको रिपोर्टरको रूपमा ‘स्टोरी’हरूको पछाडि दौडिरहेको बेला एउटा ‘स्टोरी’ भने मेरै पछि लाग्यो– ‘क्लाइम्बर्स क्लब’ ले नेपाली महिलाहरूको सगरमाथा आरोहण दल बनाएर मलाई पनि सदस्य राखेपछि ।
थोरैले पत्याएको महिलाहरूको त्यो समावेशी टीम २०६५ जेठमा सगरमाथा आरोहण गर्ने संसारको सबभन्दा सफल टोली बन्यो । त्यसबाट एकै वर्षमा नेपाली महिला सगरमाथा आरोहीको संख्या सातबाट १७ पुग्यो ।
त्यो सफलताको वर्ष दिनभित्रै टोलीले अर्को ठूलो सपना देख्यो– बाँकी ६ महादेशका सबभन्दा अग्ला हिमाल चढ्ने ।
काठमाडौंमा जन्मेको, बढेको र पढेको मलाई सगरमाथाले बिल्कुलै भिन्न पृष्ठभूमिका साथीहरूसँग जोडिदियो । खोजिपस्दा पनि हामीबीच निकै कम समानता थिए ।
२४ वर्षको उमेरमा आमाले बिहेको कुरा झिक्दा मैले ‘मेरो आफ्नै जिन्दगीबाट तीन वर्ष माग्न सक्छु रु’ भनेकी थिएँ । आशाकुमारीले पनि एसएलसीपछि अभिभावकसँग बिहेअघि तीन वर्ष मागेकी रहिछ ।
हाम्रो भेट हुँदा आशाले भर्खरै पद्मकन्या बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह सिध्याएकी थिई, तर दुवैले मागेको तीनमा दुई वर्ष बितिसकेको थियो ।
दनुवार समुदायकी आशा जन्मेदेखि बिहेकै चर्चामा डुबेकी रहिछ । ६ दिदीबहिनीमध्ये ‘सबभन्दा नराम्री’मा दरिएकी आशाले राम्रो केटा पाउँदिन भन्ने पीर हजुरआमालाई परेकोले उसलाई सक्षम बनाउन महोत्तरीको मेघरौल गाउँबाट जनकपुर लगिएछ ।
तर, ६ कक्षा पढेपछि आशाले गाउँ फर्किनुपर्यो, हजुरआमा बितेकाले । अहिले सबै दिदीबहिनीको बिहे भइसक्दा यो मैथिल केटी संसारभरका हिमाल चढ्न व्यस्त छे । अनि टीमका बाँकी सबैको निर्विवाद भोट छ– आशा हामीमध्ये सबभन्दा गुड लुकिङ्ग हो ।
पर्वतारोहणको आधारभूत तालीमका बेला आशालाई ‘तराईकी केटीले के सक्ली’ भनेको म आफैंले धेरैचोटि सुनेकी थिएँ । अहिले ऊ ‘स्पिड स्पोर्टस् क्लाइम्बिङ’को नेशनल च्याम्पिअन हो ।
आशालाई अरूले पत्याएका थिएनन्, मैले आफैंलाई । सगरमाथा चढ्नु चानचुने कुरा थिएन, तर मसँग खेलकुद त के शारीरिक व्यायामको समेत अनुभव थिएन ।
मेरो दिमागले सोचिरहन्थ्यो, ‘ओहो, केटीहरूको टोली कस्तो हुने होला, छुच्ची, डाढे, खुट्टा तान्ने, कुरा काट्ने रु’
रक क्लाइम्बिङको पहिलो तालीममा सबभन्दा सजिलो भाग छानेर पनि म आधा भन्दा माथि उक्लिनै सकिनँ । लाजले भुतुक्क हुँदै तल झर्दा अब केटीहरूले उडाउँछन् भन्ने सोचिरहेकी थिएँ ।
त्यति नै बेला आशाले भनी, “ओइ तेरो हिप बाहिर निस्क्यो, सीधा भएर चढ् ।” दिकीले थपी, “तँ अलि दाहिने गइस्, देब्रे गएर ‘लेज’ समात्, मलाई पनि त्यही गाह्रो भा’थ्यो ।” निम्डोमा कराई, “अर्को चोटि अलि यताबाट जा ।”
ती स्वरहरूमा म हैन, उनीहरू असफल भएको दिक्दारी र शैलीले सक्छे भन्ने विश्वास थियो । मेरा आँखा रसाए । खुट्टा तान्ने, कुरा काट्ने कुरा सोचेकोमा मलाई पछुताउ भयो ।
सोचें– म सगरमाथा चढुँ या नचढुँ तर यी केटीहरू जीवनभर मेरा साथी रहनेछन् । हामीलाई महिलाको शत्रु महिला नै हुन्छ भनेर सिकाइएको हुन्छस परिवारमा, समाजमा र ठट्टामा पनि ।
तर सत्य के हो भने महिला मिलेर बेजोड काम गर्न सक्छन् । नभन्दै, उनीहरूले भने अनुसार गर्दा मैले सजिलै त्यो चट्टान चढें ।
उमेरले करीब १० वर्ष कान्छी निम्डोमा मेरो गुरु बनेकी छ । टीममै ऊ सबभन्दा कान्छी र तगडा आरोही हो ।
दोलखाको गौरीशंकर गाविसमा विश्व खाद्य कार्यक्रमले खुवाउने हलुवाको लोभले स्कूल जान थालेकी निम्डोमालाई त्यही शिक्षामा रस पस्यो र एसएलसी पास गर्ने परिवारको पहिलो सदस्य बनी ।
निम्डोमा अहिले दुईवर्षे अन्तर्राष्ट्रिय माउण्टेन गाइड तालीममा छे । यो स्तरको तालीम लिने दुईमध्ये एक एशियाली महिला हो ऊ ।
उसको ‘फाइटिङ स्पिरिट’ गजबको छ । कतिले शेर्पा भएकैले त्यस्ती भएकी होला भन्छन् । कान्छी हिमालमा अरूलाई बाटो देखाउने भई सकी ।
सगरमाथा आरोहणपछि हामी नेपालका डेढ सय जति विद्यालय पुग्यौं । जहाँ पनि कान्छीको कुराबाट विद्यार्थीहरू दङ्गै पर्छन् र १७ वर्षकै उमेरमा सगरमाथा चढेको सुनेर जीवनमा केही गर्ने प्रेरणा लिन्छन् ।
पछिल्लो पटक अफ्रिकाको अग्लो हिमाल किलिमन्जारो चढेपछि निम्डोमाले आफूले पनि सानोमा नेपालको एउटा विकट गाउँमा विश्व खाद्य कार्यक्रमको खाजा खाँदै पढेको सुनाउँदा तान्जानियाका गाउँले बालबालिकाले ‘हामी पनि तपाईं जस्तै हुन चाहन्छौं’ भन्दै हात उठाएका थिए ।
निम्डोमा परिवर्तन र प्रेरणाको उदाहरण बनेकी छे । ऊमाथि बनेको ‘एनिमेशन’ जापानमा रिलिज हुँदैछ । यसरी हाम्री ‘कान्छी’ अन्तर्राष्ट्रिय व्यक्तित्व बन्दै छे ।
हिंड्दा–हिंड्दै, हिमाल चढ्दा–चढ्दै हाम्रो सहयात्रा विश्वको चासो बनेको छ, हामीप्रति अन्तर्राष्ट्रिय संचारको रूचि बढेको छ ।
लाङटाङको आधारभूत तालीमबाट शुरू भएको हाम्रो सहयात्रालाई सामूहिक हाँसो र आँसुले रसिलो बनाएको छ ।
अब त हामीलाई हिमाल चढेको भन्दा पनि वर्षौं सँगै हिंडेको कुराले बढी समात्छ । विदेशीहरू ‘विश्वका उत्कृष्ट व्याण्डहरू त टिक्दैनन्, तिमीहरू कसरी सँगै छौ हँ रु’ भनेर सोध्छन् ।
कतिले बिहेपछि सहकार्य सकिने अड्कल काट्छन्– बिहेलाई महिला स्वतन्त्रता माथिको अंकुशको रूपमा हेर्ने चलनका कारण ।
तर, मेरो बिहे भएको दुई वर्षभन्दा बढी भयो । चुनुको पनि बिहे भइसक्यो । यसले टीमलाई केही फरक पारेको छैन, किनभने हाम्रा लागि यो महत्वपूर्ण छ ।
बिहेलाई सम्झौता, बन्धन जस्ता नाम दिएर डरलाग्दो बनाइएको छ, विशेषगरी महिलाहरूका लागि ।
सन् १९७५ मा सगरमाथा चढ्दा जुन्को ताबेइको दुईवर्षे छोरी थिइन् । २० वर्षअघि सगरमाथामा उक्लिंदा हाम्रै पासाङ ल्हामुका तीन छोराछोरी थिए ।
जुन्को र पासाङका कीर्ति थाहा पाउनेहरू उनीहरू आमा पनि थिए भन्ने बिर्सिन्छन् । ठीकै छ, ती अग्रणीका कुरा हामी सम्झाइदिन्छौं र भन्छौं– महिला शरीरको सीमा र स्वतन्त्रता त्यति साँघुरो छैन ।
परिवारलाई कसरी माया गर्नुपर्छ भनेर हामीले पेमाबाट सिकेका छौं । तीन दिदीबहिनीमा माहिली हो ऊ । छोरा नभएको परिवारकी पेमालाई सानोमा ‘लर्निङ डिस्एबिलिटी’को समस्या थियो ।
ऊ खेल्दिनथी, टोलाएर बस्थी । अरूको कुरा नसुन्ने, सुने पनि कम बुझ्ने । मान्छेहरू उसलाई परिवारको बोझ ठान्थे, तर आमाबाबाको माया र शिक्षिकाहरूको प्रोत्साहनबाट उसका समस्याहरू हट्दै गए ।
अहिले देश–विदेशमा नाम कमाएकी पेमा दिकीलाई मानिसहरूले कसरी हेर्छन् भनेर अनुमान लगाउन सकिन्छ ।
११ जेठ २०६५ को बिहान सगरमाथा शिखरको हिउँ र ढुंगा माथि मैले ‘आइजौ दिकी नाचौं’ भन्दा ऊ बाबाआमाको तस्वीर समातेर टोलाइरहेकी थिई । अनि आशा र म नाचेको हेरेर मुस्कुराई ऊ ।
त्यो बिहान हिंडेका हामी पाँचमध्ये चारजना शिखरमा थियौं । अर्का पाँचजनाले पहिल्यै ‘टप’ लिइसकेका थिए । हाम्रा आँखाले चुनुलाई खोजिरहन्थे ।
काठमाडौं, झोछेंकी पक्का नेवार्नी चुनु ६ कक्षादेखि आफैं काम गर्दै पढेकी हो । काठमाडौं बाहिर खासै नघुमेकी ऊ भत्किन लागेको घर र बिरामी बुबालाई छोडेर सगरमाथातिर लम्केकी थिई ।
हामी शिखर नपुग्दै बुबा बितिसकेको कुरा उसलाई थाहा थिएन । दश जनामा आफू मात्र असफल अनि बुबाको त्यस्तो खबर, चुनुलाई कस्तो होला रु उसको पीरले हाम्रो सफलतालाई फिका पारिरहेको थियो ।
टीममा सबैको हेरविचार गर्ने, कसले खायो, कसले खान पाएन भनेर याद गर्ने हुनाले उसलाई हामी ‘चुनु ममी’ पनि भन्छौं । नेवारी लवजमा नेपाली बोल्ने उसलाई चोकबाट दुई–तीन तलामाथि पानी ओसार्दा–ओसार्दै बलियो भएकी भनेर जिस्काउँछौं पनि ।
अर्को बिहान उसले पनि ‘टप’ गरी । अब हामीलाई रोक्ने कसले रु पर्वतारोहणमा टीमको एकजनाले शिखर चुम्यो भने त्यसलाई सफल ‘एक्सपिडिसन’ मानिन्छ ।
हामी त दशको दशै जना शिखर पुगेका थियौं । यत्रो सफलतापछि हामी न आफ्नो पुरानै जिन्दगीको घेरामा अटाउन सक्यौं, न त पर्वतारोहण बाहिरको संसारमा जान ।
त्यसअघि दोलखाकी पुजन आचार्य चरिकोटस्थित मानवअधिकारवादी संस्थामा आबद्ध थिई । ब्राह्मण परिवारकी उसलाई कसैले हिमालतिर उत्प्रेरित गरेको थिएन ।
उसले केटाहरूसँग भलिबल खेल्नेसम्मको ‘आँट’ देखाएकी थिई । २०६२/६३ को जनआन्दोलनभर दोलखाको सडकमा डटेकी उसलाई सगरमाथा चढेपछि अवसरको कमी थिएन ।
तर, पुजन र हामी कसैले यो सहयात्रा रोक्न चाहेनौं । अहिले ऊ हाम्रो टीमको ‘ब्रेन’ हो । सगरमाथाबाट फर्केपछि हामी महीनौंसम्म ठमेलका रेष्टुरेण्टहरूमा कालो चिया खाँदै बस्न थाल्यौं । परिवार, पेशा, पैसा केहीले पनि हामीलाई तानेन ।
खाली टीमसँगै बस्न पाए हुने जस्तो लाग्ने । हाम्रा अगाडि नसोचेको स्वतन्त्रता सँगसँगै पैसाले किन्न नपाइने साथ र सम्भावना थियो ।
अब अगाडि बढ्नु भनेको आफ्नै नेतृत्वको अवसर थियो । पैसा पछि पनि कमाइएला, अहिले टीम सबुत रहे इतिहास रचिन्छ भनेर दशमध्ये नौ जना लाग्ने भयौं बाँकी ६ महादेशका अग्ला हिमाल चढ्न ।
त्यतिबेला हामीसँग एउटा सफलता र ऊर्जा बाहेक अरू केही थिएन । अघि सरे मान्छेहरूले पत्याउँछन् भन्ने थियो, तर धैर्य र संयमको परीक्षा पो शुरू भयो ।
सगरमाथा चढ्नु अघि ‘तिमीहरू सक्दैनौ’ भन्थे, अब ‘तिमीहरू सक्छौं तर अहिले हामी सहयोग गर्न सक्दैनौं’ भन्न थाले ।
२०१० मा अष्ट्रेलियाको कोजीअस्को हिमाल चढेर राम्रो सुरुआत त गर्यौं तर त्यसको एक महीनामा युरोपको अग्लो एल्बु्रस आरोहणपछि आइलागेको आर्थिक संकटले दुई वर्षसम्म अर्को हिमालतिर हेर्न दिएन ।
त्यो अवधिमा थप दुई साथीले बाटो बदलेपछि साझा सपनाको डोरीले बाँधिएका सात जना रह्यौं । हामीलाई पनि परिवार र पेशातिर फर्कन अप्ठ्यारो थिएन, छैन । तर साझा सपना टुटाउन चाहेनौं । लक्ष्यमा पुग्न हामीसँग एकअर्काको विश्वास छ ।
अप्ठ्यारामा फँसेको बेला अपनाइने सजिलो ९खतरनाक० ‘ब्लेम गेम’ हामीबीच चल्दैन । र पनि, आधाभन्दा बढी बाटो छिचोलिसकेको यो यात्रामा हामीलाई गाह्रै छ ।
ठूल्ठूला व्यापार–व्यवसायी, कम्पनी र ब्याङ्कहरू हामीलाई सहयोग गर्दैनन् । तर, संयोजक भएर बसेको मैले ‘तेरो कमजोरीले यस्तो भयो’ भनेर सुन्नु परेको छैन ।
नेपालमा कतै ‘डेमोक्रेसी’ छ भने त्यो हाम्रो टीममा छ । टीममा कसैको निर्णय लादिंदैन, तर कुरा सही छ भने सबैले त्यो काम गरेकै हुन्छन् । त्यही कारण, समस्याको बेला पनि पेटै दुख्ने गरी हाँस्न सकेका छौं ।
यसो भन्दैमा हामी राम–भरत जस्तै मिलेका छौं भन्ने होइन । हामी नियमित झगडा गर्छौं । लाएको, खाएको, बोलेको, हिंडेको, हेरेको जेसुकै कुरामा प्वाक्क बोल्छौं । यो हाम्रो शक्ति पनि हो ।
लागेको कुरा ठाडै भन्दा टीममा कुण्ठा वा तुष जम्न पाएको छैन । मीठो कुरा मात्र गर्न सकिनेहरूसँग लामो यात्रा सम्भव हुँदैन पनि ।
हामीलाई सहयोग गर्नेहरू थोरै छन्, तर साथ छाडेका छैनन् । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, विश्व खाद्य कार्यक्रम, नर्थ फेस र गैर–आवासीय नेपालीले पहिलादेखि नै साथ दिइरहेकोमा अब ट्रेकिङ एजेन्ट्स एशोसिएसन ९टान० र पञ्चकन्या समूह थपिएका छन् ।
मान्छेलाई आफू जस्तो विद्वान अरू कोही लाग्दैन । हामी सातलाई पनि त्यस्तै लाग्छ । एकअर्काको कुरा सजिलै मान्दैनौं । एकअर्काको कुरा भने दिमागको सबै झ्यालढोका खुला राखेर सुन्छौं ।
त्यसो गर्दै चार महादेश घुम्दा हामीले सिक्यौं– अनुशासन विनाको स्वतन्त्रताले काम दिन्न ।
विना सद्भाव र अनुशासनको स्वतन्त्रताले हैरान पारेका भुक्तभोगी हामी नेपाली नै हौं । त्यसकारण, देश–विदेशका हिमालका अप्ठ्याराहरूमा होस् या शहरका रंगीन पार्टीहरूमा, हामी सधैं एकअर्काको निगरानीमा रहन्छौं ।
‘बाल दिने’ वा ‘बिन्दास हुने’ कुरा सुन्नका मात्र ‘कूल’ हुन् । पुरुषहरू ‘बिन्दास’ हुँदा धेरै महिलाले दुःख पाएका छन् । महिलाले पनि ‘बाल नदिंदा’ झन् गाह्रो परेको छ हाम्रो समाजलाई ।
स्वतन्त्रता भनेको जसले जे गरे पनि हुने अवस्था होइन । महिला स्वतन्त्र हुन सामाजिक पनि हुनैपर्छ जस्तो लाग्छ हामीलाई । नत्र, माया जस्ता एकाध आँटिलीहरूले मात्र स्वतन्त्र हुन पाउने छन् ।
माया त आँटिली मात्र होइन विद्रोही नै हो । १४ वर्षको उमेरमा बाबुले तोकेको बिहेको अघिल्लो साँझ् घरबाट टाप कस्दा उसको मनमा एउटै कुरा थियो– ‘म त यति छिट्टै बिहे गर्न होइन, ठूलो काम गर्न पो जन्मिएकी हुँ ।’
तर, बस झपामा रोकिएपछि ऊ गन्तव्यविहीन भइहाली । सोधपुछ गर्ने महिला प्रहरीसँग उसको शर्त थियो– ‘मलाई पुलिस बनाइदिने भए मात्र घर कता हो, बताउँछु ।’
बालविवाह गर्ने र गराउनेलाई सजाय दिन त्यतिबेला माया पुलिस बन्न खोजेकी थिई । ३० वर्ष नाघेकी ऊ अहिले अविवाहितै संसार डुलेर बाल्यकालको तीतोसँग मीठो बदला लिइरहेकी छे ।
त्यतिबेला आफन्तहरूले ‘माया जस्ती छोरी नहुन्’ भन्थे रे १ अहिले ऊ जस्तो बन्न चाहने चेली धेरै छन् ।
कुनै दिन आफैं अचानो भएकी माया खुकुरी उन्मूलनको सपना देख्छे । ऊ चाहन्छे– आत्मसम्मान आँटिलाको मात्र ‘लक्जरी’ नबनोस् ।
चेलीबेटी बेचबिखनको लागि बदनाम सिन्धुपाल्चोकलाई साहसी महिलाहरूको जिल्ला बनाउने उसको अठोट छ । जिल्लामा धेरथोर काम पनि गरिसकी ।
महिला सशक्तिकरणमा उसको नेतृत्वलाई एभरेष्ट वुमन ट्रेक्स एण्ड एक्सपिडिसनमार्फत हामीले संस्थागत साथ दिएका छौं ।
आशाकुमारी सिंह, माया गुरुङ, पेमा दिकी शेर्पा, निम्डोमा शेर्पा, पुजन आचार्य र चुनु श्रेष्ठले मलाई आफ्नो देशका महिलाको अवस्था बुझाएका छन् । हाम्रो टीम पनि नेपाल बुझेकाले मात्र बुझ्ने खालको छ ।
यो साहसी, समावेशी र डेमोक्रेटिक टीम हो । सहयात्रा हाम्रो स्वतन्त्रताको मूलमर्म हो । यसअघि हामी सबैमा ऊर्जा, आकांक्षा र केही सीप–ज्ञान समेत भए पनि आ–आफ्नै कुवामा थियौं ।
अहिले सात कुवा मिलेर नदी बनेका छौं । चार महादेशमा नेपालको झण्डा फहराइसक्यौं ।
‘तेस्रो विश्व’ का युवा महिलाले पनि सपना देख्न सक्छन्, उँचाइ छुन सक्छन्– हामी यसै भन्दै शिक्षा, सशक्तिकरण र वातावरणको सन्देश बोकेर लम्केका छौं ।
हामीले समूहमा काम गर्यौं भन्दैमा सबैले त्यही गर्नुपर्छ भन्ने छैन । सँगै काम नगरे पनि एउटालाई अर्कोले उठ्न दिंदा समाजको सामूहिक उन्नति हुन्छ ।
जीवन र मृत्युलाई एउटै डोरीमा बाँधेर उकालो–ओरालो गर्दा, क्रयाम्पोन बजार्दै, जथाभावी बोल्दै हिमाल उक्लिंदा, पाँचतारे होटलमा अंग्रेजीमा भाषण गर्दा, हिमाली गोरेटोमा नाच्दा र हिउँको खोचमा बलिन्द्रधारा आँसु झर्दा हामीले सिकेको सामूहिक पाठ यही हो ।
नेपाली समाज चलायमान भएकाले हामी सामान्य परिवारका महिलाले सही समयमा सही अवसर पायौं अनि हाम्रो ऊर्जाले बाटो समात्यो ।
हामीमा जस्तो ऊर्जा सबैमा छ । नेपालभरि हामीले त्यो देखेका छौं । गाउँ–गाउँको नेपथ्यबाट गतिशील नारीहरू नेतृत्वतिर लम्किरहेका छन् ।
हिजोको पुस्ताले कल्पना नगरेको स्वतन्त्रता आज हाम्रो चिनारी भएको छ । आज हामी टीमलाई यही स्वतन्त्रताले परिपक्व पार्दै संसारलाई नेपाल चिनाउन हिंडेका छौं ।
हामीले सगरमाथादेखि किलिमन्जारोसम्मको यात्रामा धेरै पाठ सिक्यौं । थप पाठ सिकाउन तीन महादेशका हिमालहरू गजक्क परेर उभिएका छन् ।
हामी ती शिखरतर्फ सामूहिक पाइला चाल्न लालायित छौं– जुन नेपाली नारीको स्वतन्त्रता, स्वाभिमान र सफलताको प्रतीक हुनेछ ।
हिमालको २६ जेठ २ असार अंकबाट ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
