टिप्पणीआइतबार, आषाढ ९, २०७०
‘जब काली प्रलय बनिन्…’
१ असार दिउँसो दुई बजेदेखि हल्का शुरू भएको पानी २ असार साँझदेखि दर्किन थाल्यो । त्यो राति ९ बजे पुलघाट नजिकैको सुकुम्बासी बस्ती छेउमा ड्युटी बसेका प्रहरीले महाकाली नदी बस्तीमा पस्न सक्ने खतरा बढेको खबर गरेपछि तुरुन्तै थप मद्दत पठाएँ ।
मानिसहरूलाई बस्तीबाट सार्न खोज्दा कहिल्यै बाढी नआएको भन्दै डेग चलेनन् । राति ११ बजे बाढी पस्दा मुश्किलले उनीहरूलाई जोगायौं । १२ बजेपछि बजारका घरहरू पनि बग्न थाले । हामी उद्धारमै केन्द्रित भयौं । दुई बजेपछि बाढी पुलघाटको झोलुङ्गे पुलमाथिबाट बग्न थाल्यो ।
पानी पुल नाघेर आएपछि बल्लतल्ल भागेर जोगियौं । त्यसपछि माथिल्लो बजारका घरहरू बग्न थाले । हामीले माइकिङ गरेर सुरक्षित हुन आग्रह गर्यौं, सकेकालाई आफैं सुरक्षित स्थलमा पुर्यायौं । मान्छे जोगाउन ठूलो कुरा भयो, सामानतिर त होसै गएन ।
हेर्दाहेर्दै हाम्रै कार्यालयको जवान व्यारेक, घोडाको तवेला र ट्वाइलेटसहित कम्पाउण्ड महाकालीमा पस्यो । सामान मात्र जोगाएर फेरि उद्धारमा लाग्यौं । सामान भोलिपल्ट दिउँसो मात्र क्याम्पसमा सार्न सक्यौं ।
जिल्ला अस्पताल, जिल्ला भूसंरक्षण कार्यालय लगायत १७ सरकारी कार्यालय, बजारका ७७ घर र सुकुम्बासीका १८ टहरा रहेको ठाउँ बगर भएको छ । सदरमुकाम रहेको खलंगा गाविसका २,४,५ र ६ वडामध्ये २ र ४ को धेरै भाग बगर बनेको छ ।
स्थानीयवासीको होस उडेको छ, कतिले यहाँनेर मेरो घर थियो भन्ने पनि बिर्सेका छन् । यहाँका मान्छेहरू महाकालीको यो रूप कहिल्यै नदेखेको बताउँछन् । अहिले आधा टुँडिखेल नदीमा परेको छ भने दूरसंचारको टावर ढल्ने अवस्थामा छ ।
नदीले माटो काटिरहेकाले १२ कार्यालय र ११७ वटा घर अझै जोखिममा छन् । खलंगामा महाप्रलय नै भयो । पारिपट्टि भारतको धार्चुलालाई भने निकै अग्लो पक्की तटबन्धले सुरक्षित बनाएको छ ।
(दार्चुला प्रहरी प्रमुख डीएसपी कडायतसँगको कुराकानीमा आधारित)
९ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट