ब्लगमंगलबार, आषाढ ४, २०७०
माटोको मनितो
केही दिनअघि कामविशेषले एउटा सरकारी कार्यालय पुग्दा कर्मचारी बन्धुले नेपाली चलन अनुसार “यहाँको घर चाहिं कता पर्यो ?” भनेर सोधे ।
“तनहुँ ।”
“ओहो, आदिकविको जिल्लाका पो हुनुहुँदोरहेछ, कस्तो राम्रो ठाउँको मान्छे तपाईं !”
“तपाईंको नि ?”
“मेरो त नुवाकोट हो । फटाहा ठान्छन् हाम्लाई त… ।”
उनले लामै सुस्केरा हाले । आफ्नो माटो बिटुल्याउन बनाइएको बिम्वप्रति दुखी थिए, उनी ।
“अरे सर, बनाउने हो भने तनहुँमा जन्मेका फटाहाहरूको पनि सूची लामै हुन्छ । एउटा व्यक्तिको गुण वा अवगुणको आधारमा ठाउँको बद्नाम गर्न मिल्दैन ।”
उनको हीनताबोध अलिकता कम भएको अनुभवले मलाई सन्तोष लाग्यो ।
झापाली र स्याङ्जाली ।
“घर स्याङ्जा, मामाघर झापा । चिन्याछस् मलाई ?”
गत हिउँदको एक बिहान टोलको चियापसलमा केही युवक यसो भन्दै ठट्टा गरिरहेका थिए । साथीभाइबीच चलेको ठट्टा सामान्य जस्तो लागे पनि यसको लट्टा असामान्य थियो ।
किनभने, उनीहरूको यो ठट्टा स्याङ्जाली र झापाली ‘एक नम्बरका फटाहा हुन्छन्’ भन्ने भनाइमा आधारित थियो ।
नेपालमा सबभन्दा बढी सचेत मान्छे जन्माउने माटोलाई अकारण सरापिरहेछ दुनियाँ । त्यतैतिरको एक बन्धु ‘डेन्जर ठाउँको डेन्जर मान्छे हुँ’ भन्दै आफ्नै माटोको बद्नाम गरिरहेका थिए ।
संसारमा जहाँ पनि राम्रा मान्छेहरूका बीच एकाध नराम्राहरू हुन्छन् नै । मरेपछि राम्रा मान्छेहरू स्वर्ग र नराम्राहरू नर्कतिरको बाटो लाग्छन् भन्छ, हिन्दूको धर्मले ।
यसरी पापी र धर्मात्माहरू सर्लक्कै छुट्टिने र छुट्टिएको अलग दुनियाँ यो धरतीमा छैन ।
तर, अमूक ठाउँको अमूक मान्छेले गरेका गल्तीमा अतिशयोक्ति गरेर ‘त्यताका मान्छे त्यस्ता, उताका मान्छे उस्ता’ भन्दै ठाउँलाई नै सराप्ने संसारमा नभएको चलन नेपालमा छ ।
यसरी आफ्नो माटोको बद्नाम गर्नेहरूले अनेकथरी आपत्तिजनक बिम्बहरू पनि रचेका छन् । जस्तोः
‘स्याङ्जाली–झपाली जाली !’
‘नुवाकोटे हिंडेको बाटै नहिंड्नु !’
‘सिन्धुपाल्चोकका चेलीबेटी दलाल !’
‘मधेशी जति जम्मै खत्तम !’
झापालीको ‘भान्जो’ ती ‘स्याङ्जाली’को ठट्टाले मनलाई अलि दिन उद्विग्न बनाइरह्यो । मेरा थुप्रै स्याङ्जाली–झापाली मित्रहरू छन् । सुरुआती चिनापर्चीमा म सहज ढंगले ‘म तनहुँको’ भन्थें ।
झापालीहरूमध्ये कोही भद्रपुर, सुरुङ्गा, दमक, शनिश्चरे आदि भन्थे । स्याङ्जाकाहरू पनि कोही पुतलीबजार, वालिङ आदि भन्थे । कस्तो जिल्ला हो यो ? जिल्लाबाटै आफ्नो परिचय खुलाउने हामी नेपालीको आम चलन भएकाले कतिसँग जिस्किएँ पनि ।
जिल्लामा जोड दिंदा कतिले ‘झापा हो के’ भन्थे । त्यस्ता आवाज कताकता पिसिंदै निस्किएका हुन्थे ।
सत्य के हो भने, असल मान्छे भूगोलको चौघेरोभित्र अडिंदैन । राम्रा कामको प्रतापले ऊ देश र विश्वग्रामको सदस्य बन्छ । नराम्रो मान्छे आफ्नै गाउँको पनि रहँदैन । ऊ कतैको हुँदैन ।
नराम्रो चलन वा खराब मान्छेको बिम्ब बनाएर सिंगो ठाउँलाई अवगालमा पारिरहनु सभ्य समाजलाई सुहाउँदैन । जनक, सीता र बुद्धदेखि शहीद दुर्गानन्द झासम्मका मनीषीहरू तराई–मधेशका हुन् ।
मधेशीहरूलाई ‘कमसल’ देख्नु पहाडे राष्ट्रवादी संकीर्णता मात्र हो । कसैको दोषी चस्माले हीरालाई कीरा देख्छ भने हीराको के दोष ?
माटोले मान्छेलाई जन्म र जीवन मात्र होइन, चाहेको बाटो खन्ने स्वतन्त्रता–स्वच्छन्दता पनि दिएको छ ।
गुनिला मान्छेहरू गुनकै गोरेटो खनिरहेका हुन्छन् र गुनका उत्तराधिकारीहरू त्यो गोरेटोमा उम्रेका बेकामे झारहरू हटाउँदै गुनको फराकिलो सडक बनाइरहेका हुन्छन् ।
अनि, बेकामे–पिराहा झारहरूको नामसँग जोडेर माटोलाई किन बद्नाम गर्नु ? गुनिलो नेपालका सबै राम्रा मान्छेहरूको जय होस् ।
२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
