रमझमशुक्रबार, जेठ २६, २०६९
कलाकारहरु आफै बनाउँदैछन नाटकघर
फागुन २०६८ बाट शुरू भएको नाटकघर निर्माण यही भदौको पहिलो सातासम्म पूरा गर्ने लक्ष्य लिइएको छ ।
राजधानीमा नाटकघरको अभावका कारण नाटक मञ्चन र रिहर्सलका लागि हल नहुँदा भोग्दै आएको समस्याबाट मुक्त हुन आफैं निर्माणमा लागेको मण्डला थिएटरका निर्देशक राजन खतिवडा बताउँछन् । केही मिस्त्री लगाउने बाहेक अरू ईंटा बोक्ने, सिमेण्ट मुछ्ने, प्लास्टर गर्नेदेखि रङ लगाउनेसम्मका सबैकाम कलाकारहरू आफैंले गरिरहेका छन् । राजन भन्छन्, “आफैंले काम गर्दा नाटकघरको माया पनि बढी हुने र खर्च पनि जोगिने भएकाले हामी खटिरहेका छौं ।”
चार वर्षअघि स्थापना भएको यो समूहले हरेक वर्ष देशका विभिन्न स्थानमा मोबाइल थिएटरका रूपमा नाटक प्रदर्शन गर्दै आएको छ । समूहका अध्यक्ष दयाहाङ राईका अनुसार एक पटकमा १५० दर्शक अटाउने नाटकघरसँगै माथिल्लो तलामा क्याफे समेत सञ्चालन गरिनेछ । दयाहाङका अनुसार करीब रु.२० लाख खर्च लाग्ने नाटकघर निर्माणका लागि अपुग रु.५ लाख रहेकाले ऋणपान गरेर भए पनि सक्ने योजनामा मण्डला समूह लागेको छ । युवा रंगकर्मीहरूको उत्साह र जोशको कदर गर्दै कलाकार किरण मानन्धर, रंगकर्मी अशेष मल्ल लगायतकाले रु.५ हजारदेखि रु.१० हजारसम्म आर्थिक सहयोग समेत गरेका छन् । देश–विदेशबाट समेत कलापारखीहरूले मण्डला थिएटरको यो कामका लागि आर्थिक सहयोग पठाउन थालेका छन् । सहयोग गर्न चाहने जो कोहीले www.mandalatheatre.com मार्फत सम्पर्क गर्न सक्ने राजन बताउँछन् ।
नेपाली फिल्म लूट, दासढुंगा आदिबाट चर्चा कमाएका कलाकार दयाहाङ राईसँगै रंगकर्ममा डेढ दशकदेखि सक्रिय राजन खतिवडाको ध्याउन्न नाटकघर पूरा गर्नेमा छ। राजन र दयाहाङले अभिनय गरेको बहुप्रतीक्षित नेपाली फिल्म हाईवे ५ साउनमा प्रदर्शन हुँदैछ भने उनीहरूको नाटकघरमा भदौको पहिलो सातामा नाटक मञ्चन शुरू हुनेछ । उनीहरूको नेतृत्वमा युवा रंगकर्मीहरू अहिले आफ्नो सपना साकार पार्न लागिपरेका छन् । यो अनामनगरको सिंहदरबार पूर्वीगेट नजिकै रहेकाले मण्डलाको नाटकघर र क्याफेमा दर्शक र ग्राहकको भीड लाग्ने देखिन्छ । पुरानो बानेश्वरमा रहेको आरोहण गुरुकुलको दुवै नाटकघर ठाउँ छाड्न परेकाले भत्किएपछि शून्यता छाउँदै गएको राजधानीको रंगकर्ममा सर्वनामको नयाँ नाटकघरले उत्साह थपे पनि मण्डला थिएटरले थप गुल्जार पार्ने आशा गरिएको छ ।