रिपोर्टमंगलबार, आषाढ ४, २०७०
बजारु खानेकुराले कुपोषण
– बच्चु विक, धनगढी
**वर्ष दिन पुग्न लागेको छोरो पुष्पलाई लोकल कुखुराको अण्डा बेचेको पैसाले किनेको चाउचाउको झोल खुवाउँदा झनै दुब्लाएपछि कैलालीको टीकापुर–९ की राधिका रोकाया (३२) छोरो लिएर सेती अञ्चल अस्पताल पुगिन्। पुष्पलाई जाँचेपछि डाक्टरले कुषोपण भएको बताए।
**कञ्चनपुरको कृष्णपुर–५ की जसु सार्की (३७) ले पनि बारीको सागपात नजिकै गुलरिया बजारमा बेचेको पैसाले किनेको पाउडर दूध खुवाएकी थिइन्, नौ महीना पुग्दै गरेको छोरो कृष्णलाई। तर; धामी, झाँक्रीले झारफुक गर्दा पनि छोराको जीउ नलागेपछि महाकाली अञ्चल अस्पताल पुर्याउँदा डाक्टरले पोषण पुनर्स्थापना केन्द्रमा लैजान सुझाए।
**डडेल्धुराको जोगबुडा–९ की तिलसरी खत्री (२९) ले भैंसीको दूध बिक्री गरेर किनेको चाउचाउ, भुजिया र चोकोफनले छोरी पार्वतीको तौल घट्न थालेपछि एक दिनको पैदल बाटो हिंडेर महेन्द्रनगरको महाकाली अञ्चल अस्पताल पुर्याइन्। डाक्टरले पार्वतीलाई पनि कुपोषण भएको बताए।
छोराछोरीलाई पौष्टिक खाना नखुवाउँदा हुने कुपोषण भएको सुनेर घरमा पर्याप्त खानेकुरा भएका उनीहरूलाई आश्चर्यमा पार्यो। कैलाली र कञ्चनपुरमा रहेका ‘पोषण पुनर्स्थापना केन्द्र’ ले सुदूरपश्चिमका कुपोषित आमा र शिशुमा गरेको अध्ययनको निष्कर्ष पनि आश्चर्यमा पार्ने खालकै छ।
घरका खानेकुरा नचिनेर किनुवा खानेकुरामा भरपर्दा कुपोषण भएको त्यो अध्ययनको निष्कर्ष रहेको बताउँदै धनगढी पोषण पुनर्स्थापना केन्द्रका कार्यक्रम प्रबन्धक गीता बिष्ट भन्छिन्, “खानपिनप्रतिको बेवास्ताले ख्यालख्यालमै कुपोषण हुने गरेको छ।”

पार्वती खत्री, कुपोषण भएर पोषण केन्द्रमा भर्ना हुँदा र स्वस्थ भएर फर्किंदा (दायाँ)। तस्वीर: बच्चु विक
दुई जिल्लाका पोषण केन्द्रमा आएका ६०९ जनामा ८० प्रतिशतको घरमा पर्याप्त खानेकुरा हुँदाहुँदै छोराछोरीलाई कुपोषण भएको देखिएको छ। महेन्द्रनगरको महाकाली अञ्चल अस्पतालमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा ल्याइएका १६ मध्ये १४ शिशुको घरमा पनि खाद्यान्न अभाव छैन।
६ वर्षको बीचमा त्यहाँ उपचार गरेर स्वस्थ भई फर्केका ९३७ जना कुपोषित शिशुमध्ये १० प्रतिशतको घरमा मात्रै खानेकुरा अभाव देखिएको कार्यक्रम प्रबन्धक इन्द्रा भट्ट बताउँछिन्।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले नेपालमा कुपोषण हुनुको दुई वटा कारणमा ‘आमाहरूले शिशुलाई पर्याप्त मात्रामा दूध नचुसाउनु र सन्तुलित खानपिनमा ध्यान नपुर्याउनु’ रहेको निष्कर्ष निकालेको छ।
कुपोषण धेरै रहेका देशहरूमा पर्ने नेपालमा पाँच वर्षमुनिका ४९ प्रतिशत बालबालिका कुपोषित रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।
विश्व ब्याङ्कको तथ्याङ्कमा कुपोषणका कारण नेपालमा ‘उत्पादन र आईक्यू लेभल’ कम हुँदा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नै घटेको उल्लेख छ।
विश्व ब्याङ्कको अर्को तथ्याङ्कले कुपोषणले ६ देखि ३६ महीनाका ६० प्रतिशत बालबालिका र सबै नेपालीमध्ये ४९ प्रतिशतको उँचाइ कम रहेको भन्छ। विश्व ब्याङ्कको अध्ययनले भनेको छ, “कुपोषणले मानिसको १ प्रतिशत उँचाइ कम हुन्छ र त्यसले १.४ प्रतिशत उत्पादन कम गराउँछ।”
मानिसको दिमागको ८० प्रतिशत विकास ५ देखि २४ महीनाको उमेरमा हुने हुँदा कुपोषणले दिमागको विकासमा अवरोध पुर्याएर आईक्यू लेभल कम बनाउने त्यो अध्ययनले देखाएको छ।
युनिसेफको अध्ययनले ‘थ्री एफ’ (फुड, फ्यूल र फाइनान्सियल) अर्थात् खाना, इन्धन र पैसाको अभावले कुपोषण हुने बताए पनि नेपाल त्यसको अपवाद देखिन्छ। भट्ट भन्छिन्, “अधिकांशमा केही अज्ञानता र केही बेवास्ताले कुपोषण हुने गरेको देखिएको छ।”
गृहिणी आमालाई सन्तुलित आहारबारे जानकारी नरहेको र कामकाजी आमाले व्यस्तताका कारण छोराछोरीको खानपिनमा ध्यान पुर्याउन नसकेको पनि अध्ययनले देखाएको छ। शिशुको हेरचाहमा पुरुषले ध्यान नपुर्याउने संस्कार रहेकाले पनि यो समस्या कायम रहेको देखिन्छ।
कैलालीका बालक पुष्पकी आमा राधिका भोक लागेर छोरा नरुँदासम्म खाना नखुवाउने र आफू बाहिर हुँदा घरका अरूले पनि खाना खुवाउन वास्ता नगरेको बताउँछिन्। गर्भावस्था र प्रसूतिको बेला घरका सबैले आमाको वास्ता गर्ने परम्परा रहे पनि प्रसूतिपछि आमा र शिशुको हेरचाह कमै गरिन्छ।
अझ् बच्चाको उमेर बढ्दै जाँदा थप पौष्टिक खानेकुरा खुवाउनुपर्नेमा बेवास्ता बढ्छ। घरमै रहेका पौष्टिक अन्नपातलाई बेवास्ता गरेर बजारु खानेकुरालाई पौष्टिक मान्ने संस्कार कुपोषण बढाउनुको अर्को कारण हो।
धनगढी पोषण पुनर्स्थापना केन्द्रकी प्रबन्धक विष्ट भन्छिन्, “लोकल अण्डा बेचेर चाउचाउ, भैंसीको दूध बेचेर कुरकुरे र बिस्कुट अनि सागपात बेचेर पाकेटको दूध खुवाएपछि कुपोषण हुने नै भयो!”
घरकै खाना स्वस्थकर
बिरामी भनेको छोरालाई कुपोषण भएको भन्दा जति नै राधिका आश्चर्यमा परिन्, घरमा भए जस्तै खाना खुवाएर छोरा हृष्टपुष्ट बनेकोमा। छोरासँगै धनगढी पोषण पुनर्स्थापना केन्द्रमा तीन साता बस्न पुगेकी राधिका भन्छिन्, “घरमा भएकै खाना पो खुवाउने रहेछन्।”
३६ दिन महेन्द्रनगर पोषण पुनर्स्थापना केन्द्रमा छोरालाई लिएर बसेकी जसु सार्की छोरा हृष्टपुष्ट भएकोमा खुशी देखिइन्। नौ महीनाको उनको छोरा कृष्ण ३६ दिन पहिले पोषण पुनर्स्थापना केन्द्र आउँदा साढे चार किलोका थिए भने अहिले सात किलोका भएका छन्।
जसु भन्छिन्, “त्यही लिटो, दालभात र तरकारीले ठीक पार्यो।” डडेल्धुराकी तिलसरीकी ३ केजी ८०० ग्रामकी छोरी पार्वती पनि महेन्द्रनगर पोषण पुनर्स्थापना केन्द्रमा ५४ दिन बसेपछि ७ केजी ८०० ग्राम भएकी छिन्। पोषण केन्द्रका सह–प्रबन्धक रमेश चन्दलाई समेत लिखुरी पार्वतीलाई बचाउन सकिएला भन्ने लागेको थिएन।
पोषण केन्द्रमा कुपोषित १४ वर्षभन्दा कम उमेरका बालबालिकासँगै आमालाई राखेर घरमै पाइने खानेकुरा दिनमा चार पटक खुवाउँदै स्तनपानबारे सिकाइन्छ।

कृष्ण सार्की, कुपोषण भएर पोषण केन्द्रमा भर्ना हुँदा र स्वस्थ भएर फर्किंदा (दायाँ)। तस्वीर: बच्चु विक
त्यहाँ बस्दा आमाहरूले दिनमा ५–६ पटक स्तनपान गराउन र घरमा कसरी पौष्टिक आहार बनाउने भन्ने जानकारी पाउँछन्। दूध, माछा, मासु, सागपात, गेडागुडीको झोल पौष्टिक हुने पनि आमाहरूले त्यहाँ थाहा पाउँछन्।
धनगढी पोषण केन्द्रकी सह–प्रबन्धक नन्दा ओझा भन्छिन्, “यहाँबाट फर्केकामा फेरि कुपोषण भएको पाइएको छैन।” भैंसीको दूध बिक्री गरेर चाउचाउ र कुरकुरे किनेकोमा पछुताउँदै तिलसरी भन्छिन्, “थाहा भएको भए किन त्यस्तो गर्थे र?”
स्वास्थ्यकर्मीहरू भने कुपोषण सम्बन्धी सचेतना सबैभन्दा आवश्यक ठान्छन्। सरकारले पनि अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा तीनवर्षे (सन् २०१४–१७) कुपोषण न्यूनीकरण योजना ल्याएको छ।
यो योजनाका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरूले ६० प्रतिशत अर्थात् रु.१५ करोड सहयोग गरेका छन्। तर नेपाल सरकारले त्यो योजनाका लागि ४० प्रतिशत अर्थात् रु.१० करोड व्यहोर्नुपर्नेमा अहिलेसम्म रु.१ करोड २० लाख मात्रै छुट्याएको छ।
२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
