ब्लगबिहीबार, आषाढ ६, २०७०

इतिहासमा रामराजा

दीपक अर्याल

२०४२ सालको बमकाण्ड र त्यसले गरेको जनधनको क्षतिलाई लिएर रामराजाप्रसाद सिंह (१९९३–२०६९) को आलोचना गरिन्छ।

उनले पंचायती व्यवस्था अन्त्यका लागि नेपाली कांग्रेसले आयोजना गरेको ‘सत्याग्रह’ बिथोल्न नियोजित रूपमै त्यो काण्ड गरेको कांग्रेसको भनाइ रहिआएको छ।

बम काण्डपछि २०६४ मा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति पदको उम्मेदवार बनेर उनी चर्चामा आए। २०२८ सालको राष्ट्रिय पंचायत चुनावमा पंचायती व्यवस्थालाई ललकार्दै स्नातक क्षेत्रबाट विजयी हुँदा त उनी राष्ट्रिय हिरोकै रूपमा चर्चित थिए।

त्यसबेला सिंहलाई नेपाली राष्ट्रियता सबल बनाउन सघाउने एक पात्रका रूपमा प्रशंसा गरिएको थियो। २०६३ को संविधानसभा निर्वाचनपछि राष्ट्रपति पदका लागि डा. रामवरण यादवसँग चुनाव लडेका सिंह राजनीतिमा हिंसालाई माध्यम बनाएकोमा निकै आलोचित थिए।

यसैले हुन सक्छ, पंचायतले राष्ट्रिय एकताको प्रतीक बनाएको राजतन्त्रको ठाउँ लिने राष्ट्रपति पदमा उनी २०२८ तिरको जस्तो प्रतीक बन्न सकेनन् र चुनाव हारे।

उहिलेको कुरा भने अर्कै थियो। मदन पुरस्कार पुस्तकालयमा रहेको ‘तरुण’ मासिकले २०२८ को पंचायतमा सिंहको विजयलाई राष्ट्रियताको सम्वर्द्धनको रूपमा व्याख्या गर्दै मतदाताहरूको पनि प्रशंसा गरेको छ।

त्यो चुनावमा ‘पंचायत व्यवस्थाको अन्त्य र संसदीय व्यवस्थाको स्थापना गर्ने’ नाराका साथ स्नातक निर्वाचन क्षेत्रबाट उठेका सिंह १३५० मतका साथ विजयी भएका थिए।

त्यो विषम परिस्थितिमा सिंहको जितलाई लिएर शैलजा आचार्यद्वारा सम्पादित नेपाली कांग्रेस निकट ‘तरुण’ (सन् १९७१) ले छापेको ‘रामराजाको विजय’ शीर्षकको विश्लेषणात्मक लेखमा भनिएको छ– ‘चुनाव पनि क्रान्तिकारी शस्त्र हुन सक्दोरहेछ भन्ने प्रमाण रामराजाले प्रस्तुत गरेका छन्।’

‘रामराजा सिंहलाई हामी बधाई दिन्छौं’ भन्ने वाक्यबाट शुरू भएको लेखले उनको जितले नेपाली राजनीतिमा के–के फरक पारेको छ भनेर फरक ढङ्गले विश्लेषण गर्न खोजेको छ।

लेखमा ‘रामराजा शुद्ध आफ्नो प्रोग्रामको आधारमा चुनिएकाले उनको घोषणापत्रले जितेको’ उल्लेख गर्दै उनले पाएको भोटलाई ‘राष्ट्रिय भोट’ भनिएको छ।

लेखले ‘उनको भोट राजनीतिक भोट हो र उनको भोट व्यवस्था विरोधको तथा प्रजातन्त्रको भोट हो’ भन्दै अगाडि उल्लेख गरेको छ– ‘स्नातकहरू प्रजातन्त्रका पक्षमा र पंचायतको विपक्षमा रहेको प्रष्ट भएको छ।’

भारतमा अध्ययन सकेर २०२० सालमा नेपाल फर्केका रामराजाप्रसाद सिंह २०२४ सालमा पनि स्नातक क्षेत्रबाट उम्मेदवार बनेका थिए, तर पंचायतले उनलाई पक्राउ गर्‍यो।

त्यसपछि वकालतको आवरणमा पंचायत विरोधी राजनीति अगाडि बढाएका उनी ‘पंचायतभित्रै पसेर बहुदलीय व्यवस्थाको पुनःस्थापना’ गर्ने प्रस्तावका साथ २०२८ मा विजयी बनेका थिए। उनलाई शुरूमा शपथ ग्रहण नै गराइएन।

केही समयपछि शपथ गराएर राष्ट्रिय पंचायतबाटै हटाइयो। यसरी अन्य क्षेत्रमा लगभग अपरिचित तराईका एक व्यक्तिलाई प्रजातन्त्रप्रतिको प्रतिबद्धता तथा राजनीतिक कार्यक्रमका आधारमा नेपालभरका स्नातकहरूले भोट दिएकोमा ‘तरुण’ मासिक निकै प्रफुल्लित भएको बुझिन्छ।

पत्रिका लेख्छ– ‘हामी काठमाडौंका बुद्धिजीवीलाई पनि स्याबास भन्छौं जसले आफ्नो भोटद्वारा तराईको एउटा व्यक्तिलाई जिताएर राष्ट्रिय एकतालाई छिन्नभिन्न पार्ने तानाशाहीको प्रयत्नलाई हाँक दिएको छ।

स्याबास बहादुर तराईवासी रामराजा जसले तानाशाहको दुर्गभित्रै उसलाई हाँक दियौ। यस दृष्टिबाट रामराजाको चुनावले नेपालको राष्ट्रिय पक्ष सबल भएको छ। उनको भोट राष्ट्रियताको भोट हो।’

पत्रिकाले अगाडि लेखेको छ– ‘वर्तमान व्यवस्थाले नेवार–पर्वते, मधिशे–पहाडी, लिम्बू–अलिम्बू, तागाधारी–मतवाली आदि–आदि जातीय भावनागत वैमनस्यको सूत्रपात गराएको छ।’

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...