अर्थ/बजारसोमबार, आषाढ ३, २०७०
‘खाँचोः सौर्य ऊर्जा प्रवर्द्धनको’
-के. आर. खनाल
ग्रामीण भेगसम्म सौर्य विद्युत् ऊर्जाको प्रवर्द्धन गरेको राज्यले सौर्य ताप (सोलार थर्मल) ऊर्जालाई भने वास्ता गरेको छैन ।
जबकि, गर्मी र ठण्डा दुवै मौसममा उत्तिकै प्रभावकारी हुने सौर्य ताप ऊर्जा शहरदेखि दूरदराजसम्म पुर्याउन सकिन्छ । यसको विस्तारले वन फँडानी रोक्नदेखि पेट्रोलियमको आयात घटाउन पनि योगदान पुर्याउँछ ।
सौर्य ताप ऊर्जाबाट पानी तताउन, खाना पकाउन, बिस्कुन सुकाउन र फलफूलको सुकुटी बनाउन सकिन्छ ।
भरपर्दो सडक नहुँदा कुहिएर खेर जाने गरेको कर्णालीको स्याउको सौर्य ताप ऊर्जाबाट सुकुटी बनाउँदा स्थानीय किसानको जीवनस्तर सुधार गर्न सहयोग पुग्छ । सौर्य ताप ऊर्जाबाट अदुवाको सुकुटी बनाउन सकिन्छ ।
पैसा बचत
सरकारले अहिले प्रति ग्याँस सिलिण्डरमा करीब रु.५०० अनुदान दिइरहेको छ । यसरी जनताबाट उठेको कर विकासमा नलगाउँदा खेर गइरहेको छ ।
अहिले त हिमाली भेगका बजारमा समेत हेलिकप्टरबाट सिलिण्डर ग्याँस पुर्याउन थालिएको छ । सौर्य ताप ऊर्जा प्रवद्र्धनमा जोड दिने हो भने विकासको पैसा काटेर पेट्रोलियममा अर्बौं रुपैयाँ अनुदान दिने बाध्यताबाट सरकारले मुक्ति पाउँछ ।
खोलामा बगाए जसरी पेट्रोलियममा पैसा खेर फाल्नु भन्दा यो क्षेत्रमा एक पटक अनुदान दिने हो भने वर्षौंलाई फाइदा हुन्छ । राज्यले पेट्रोलियम आयात बढ्दा जति राजस्व पाएको छ त्योभन्दा धेरै गुणा बढी फाइदा सोलार थर्मल प्रवर्द्धनबाट हुन्छ ।
सौर्य ताप ऊर्जामा गरिएको लगानी एक÷दुई वर्षमा नै ‘पे ब्याक’ हुन्छ । जस्तो कि रु.४० हजार खर्च गरेर जडान गरेको सौर्य ताप ऊर्जाले एक दिनमा २०० लिटर पानी तताउन सकिन्छ ।
यसरी त्यही पैसाले एक वर्षमा ७३ हजार लिटर पानी तात्छ । जबकि, रु.१५०० पर्ने सिलिण्डर ग्याँसले एक लिटर पानी तताउन कम्तीमा रु.३ लाग्छ ।
रु.४० हजार खर्च गरेको सोलार थर्मलबाट एक वर्षमा तताए जति पानी ग्याँसबाट तताउँदा रु.२ लाख भन्दा बढी खर्च हुन्छ ।
सौर्य ताप ऊर्जाबाट खाना पकाउने हो भने वन फँडानी पनि कम हुन्छ । त्यसले कार्वन ट्रेडिङबाट विदेशी मुद्रा आर्जनको बाटो पनि खोल्छ ।
सौर्य ताप प्रवर्द्धन भएमा अहिलेको घण्टौं लोडसेडिङबाट समेत मुक्ति पाउन सकिन्छ । बिजुलीले पानी तताउने, खाना बनाउनेहरूलाई सोलार थर्मलमा आकर्षित गर्न सक्दा ऊर्जा संकट पनि कम हुन्छ ।
आकाशबाट आइरहेको अथाह सौर्य ताप ऊर्जा खेर जान नदिने सोलार प्यानल जडान गर्न झञ्झट पनि छैन, एकै दिनमा गर्न सकिन्छ ।
सरकारी प्रवर्द्धनको प्रतीक्षा
सरकारले सौर्य ताप ऊर्जामा अझैसम्म कर छुट दिएको छैन । कुनै मन्त्रीले विशेष निर्णय गरेर छुट दिने बाहेक यो गुणकारी प्रविधिले नीतिगत रूपमा सरकारबाट कुनै राहत पाएको छैन ।
धनीहरूले उपयोग गर्ने वस्तु भनेर सरकारले यसलाई बेवास्ता गर्दै आएको छ । आफूले उत्पादन गरेको अन्नपात तथा फलफूल बिस्कुनको रूपमा सुकाउन कोही धनाढ्य भइरहनु पर्दैन ।
जाडोमा पानी तताएर नुहाउने अधिकार धेरै पैसा हुनेलाई मात्र छैन । त्यसैले सौर्य विद्युत् ऊर्जामा जस्तै अनुदान दिएर सरकारले सौर्य तापलाई सबैको पहुँचमा पुर्याउनु आवश्यक छ ।
यसले गरीब जनताको जीवनशैलीलाई सहज र व्यवस्थित बनाउने छ । शहरका केही सीमित व्यक्तिले चलाउने ग्याँसमा अनुदान दिने सरकारले वातावरणीय दृष्टिले महत्वपूर्ण यो क्षेत्रलाई बेवास्ता गर्नुहुँदैन ।
त्यसैले आगामी आर्थिक वर्षको बजेटदेखि नै नीतिगत रूपमा सौर्य ताप ऊर्जालाई सम्बोधन गरिनुपर्छ भन्ने हाम्रो माग छ । राज्यले चासो नदेखाए पनि उपभोक्ताले आफ्नै पहलमा सोलार थर्मल जडान गर्ने क्रम बढेको छ ।
तर, कहाँ उत्पादित तथा कस्तो उपकरण हो भन्ने हेक्का नराखी खरीद गर्दा गुणस्तरमा समस्या देखिएको छ ।
त्यसले सौर्य ताप ऊर्जाबारे नकारात्मक सञ्चार प्रवाह गर्न सक्छ । त्यसैले ग्राहकले यस सम्बन्धी उपकरण खरीद गर्दा गुणस्तरमा चनाखो हुन जरूरी छ ।
(खनाल सौर्य ताप ऊर्जा संघ नेपालका अध्यक्ष हुन् ।)
२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
