अन्तर्वार्ता/विचारशुक्रबार, जेठ २६, २०६९

‘यो सरकारलाई जनआन्दोलनबाट अपदस्त गर्छौं’-अर्जुननरसिंह केसी

हिमालखबर

ठूला साना २२ राजनीतिक दलको यो मोर्चाबन्दी केका लागि ?
माओवादीले कहिले राष्ट्रिय स्वाधीनताको नाममा त कहिले नागरिक सर्वाेच्चताको नाममा अराजक परिस्थित सृजना गरी सत्ता कब्जाको प्रयास गर्दै आएको छ । संविधानसभाको पहिलो बैठकबाट ६ महीनाभित्र लडाकू र हतियार बुझाउने तथा दुई वर्षभित्र संविधान बनाउने प्रतिबद्धता गरेकोमा लडाकू समायोजन गर्न चार वर्ष लगायो । स–साना कुरामा विवाद झिकेर संविधान निर्माणलाई पनि रोकिदियो । संविधानले नेपाललाई संघीय लोकतान्त्रिक मुलुक भनिसकेको अवस्थामा ‘जनता’को भन्ने शब्द राख्नुपर्छ भन्दै महीनौं निरर्थक बहसमा अल्झायो । यी सबै घटनाको परिणाम, १४ जेठमा संविधानसभा विघटन हुनपुग्यो ।
माओवादी सरकारले कसैसँग सरसल्लाह नगरी संविधानसभा भंग गरेर अपत्यासित रूपमा निर्वाचन लादेको छ । अन्तरिम संविधान संशोधन नगरी निर्वाचन हुन नसक्ने र अन्तरिम संविधानले अर्काे संविधानसभाको निर्वाचनको परिकल्पना नै नगरेको अवस्थामा निर्वाचन घोषणा गरेको छ । कथित निर्वाचनको नाटक माओवादीको सत्ता कब्जाकै लागि गरिएको भनेर बुझ्न गाह्रो छैन । त्यसको विरुद्ध सबै लाग्नु पर्छ । लोकतन्त्र, शान्तिपूर्ण राजनीति र नेपाली समाजको सम्पदा मानिएको जातीय सद्भाव जोगाउन एक भएर आन्दोलन गर्नु अत्यावश्यक भएको छ ।

विरोध कार्यक्रम कस्ता हुन्छन् ?
लोकतन्त्र र शान्तिप्रेमी जनता सडकमा उत्रिने छन् । शान्तिपूर्ण विरोध हुन्छ । खुला मञ्चको विरोध सभा पछि २२ वटै दलको बैठक बसेर आन्दोलनका अरू कार्यक्रम सार्वजनिक गर्छौं ।

यो आन्दोलनमा कति दल सहभागी छन् ?
अहिले २२ दल छौं । कांग्रेसको अगुवाईमा शुरू भएको यो लडाईं छिट्टै टुंगोमा पुग्नेछ ।

संविधान दिन नसकेका दलहरूले विरोध कार्यक्रम थाल्दा जनताको साथ पाउलान् त ?

नेपाली जनताले लोकतन्त्रको पक्षमा विगतमा भएका संघर्षहरूमा पनि बलिदानी साथ दिएका छन् । अहिले माओवादीले सर्वसत्तावाद लाद्न थालेकोले जनता फेरि लोकतन्त्रको पक्षमा उभिन्छन् भन्ने हामीलाई पूरा विश्वास छ । जहाँसम्म संविधानसभाले संविधान निर्माण गर्न नसकेको कुरा छ, चार वर्षमा धेरै काम भएको छ। संविधान जारी नहुनुको पछाडि मुख्य भूमिका माओवादीकै छ । सहमति कार्यान्वयन नगर्ने र नयाँ शर्त थपेर जटिलता सृजना गर्ने माओवादीको काम जनताले बुझेका छन् ।

कांग्रेसले विदेशी शक्तिको कारण संविधानसभा विघटन भएको पनि भनेको छ । कुन शक्ति हो, त्यो ?
कांग्रेसले विभिन्न आईएनजीओहरूले जातीय सद्भाव विथोल्न भूमिका खेलेका छन् भन्ने गरेको हो । तर अहिले विदेशी शक्ति भन्दा पनि माओवादीले सत्ता कब्जाको रणनीति अनुरुप संविधानसभा विघटन गरेको हो ।

विगतमा माओवादीसँग सहकार्य गरेर अगाडि बढेको कांग्रेसको चेत अहिले खुलेको हो ?
१२ बुँदे सहमतिपछि लोकतन्त्र र शान्ति स्थापना गर्न कांग्रेसले माओवादीको एजेण्डामा सहमति गर्दै हिंडेको पक्का हो । कांग्रेसले माओवादीको वास्तविक नियत थाहा पाएन । अहिले नराम्रो ठक्कर खाएको छ ।

कांग्रेसको माग संविधानसभा पुनःस्थापना कि सहमतिको सरकार ?

सहमतिको सरकार गठन गरेर राजनीतिक समस्या हल गरिनुपर्छ भन्ने हाम्रो मुख्य माग हो।

यो सरकारलाई कहिलेसम्ममा हटाउनुहुन्छ ?
वर्तमान सरकारले सहमतिका आधारमा निकास देओस् भन्ने हाम्रो चाहना हो । त्यस्तो भएन भने जनआन्दोलनबाट सरकारलाई अपदस्त गराउँछौं ।

कांग्रेसलाई संघीयता विरोधी भन्ने आरोप पनि लागेको छ नि ?

जातीय राज्य दिएर सामाजिक सद्भाव भत्काउनु हुन्न भन्नेमा कांग्रेस स्पष्ट छ । माओवादीले जातीय राज्य स्थापना गरी मुलुकमा द्वन्द्वको आगो सल्काउन चाहेकोमा कांग्रेसले जोगाएको छ । त्यही भएर माओवादीले कांग्रेस माथि पूर्वाग्रह राखेर आरोप थोपरेको मात्र हो ।

अहिलेको अवस्थामा राजनीतिक सहमतिबाट कसरी सरकार बन्न सक्छ ?
हामीले पछिल्लो पटक माओवादी र अरू ठूला राजनीतिक पार्टीबीच भएको सहमति पालना होस् भन्ने चाहेका छौं । माओवादीले सबै शक्तिसँग छलफल गरेर सहमतिको विकल्प खोज्नुपर्छ । पहिले यो सरकारले राजीनामा दिनुपर्छ अनि राजनीतिक निकासका संवैधानिक विकल्पहरू खोज्न सकिन्छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?
विगतका आन्दोलनहरूमा नेपाली प्रेसको उल्लेख्य भूमिका रह्यो । अहिले फेरि मिडियाले नेपालीबीच जातीय एकता कायम राख्दै लोकतन्त्रका पक्षमा मिडियाले आफ्नो ठाउँमा सशक्त भूमिका खेल्नुपर्ने भएको छ ।

प्रस्तुति: गोविन्द लुईंटेल (तस्बीर पनि)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>