रमझमसोमबार, आषाढ ३, २०७०
प्याराग्लाइडिङमा महिला पाइलट
तीन वर्षअघि सराङकोट प्याराग्लाइडिङको कार्यालयमा काम गर्दा प्रतिभा बोगटी (२७) ले बारम्बार ‘नेपाली महिला प्याराग्लाइडिङ पाइलट छैनन् ?’
भन्ने विदेशीहरूको प्रश्नको सामना गरिरहनुपर्थ्यो । जिज्ञासु विदेशीहरूलाई उत्तर दिंदादिंदै उनको मनमा आफैं प्याराग्लाइडिङ पाइलट बन्ने इच्छा जाग्दै गयो । प्रतिभा भन्छिन्, “अनि ब्लुस्काई प्याराग्लाइडिङमा कोर्ष ज्वाइन गरें ।”
त्यसरी प्याराग्लाइडिङ पाइलट बनेकी उनको सोलो (एक्लो) उडान नै २००० घण्टा पुग्न लागेको छ । पाँच दिनको ‘कोर्ष’ गरेर टेण्डम (दुई जना) उडान गरिरहेकी लेकसाइडकी प्रतिभा अब चाँडै नै व्यावसायिक प्याराग्लाइडिङ पाइलट बन्दैछिन् ।
१००० घण्टा सोलो गरेपछि टेण्डम उडानको लागि अनुमति पाइन्छ । व्यावसायिक प्याराग्लाइडिङ पाइलटिङका लागि १५ वटा टेण्डम उडान गरेको हुनुपर्छ ।
१५० टेण्डम उडान गरेपछि यात्रु लिएर उड्न पाइन्छ । प्याराग्लाइडिङमा अवसर र आय दुवै राम्रो रहेको प्रतिभाले बताइन् ।
पोखरामा तीन विदेशी, पाँच नेपाली गरी आठ जना महिला प्याराग्लाइडिङ पाइलट छन् । तीमध्ये टेण्डम कोर्ष गरेकी प्रतिभा नै हुन् भने पाँच वर्षअघि प्याराग्लाइडिङ पाइलट कोर्ष गरेकी तिर्सा बमजन (२५) एक महीनापछि टेण्डमको तयारीमा छिन् ।
पोखराकी तिर्साको सोलो भने ५००० घण्टा छ । उनका श्रीमान् राजेश पहिलो नेपाली प्याराग्लाइडिङ पाइलट हुन् ।
व्यावसायिक प्याराग्लाइडिङ पाइलटिङकी अर्की आकांक्षी कृसु पौडेल (२१) ले पनि फेवातालको आकाशमाथि पाँच महीनामा ५०० घण्टा उडान गरिसकेकी छिन् ।
यसैगरी, हेम्जाकी सुनिता थापा (२२) को उडान १०० घण्टा पुगेको छ । २०० सोलो उडान गरिसकेकी पुनम बमजन (२९) भने अहिले फिनिक्स प्याराग्लाइडिङ कम्पनी संचालनमा व्यस्त छिन् ।
पोखरामा सन् १९९८ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भए पनि सरकारले यसलाई व्यवस्थित गर्ने नीति बनाएर लागू गरेको छैन ।
पर्यटन मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयले लागू गरेको हवाई खेलकुद सम्बन्धी निर्देशिका अपर्याप्त भएको व्यवसायीहरूको भनाइ छ ।
माधव बराल, पोखरा
२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट