टिप्पणीसोमबार, आषाढ ३, २०७०

भित्र सबल बाहिर प्रभावी

किरण नेपाल

कुन्मिङस्थित 'फर्स्ट चाइना साउथ एशिया एक्स्पोजिशन' प्रदर्शनी स्थल ।

करीब ६५ लाख जनसंख्या भएको कुन्मिङले थुप्रै प्रदर्शनी देखेको छ । तीन शताब्दीअघिको समृद्ध चीनको प्रमुख व्यापारिक केन्द्र कुन्मिङको २३–२७ जेठको ‘फर्स्ट चाइना–साउथ एशिया एक्स्पोजिशन’ भने फरक महत्वको थियो– यहींबाट चीनले दक्षिण एशियालाई आफ्नो आर्थिक समृद्धिको प्रमुख साझेदार बनाउन चाहेको घोषणा गरेकाले ।

दक्षिण–पश्चिम प्रान्त युनानको राजधानीमा आयोजित ‘एक्स्पोजिशन’मा दक्षिण एशियाली र दक्षिणपूर्वी एशियाली नेताहरूको सहभागिताले चिनियाँ अभिप्रायलाई सफलता उन्मुख बनाएको पनि देखिन्थ्यो ।

‘एक्स्पोजिशन’ उद्घाटनमा चिनियाँ उप–प्रधानमन्त्री मा काईले ‘हाम्रा नवनियुक्त प्रधानमन्त्रीको प्रथम विदेश भ्रमण पनि दक्षिण एशियामै हुनु भनेको त्यस क्षेत्रको समृद्धि हाम्रो प्राथमिकतामा रहेको प्रमाण हो’ भन्दै आयोजनाको आशय स्पष्ट पारेका थिए ।

सन् २००२ मा ५.७ अर्ब अमेरिकी डलरको हाराहारीमा रहेको चीन–दक्षिणएशिया व्यापार २०१२ मा आइपुग्दा ९३ अर्ब डलर पुगेको अवस्थामा चीन, बंगलादेश, भारत र बर्माको व्यापार तथा लगानी मञ्च (बीसीआईएम) र चाइना–पाकिस्तान इकोनोमिक करिडरमा बेइजिङले आफ्नो लगाव लुकाएको पनि छैन ।

“आफूलाई शालीन समाजवादी लोकतान्त्रिक मुलुकको रूपमा उभ्याउनु चीनको प्राथमिकता हो”, हालैको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट पारित चिनियाँ विकासको ‘ब्लुप्रिन्ट’ उद्धृत गर्दै उप–प्रधानमन्त्री मा काईले ‘एक्स्पोजिशन’मा भने “हामी दक्षिणएशियामा त्यही अनुसार सौहार्दता, सुरक्षा र साझ्ेदारी चाहन्छौं ।”

केन्द्रमा भू–राजनीति

कुन्मिङमा कुरा व्यापारको भए पनि त्यो सेरोफेरोमा विकसित गतिविधिले दक्षिणएशियाको बदलिंदो भूराजनीतिक चासो नै झल्काउँथ्यो ।

हजार वर्षअघिदेखि प्राचीन टि हर्स रोड वा दक्षिणी सिल्क रोडमार्फत बर्मा हुँदै बंगाल र भारतसँग जोडिएको युनानको व्यापारिक केन्द्र कुन्मिङमै २१ औं शताब्दीको दक्षिण एशियासँगको व्यापार विस्तारको घोषणा यो क्षेत्र विश्व राजनीतिको केन्द्रमा परेकाले नै भएको बुझ्न सकिन्छ ।

‘ग्लोबल’ मनोविज्ञानको विस्मृतिमा पुगेको दक्षिणएशियालाई २१ औं शताब्दीमा भारत र चीनले हासिल गरेको आर्थिक समृद्धिले विश्व भूराजनीतिको केन्द्रमा तान्न थालेको छ ।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएपछि राजनीतिक पण्डितहरूले विश्व राजनीतिको केन्द्रविन्दु दक्षिण एशिया हुने आकलन गर्न थालेका थिए । र, घटनाक्रमहरू पनि त्यही अनुसार विकसित हुँदै गए ।

अलकायदा–तालिवानको आतंकवादले अफगानिस्तानमा अमेरिकी सामरिक उपस्थिति बढायो, जसले शीतयुद्धकालदेखिको अमेरिका–पाकिस्तान सम्बन्धलाई चिसो बनायो र इस्लामावादलाई बेइजिङ नजिक बनाउँदै लग्यो ।

आज काराकोरम हिमालयबाट गएको सडकले इस्लामावाद–बेइजिङ मित्रताको प्रगाढता देखाइरहेको छ । इस्लामावादले गदर बन्दरगाह व्यवस्थापनको जिम्मा चीनलाई नै दिएको छ ।

यता आर्थिक वृद्धिले बढाएको लगानी र व्यापारको आवश्यकताले चीन–भारत सामरिक प्रतिस्पर्धालाई तत्कालका लागि ओझेलमा पारिदिएको महशूस गर्न सकिन्छ ।

यद्यपि, क्षेत्रीय भूराजनीतिमा श्रीलंका, बंगलादेश, बर्मा लगायतका मुलुकको ‘शिफ्टिङ पोजिशन’ले बेइजिङ–नयाँदिल्ली सामरिक चाल कम नहुने दबाब पनि सिर्जना भएकै छ ।

लामो गृहयुद्धबाट त्राण पाएको श्रीलंकाको अर्थतन्त्रमा अहिले चिनियाँ लगानीले प्राण थपेको छ ।

श्रीलंकाले सामरिक उपयोगमा समेत आउने हबन्तोटा बन्दरगाह निर्माण–सञ्चालनको जिम्मा चीनलाई दिएको छ भने बंगलादेशले पनि चीनलाई नै प्रमुख व्यापार साझेदार बनाउँदैछ ।

बंगलादेशले पनि चटगाँव बन्दरगाह सुधारको जिम्मा चीनलाई दिएको छ । सीआइएममार्फत प्रस्तावित कुन्मिङ–म्यान्मार–उत्तरपूर्वी भारतहुँदै बङ्गलादेशसम्मको रेल तथा मोटरबाटो निर्माणतर्फको चिनियाँ चासो बढ्दो छ ।

दक्षिणएशियामा चिनियाँ चासोले निकट छिमेकी नेपाललाई अपवाद छोड्ने कुरै भएन– मूलतः तिब्बत ‘फ्याक्टर’ले गर्दा । राजनीतिक संक्रमणसँगै नेपालमा ‘स्वतन्त्र तिब्बत’को गतिविधि बढेको उसको जबर्जस्त आकलन रहेको बुझिन्छ ।

संक्रमणकालमै अत्यधिक बढेको भारतीय हस्तक्षेपले कमजोर बनाउँदै लगेको नेपाली राजनीतिमा आफ्नो ‘पोजिसनिङ’ कसरी हुने भन्ने चिन्ता पनि कम छैन चीनको । पछिल्ला दिनमा नेपाल मामिलामा चीन निकै मुखर भएर आएको पनि छ ।

नेपाल मामिलामा उसको बदलिंदो चाल काठमाडौंमा बढेको भारतको प्रशासनिक र गुप्तचर एजेन्सीको चलखेलबाट पनि प्रभावित देखिन्छ । यसले नेपालको राजनीतिक ‘पोजिशनिङ’मा अप्रत्यासित परिवर्तन नल्याउला भन्न सकिन्न ।

नेपालको ‘र्याशनल’ बौद्धिक तप्कामा त्यस्तो ‘शिफ्टिङ’ आयो भने छिमेकमा कायम भारतको प्रभाव कमजोर हुनेछ ।

लामो समयदेखि भारतको प्रभाव रहेको दक्षिणएशियाली मुलुकहरूको ‘पोजिशनिङ’मा परिवर्तनसँगै यो क्षेत्रको अर्को सदस्य बर्मा वर्षौं पुरानो चिनियाँ प्रभावबाट फुत्किएको छ ।

अढाइ वर्षअघि अमेरिका समर्थित बर्मेली प्रजातान्त्रिक आन्दोलनसँग सहकार्य गर्न बाध्य भयो, त्यहाँको सैनिक सरकार । केही महीनाअघि भएको राष्ट्रपति तहको वासिङ्टन–रंगुन भ्रमणले बेइजिङलाई बर्मामाथिको आफ्नो प्रभाव बाँड्न बाध्य पारेको छ ।

यो तोडले पनि हुनसक्छ, चीनले विश्वमञ्चलाई कुन्मिङबाट दक्षिणएशियामा आफ्नो प्रभावको सन्देश दिन चाह्यो ।

के सन्देश ?

जुनसुकै क्रियाशीलताका लागि सही समयको पर्खाइ चिनियाँ कूटनीतिको गुदी हो । गत दशकमा देखिएको उथलपुथलले दक्षिणएशियालाई विश्वमञ्चको केन्द्रमा ल्याएको छ र यस क्षेत्रमा ‘मौन कूटनीति’ बाटै आफ्नो उपस्थिति जनाइरहेको चीनलाई यही उथलपुथलले ‘भोकल’ बनाएको छ ।

‘एक्स्पोजिशन’मा निम्त्याइएका दक्षिण र दक्षिणपूर्वी एशियाका दुई दर्जन पत्रकार र करीब ८० बौद्धिकमा उत्पन्न चीनबारेको चासो तथा चर्चा प्रान्तीय राजधानी कुन्मिङमा मात्र सीमित रहेन ।

जिज्ञासु पत्रकारहरूले युनानको कुनाकन्दरासम्म आएको परिवर्तनसँग साक्षात्कार गरे भने बौद्धिकहरूले बदलिंदो भूराजनीतिमा चिनियाँ प्रभावबारे मगज खियाए ।

चीनले हासिल गरिरहेको आर्थिक समृद्धि समान वितरणको अभावका कारण बढी आलोचित छ । अर्थात्, जे–जति समृद्धि प्राप्त भइरहेको छ, त्यो राजधानी र दक्षिण–पूर्वी क्षेत्रमा सीमित छ ।

आलोचकहरू चिनियाँ आर्थिक वृद्धिलाई किनारमा समृद्धि र बीचमा गरीबी भएको ‘डनट समृद्धि’ पनि भन्छन् । त्यस्ता आलोचनाहरूलाई कमजोर साबित गराउन ‘एक्स्पोजिशन’ समापनपछि पत्रकारहरूलाई पाँचदिने भ्रमण गराइएको थियो ।

‘थर्ड साउथ इष्ट एशिया–साउथ एशिया मिडिया रिप्रेजेन्टेटिभ ट्रिप टु युनान’ नाम दिइएको यो भ्रमणमा दक्षिण एशियाली पत्रकारहरूलाई पहाडका कन्दराहरूमा पुर्याइएको एक्सप्रेस वे, सुरुङ लगायतका भौतिक संरचनाको विस्तार मात्र नभई ग्रामीण कृषि अर्थतन्त्रमा निजी र सहकारी क्षेत्रको चमत्कार देखाइयो ।

हुन पनि, कुन्मिङबाट निकै टाढाका ‘ग्रीनपार्क सिटी’हरू चिनियाँ समृद्धिको साक्षी बनेका थिए ।

होङ हे पर्फेक्चरको जियान सुईस्थित कन्फ्यूसियस मन्दिरले चीनमा सांस्कृतिक सहजता बढ्दै गएको देखाउँथ्यो भने निजी क्षेत्रको ‘टु पर्पल पोटरी इन्टरप्राइजेज’को उत्पादन क्षमता र सञ्चालकहरूको आत्मविश्वास साँच्ची नै उत्साहजनक थियो ।

आकाशिंदो औद्योगिक विस्तारसँगै वातावरण विनाशकको आरोप खेपिरहेको चीनभित्र ‘मेङजी माइनिङ तथा मेटालर्जी कम्पनी’ पनि उदाहरणीय देखिन्थ्यो ।

वातावरणमा कुनै असर नपारी जिंक, सिसा, तामा, इन्डियम, चाँदी र सुन उत्पादन गर्ने यत्रो कम्पनी चलाउन सकिने रहेछ ।

समग्रमा, चीनले आफ्नो आर्थिक समृद्धिप्रति विश्वको आलोचनात्मक टिप्पणी चिर्न र छिमेकसँगको सम्बन्धप्रति महत्व दर्साउन नै यो आयोजना गरेको सहजै बुझिन्छ । यसको अर्थ, चीनको आन्तरिक सबलता अब छिमेकमा प्रभावको रूपमा आइपुग्न लाग्यो भन्ने पनि हो ।

२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>